पार्टी झन्डा फर्फराउन थालेपछि भृकुटीमण्डप कांग्रेसमय
कांग्रेसको चुनाव चिन्ह रुख र चार तारा अंकित झन्डाहरू प्रशस्त तयार पारिएका छन्। ती झन्डा राख्न थुप्रै नेताकार्यकर्ता खटिएका छन्।काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशन सुरु हुन दुई दिन बाँकी रहँदा स्टेज निर्माणदेखि विभिन्न तयारी तीव्र रूपमा भइरहेको छ।
यसैबीच आज (मंगलबार) उद्घाटन स्थलवरपर झन्डा राख्ने कार्य भइरहेको छ। भृकुटीमण्डप मूल प्रवेशद्वार, त्यहाँ रहेका रुख, बिजुलीका पोल, पर्खालहरूमा झन्डा सजाइएसँगै त्यहाँको वातावरण कांग्रेसमय भएको छ। कांग्रेसको चुनाव चिन्ह रुख र चार तारा अंकित झन्डाहरू प्रशस्त तयार पारिएका छन्। ती झन्डा राख्न थुप्रै नेताकार्यकर्ता खटिएका छन्।
भृकुटीमण्डपबाट झन्डा राख्ने कार्य सुरु भएको र अन्य क्षेत्रहरुमा पनि झन्डा राखिने कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन केही दिनअगावै काठमाडौं आएका प्रतिनिधिहरु पनि भृकुटीमण्डपमा आउनेजाने भइरहँदा, उनीहरूबीच कांग्रेस र नेतृत्वबारे चर्चा चलिरहँदा महाधिवेशनको चहलपहल र रौनक सुरु भइसकेको आभास हुन्छ।