Kathmandu Press

‘ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे’

‘स–साना कणलाई चिउराजस्तै चपाउँदै सक्कल र अब्बल सुन भए वा नभएको पत्तो लगाउन नेपाली सुन व्यापारी सिपालु थिए । चपाएको सुन नक्कली भन्दै उनीहरूले कुनै भाँडामा थुक्ने गर्थे रे । मैले पनि यो कुरा सुनेको मात्र हो है, यसमा कुनै प्रमाण–तथ्य छैन ।
‘ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे’

काठमाडौं, मंसिर १८ : ‘ए छं नेवा भ्या सलाः’ राजा त्रिभुवनले नेपालभाषामा राजभाइलाई प्रश्न गरे– ‘तिमीलाई नेपालभाषा बोल्न आउँछ ? 

‘राजा त्रिभुवनले नेपालभाषा बोलेको सुन्दा म छक्क परेँ,’ ८४ वर्षीय राजभाइ श्रेष्ठ (तीर्थबहादुर श्रेष्ठ) आश्चर्यभावमा भन्छन्, ‘नेपालभाषा हामीले भन्दा उहाँले राम्रो बोल्नुहुन्थ्यो ।’

२०१० सालमा तिब्बतीहरू डेलिगेसनसहित नेपाल आएका थिए, उनीहरूले वार्षिक बुझाउनुपर्ने रकम लिएर । १९११–१२ सालमा भएको नेपाल–तिब्बत युद्धपछि तिब्बतले वार्षिक रूपमा केही रकम नेपाललाई तिर्नुहुन्थ्यो । त्यतिबेला राजभाइका हजुरबुवा सरकारी कर्मचारी (सुब्बा) थिए । 

Hardik ivf

‘हजुरबाले मलाई सोध्नुभयो, तैँले तिब्बती भाषा बोल्छस् भनेर ?’ राजभाइ भन्छन्, ‘सक्छु भनेर म राजदरबार गएँ । त्यहाँ पुगेपछि पो डर लाग्यो । मलाई राम्रोसँग न दरबारिया भाषा आउने, न त खसभाषा । म अकमकिएको चाल पाएर राजा त्रिभुवन मसँग नेपालभाषामै बोल्नुभयो ।’ 

ल्हासामा व्यापार गर्ने सिलसिलामा राजभाइले तिब्बती भाषा सिकेका थिए । सोही दक्षता पछि राज्यलाई काम लाग्यो । कुनै समयका ल्हासाका नामी व्यापारी हुन्, राजभाइ । राजभाइसँग ल्हासा व्यापारसम्बन्धी थुप्रै सम्झना र किस्सा छन् । 

‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ 

नेपालमा दुई उस्तै–उस्तै उखान छन्– ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ र ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ । ल्हासावाला उखान भने बढीजसो काठमाडौं र काठमाडौं वरपर प्रचलित थियो र छ । साँच्चिकै ल्हासामा सुन थियो त ? 

‘थियो, ल्हासामा सुन थियो,’ राजभाइ भन्छन्, ‘ल्हासाका बगरमा सुनका साना–साना टुक्रा पाइन्थ्यो ।’

राजभाइका अनुसार, पहिले ल्हासाका बगरमा भेडा चराउन जाने गोठालाले सुनका टुक्रा टिपेर ल्याउँथे । दिनभर सुनका कण जम्मा गरेर साँझ गोठालाहरू नेपाली व्यापारीकहाँ जान्थे, सुन हो कि होइन भनी जाँच गर्न । त्यतिबेला पाटनका नेवारले ल्हासामा सुनसम्बन्धी व्यापार पनि गर्थे । ‘स–साना कणलाई चिउराजस्तै चपाउँदै सक्कल र अब्बल सुन भए वा नभएको पत्तो लगाउन नेपाली सुन व्यापारी सिपालु थिए । चपाएको सुन नक्कली भन्दै उनीहरूले कुनै भाँडामा थुक्ने गर्थे रे । मैले पनि यो कुरा सुनेको मात्र हो है, यसमा कुनै प्रमाण–तथ्य छैन,’ राजभाइ आफूलाई बचाउ गर्दै र हाँस्दै भन्छन्, ‘त्यतिबेला नेपाली व्यापारीको बठ्याइँको चर्चा ल्हासाभर हुन्थ्यो ।’ 

राजभाइको पुख्र्यौली थलो साँखु हो । कुनै समय साँखुस्थित आफूहरूको घर जिन्सी सामानको अभिलेख राख्ने कार्यालय भएको उनी बताउँछन् । त्यतिबेला तिब्बत जान–आउन साँखुको बाटो पनि प्रयोग गरिन्थ्यो ।

नेवार व्यापारी र ल्हासा

यहाँनेर अलिकति स्पष्ट पारौँ– काठमाडौंका नेवार समुदाय र ल्हासाको सम्बन्ध पुरानो हो । लोकप्रिय खण्डकाव्य ‘मुना–मदन’मा महाकवि लक्ष्मीप्रसाद देवकोटा लेख्छन्– 

आखिर ठूलो सुनको छाना साँझमा सुहायो ।
मैदानतिर पोतालामनि ल्हासा नै मुस्कायो ।।

नेपालभाषाको गीतिकाव्य छ, ‘जि वया ला लाछि मदुनि’ अर्थात् ‘म आएको त एक महिना भएको छैन ।’

देवकोटाको ‘मुनामदन’ नेपालभाषाको गीतिकाव्य ‘जि वया ला लछि मदुनि’बाट प्रभावित हो भन्नेहरू पनि धेरै छन्, यो बेग्लै बहसको विषय हो । यहाँ हामी ल्हासाको व्यापारसम्बन्धी चर्चा गर्दै छौँ । 

‘जि वया ला लाछि मदुनि’मा तत्कालीन समयमा ल्हासा व्यापार गर्ने नेवार समुदायको कथा छ । संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘जि वया ला लछि मदुनी’ले समकालीन समयको चित्रण गरेको छ । यसमा त्यस समयको नेपाल र तिब्बतसँगको व्यापारिक सम्बन्धलाई पनि नियाल्न सकिन्छ । त्यस समय कोही भारत त कोही तिब्बतमा व्यापारका लागि जाने गर्थे ।’

ल्हासा व्यापार गर्नेमा आफ्नो परिवारमध्ये आफू १४औँ पुस्ता भएको राजभाइ बताउँछन् । अहिले उनी परिवारसहित ठमेलस्थित घरमा बस्छन् । गत सोमबार बिहान हामीले उनलाई ठमेलस्थित उनकै निवासमा भेटेका थियौँ । स्वास्थ्यका दृष्टिले तन्दुरुस्त देखिने उनीसँग हामीले ल्हासा व्यापारका बारेमा भलाकुसारी ग¥यौँ ।

अन्नसँग नुन, सुन र ऊन 

राजभाइले ल्हासामा व्यापार गर्ने समय तिब्बतको पैसा नेपालमा चल्दैनथ्यो । त्यतिबेला नेपालबाट ल्हासामा अन्न–अनाज निर्यात हुन्थ्यो । त्यसको सट्टा नेपाली व्यापारीले ल्हासाबाट नुन, सुन र ऊन लिएर आउँथे । 

यसरी नेपाल भित्रिने नुनको व्यापार राजभाइले पनि गरे । ‘ल्हासाबाट ल्याएको नुन पोखरासम्म पुग्थे,’ राजभाइ भन्छन्, ‘तराई बेल्टमा भने भारतीय नुन नै सहज रूपमा आपूर्ति हुन्थ्यो । पहाडी गाउँगाउँमा मानिसले अन्नसँग नुन साट्थे । नुन किन्नका लागि पहाडबाट समेत मानिसहरू काठमाडौं आउँथे । भरियाले नुन गाउँगाउँ पु¥याउने गर्थे । ल्हासाबाट जडीबुटी, कुड्की, जटामसी पनि नेपाल भित्रिन्थ्यो ।’

राजभाइका अनुसार, त्यतिबेला तिब्बत आफैँमा सम्पन्न थियो । जडीबुटी अपार थिए । सुन, मुगालगायत धातु र ऊनको भण्डार हो, तिब्बत । त्यहाँ मात्र अन्नअनाज थिएन । अनाजको नाममा ठूलो खालको गहँु मात्र उब्जनी हुन्थ्यो ।

अन्नअनाजको कमीकै कारण नेपालबाट चामल, पीठो, मकै, गहुँ, लप्सी, मिश्री, लसुन, अदुवा, चिनी, जिरा, मरिच आदि ल्हासा पु¥याइन्थ्यो । 

उनका अनुसार, नेपालदेखि ल्हासा सामान पु¥याउने र त्यहाँदेखि सामान ल्याउने काम भरियाले गर्थे । नेपाली व्यापारी वा भरिया ल्हासा, कुटीजस्ता व्यापारिक स्थानमा बस्नुपर्थ्याे । त्यहाँ बस्दा उनीहरूले तिब्बती सिक्काकै व्यवस्था गर्थे, जुन नेपालमा चल्दैनथ्यो । बाँकी रहेको सिक्काबाट उनीहरूले ती ठाउँका तिब्बती व्यापारीसँग गरगहना किन्थे । त्यतिबेला तिब्बतकै बगाम, हगामका शेर्पाहरूले ल्हासा र कुटी क्षेत्रमा भेडाहरू बेच्न ल्याउने गर्थे । एक बथानमा दुईदेखि चार सयसम्म भेडा हुन्थे । उनीहरूलाई पनि भेडा बेच्ने क्रममा केही तिब्बती पैसा आवश्यक हुन्थ्यो । ‘ती भेडा व्यापारीसँग पैसा हुँदैनथ्यो, त्यसैले श्रीमतीका गरगहना लिएर आउँथे,’ राजभाइ भन्छन्, ‘ती गरगहना धितो राखेर उनीहरुले नेपाली व्यापारीसँग तिब्बती पैसा लिन्थे र पछि व्यापार भएपछि पैसा दिएर गहना फिर्ता पनि गर्थे ।’

यो एक खालको नेपाली र तिब्बती व्यापारीबीचको मित्रता, भाइचारा वा विश्वसनीयता पनि हो । यसले तत्कालीन अवस्थामा नेपाली र तिब्बती नागरिकबीचको सम्बन्ध पनि देखाउँछ । 

भरियाको तलब ६ रुपैयाँ

काठमाडौंदेखि कुटी, ल्हासा जाने थुप्रै बाटा थिए । काठमाडौंदेखि ल्हासासम्म पुग्न नेपाली भरियालाई डेढदेखि दुई महिनासम्म लाग्थ्यो । 

राजभाइका अनुसार, भरिया वा व्यापारीहरू विशेषतः काठमाडौं, साँखु, जहरसिंहपौवा, नगरकोट, बाह्रबिसे हुँदै खासा पुग्थे । पाटन, काठमाडौंका लागि साँखुको रुट सहज थियो । भक्तपुरबाट जानेहरु नगरकोट हुँदै जान सक्थे । ‘काठमाडौंबाट कुटी पुग्न १२ दिनजति लाग्थ्यो । कुटीबाट खासा पुग्न दुई दिन, त्यसपछि खासादेखि ल्हासा पुग्न एक महिना लाग्थ्यो,’ राजभाइ भन्छन्, ‘यसो त भरियामा पनि भर पर्थ्याे ।’ 

कति व्यापारीले घोडाको पनि प्रयोग गर्थे । घोडचढी र भरियाका साथ जाँदा ठाउँठाउँ बास बस्नुपर्थ्याे । ‘बाटो हेर्दै कहाली लाग्ने । गल्तीले खुट्टा चिप्लियो भने सिधै खोँचमा,’ राजभाइ ती पुराना दिन सम्झन्छन्, ‘कुनै स्थानबाट उभिएर हेर्दा परसम्म साँघुरो बाटोमा व्यापारी तथा भरिया आउने–जाने गरेको देखिन्थ्यो ।’ 

तिब्बतमा विशेषतः वैशाखदेखि कात्तिकसम्म व्यापार हुने गथ्र्यो । हिउँदको समय भने चिसोका कारण हिँडडुल गर्न असहज हुुन्थ्यो ।

राजभाइ पाँच वर्षको उमेर (वि.सं. २००१) मा पहिलोपटक ल्हासा पुगेका थिए । आफूलाई भरियाले डोकोमा बोकेको उनी सम्झन्छन् । त्यतिबेला उनका पिता शेषनारायणले उनलाई ल्हासाको बजार र व्यापार देखाउन लगेका थिए । 

राजभाइका अनुसार, २००१ सालतिर एक भरियाले काठमाडौंदेखि ल्हासासम्म आफूले सकेको भारी बोकेर पुगेबापत ५ देखि ६ रुपैयाँ पाउँथे । यो रकम बिस्तारै बढ्दै गयो । 

‘भरियाहरू दुई–तीन रुपैयाँको पीठोको भरमा ल्हासासम्म पुग्थे । बास बसेको ठाउँमा आगो बाल्यो, तातोपानीमा पिठो मिसायो अनि ढिँडो बनाएर खायो,’ राजभाइ भन्छन्, ‘भरियाले ६ रुपैयाँमा २–३ रुपैयाँजति बाटोमा खर्च गर्थे । २०२०–२२ सालतिर भनेर एक भरियाले एकपटकमा २० रुपैयाँसम्म लिन थालेका थिए ।’

राजभाइको परिवारले कुटीमा सामान राख्ने गथ्र्यो । त्यहाँ उनीहरूको अड्डालाई डिट्ठा, बहिदार, मुखिया तीनजना सिपाही र हवलदारले सुरक्षा दिने गरेको राजभाइ बताउँछन् । ‘सुरक्षा गरेबापत उनीहरूलाई मासिक ८–९ रुपैयाँ तलब थियो,’ राजभाइ भन्छन्, ‘सुरक्षा दिनेको तलब २००१ सालमा नौ रुपैयाँ थियो, २०१५ सालमा आउँदा एक सय ७५ रुपैयाँ पुग्यो ।’ 

व्यापारी भएका कारण उनका पिता शेषनारायणले विभिन्न स्थानमा अड्डा स्थापना गरेका थिए । 

हङकङ र जापानबाट राजा महेन्द्रलाई सामान

राजासँग कुरा भएपछि उनले अनुवादकको काम पाए । यही सम्बन्धका कारण उनी २०११ वैशाख ११ गतेदेखि परराष्ट्र मन्त्रालयमा जागिरे भए, राजाको हुकुमले । ‘बर्खाताका तिब्बतमा बसेर व्यापार गर्थें,’ उनी भन्छन्, ‘हिउँदमा परराष्ट्र मन्त्रालयमा तिब्बती व्यापार तथा कागजातसम्बन्धी काम गर्नुपथ्र्यो । विशेषतः तिब्बती प्रतिनिधिसँग तिब्बती भाषामा बोलेर त्यसलाई नेपाली वा नेपालभाषामा उल्था गरी राजालाई सुनाउनुपर्थ्याे ।’ 

२०११ फागुन ३० गते राजा त्रिभुवनको मृत्युको खबरले उनलाई विचलित बनायो । त्यसपछि पनि मन्त्रालयको कामका कारण राजा (महेन्द्र) र दरबारसँगको उनको सम्बन्ध सुमधुर चलिरहेकै थियो । 

२०२२ सालतिर उनी परराष्ट्र मन्त्रालयको जागिर छाडेर हङकङ र जापानतिर व्यापारमा लागे । ल्हासाको व्यापार भने उनका भाइहरूले सम्हाले । मन्त्रालयको जागिर छाडेपछि पनि दरबारसँग उनको सम्बन्ध राम्रै थियो । राजारानीको आग्रहमा आफूले विदेशबाट लत्ताकपडा, तेल, टेलिभिजन आदि सामान ल्याइदिने गरेको उनी बताउँछन् । 

‘५०–६० रुपैयाँको सामान भए उहाँहरु (राजारानी)ले पैसा दिनुहुन्नथ्यो । मैले पनि मागिहाल्दिनँथेँ,’ राजभाइ भन्छन्, ‘त्योभन्दा बढी मूल्यको सामान परे उहाँहरुले मूल्य सोधेर पैसा दिनुहुन्थ्यो ।’ 

राजभाइले हङकङमा जुत्ताको र जापानमा मोटरगाडीको व्यापार । उनले सुवारु नामक जापानी कम्पनीको गाडी लामो समयसम्म नेपालमा भित्र्याए । पहिलो लटमा उनले ६ वटा मोटर ल्याएका थिए । ‘त्यसताका मोटरसाइकलभन्दा सस्तो थियो मोटरगाडी,’ उनी भन्छन्, ‘त्यतिबेला एउटा मोटरगाडी मैले ३० हजारमा नेपालमा बेचेको थिएँ । ’ 

एउटा गाडीको खरिद मूल्य भने नौ सय पन्ध्र तिरेका थिए उनले । प्रति डलर सात रुपैयाँ पर्दा करिब ६ हजार चार सयमा गाडी उनले किनेर ल्याउँथे । भन्सार तथा यातायात खर्च जोडेर एउटा गाडीको दाम ३० हजारसम्म उनले तोकेका थिए । 

बिस्तारै नेपालमा गाडीको माग बढ्न थालेपछि उनले एकपटकमा ६२ वटासम्म गाडी नेपाल ल्याएका थिए । गाडीसँगै उनले ९० सिसिको एउटा बाइक पनि नेपालमा ल्याएका थिए । जसलाई उनले ४ हजार ५ सय रुपैयाँमा बेचेका थिए ।

राजनीति

२०१५ सालमा दलाई लामा भागेपछि चिनियाँ सरकारको शासन तिब्बतमा सुरु भयो । यद्यपि, उक्त राजनीतिक परिवर्तनले व्यापारमा भने असर नगरेको राजभाइ बताउँछन् । ‘व्यापार अझ राम्रो भयो,’ उनी भन्छन्, ‘चिनियाँले ढायाम भन्ने चाँदीलाई नगदका रूपमा व्यापारका लागि प्रयोग गर्थे । सोही ढायाम नेपालमा ल्याई चाँदीका रूपमा नेपालमा हामीले पनि बेच्यौँ । पछि आएर मात्र नोट चल्न थालेको हो ।’

राजा त्रिभुवनसँगको भेट, हजुरबा सरकारी जागिरे र ल्हासामा पुस्तौँदेखिको व्यापारका कारण ल्हासामा कन्सुलेट जनरल (महावाणिज्यदूत) बन्नका लागि आफू राजनीतिमा पनि लागेको राजभाइ बताउँछन् । कन्सुलेट जनरलको जिम्मेवारी भनेको भोट र नेपालको व्यापार सम्बन्ध व्यवस्थापन गर्ने थियो । ‘नेपाल–ल्हासा व्यापारीबीच समय समयमा हुने सम्स्याको सम्बोधन गरी सम्बन्ध सुधार गर्ने काम कन्सुलेट जनरलको थियो,’ राजभाइ भन्छन्, ‘सोही कारण व्यापारसँगै आफ्नो राजनीतिक सक्रियता बढाउनुपर्थ्याे ।’ 
पछि उनले स्थानीय स्तरमा राजनीति गर्न थाले । 

उनी साँखुबाट प्रधानपञ्च र त्यसपछि जिल्लापञ्च भए । ‘२०३९ सालमा राष्ट्रपञ्चायत सदस्यमा उठेँ तर, हारेँ । त्यसपछि मेरो ल्हासामा कन्सुलेट जनरल बन्ने सपना पनि हा¥यो । चुनाव जितेको भए, राजासँग रहेको सुमधुर सम्बन्धका कारण म ल्हासामा कन्सुलेट जनरल बन्न सक्थेँ ।’ 
 
भाकोरको सम्झना

ल्हासामा भाकोर भन्ने ठाउँ छ । भाकोरलाई राजभाइ अझै पनि सम्झन्छन् । भाको  र काठमाडौंको बौद्धजस्तै थियो,’ उनी भन्छन्, ‘जहाँ नेपालमा पूजा गरिने सबै देवताका मूर्ति थिए ।’ 

राजभाइलाई भाकोर काठमाडौंजस्तै आत्मीय लाग्थ्यो । पाँच वर्षको उमेरदेखि तिब्बत बसेका राजभाइ स्थानीय तिब्बती भाषा राम्रोसँग बोल्थे । भाषाका कारण पनि राजभाइ केटाकेटीमा भाकोर आनन्दले घुम्थे । 

उनलाई ती ठाउँका स्थानीयले नामी व्यापारीका छोरा भनेर चिन्थे । त्यसैले उनलाई कुनै तिब्बतीले घरमा लगेर ठट्टा गर्थे– ल अब तिमीले मेरो छोरीसँग बिहे गर । 

‘म भागेर दौडँन्थेँ,’ राजभाइ भन्छन्, ‘ल्हासामा जताततै गुम्बा र मन्दिर थिए । त्यसमाथि आफ्नै ठाउँमा जस्तै आत्मीय व्यवहार पाएको थिएँ ।’ 

विवाह भने उनले २०३० सालमा काठमाडौंकी रिद्धि प्रधानसँग गरे । रिद्धि उनकी पहिलो प्रेम थिइन्, घरपरिवारसँगको सल्लाहमै रिद्धिसँग उनको मागी विवाह भयो । ‘सन्तान आफ्नो राम्रो, श्रीमती अर्काको भन्थे,’ पुरानो उक्तिको सहारा लिँदै उनले छेउमै रहेकी रिद्धिलाई हेरेर हाँस्दै भने, ‘मलाई त सन्तान अनि श्रीमती दुवै आफ्नै राम्रो लाग्छ ।’ 

के तपाईं फेरि तिब्बत जान चाहनुहुन्छ ? उनलाई हाम्रो अन्तिम प्रश्न थियो ।

जवाफमा उनले भने, ‘अब त बूढो भएँ । जाने रहर छ तर सकिँदैन होला ।’
 

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्