Kathmandu Press

जैन धर्म के हो ?

महावीर जैन धर्मका प्रवर्तक त होइनन् त्यस धर्मका चौबीस प्रवक्तामध्ये अन्तिम प्रवक्ता हुन्। जैन धर्मको प्रवर्तन त ऋषभनाथले गरेका  थिए।
जैन धर्म के हो ?

काठमाडौं, मंसिर ११ : प्राचीन दक्षिण एसियाली क्षेत्रमा प्रचलित धर्म जैन धर्म हो। यस धर्मले संसारलाई जीव र अजीवमा विभक्त गरेर हेर्दछ। यस धर्मले ब्राह्मणवादको विरोध गर्दछ, वेदलाई मान्दैन र ईश्वरको अस्तित्वलाई पनि अस्वीकार गर्दछ।

‘जैन’ शब्द ‘जीन’ बाट बनेको हो जसको अर्थ मान्छेका सम्पूर्ण आवेगहरूलाई शमन गरी आफूलाई आफैँले पूर्णतः वसमा राख्न सक्ने व्यक्तिको रूपमा लिइन्छ। महावीर जैन धर्मका प्रवर्तक त होइनन् त्यस धर्मका चौबीस प्रवक्तामध्ये अन्तिम प्रवक्ता हुन्। जैन धर्मको प्रवर्तन त ऋषभनाथले गरेका  थिए।

जैन धर्मले मूख्यतः नैतिकतालाई जोड दिन्छ। मानव सभ्यताको विकासको क्रममा धार्मिक विचारधारा आध्यात्मिक रूपमा अघि बढेको देखिन्छ। धर्मको क्षेत्रमा पनि पूजा तथा यज्ञ गर्ने एउटा र आत्मसंयम तथा आध्यात्मिक उन्नति गर्ने गरी दुई विचारधाराको विकास भयो। 

Hardik ivf

जैन धर्मले सृष्टिकर्ता ईश्वर हो भन्ने मान्दैन। यस अनुसार जो जन्म-मरणको वन्धनबाट मुक्त हुन सक्छ। ऊ नै ईश्वर हो, त्यो नै ‘जीन’ हो। जीनका अनुयायीलाई नै जेन भनियो। जीनको अर्थ विजेता हो। जीवनमा जस्तो गरिन्छ उस्तै पाइन्छ। कर्मकै कारण जन्म मरणको दुःख भोग्नु पर्छ। मान्छेले आफ्नो कर्मको प्रयासले दुःख हटाउन सक्तछ। कर्मको फलनै भाग्य हो। प्रत्येक जीवमा आनन्दको असिमीत बोध क्षमता छ। जीव अमर छ, चेतन छ र भावयुक्त छ।

अहिंसा सबैभन्दा ठूलो धर्म हो। सबै जीवलाई बाँच्ने चाहना हुन्छ, त्यसैले कसैलाई पनि मार्नु हुँदैन। पृथ्वी, जल, आगो, हावा, वनस्पती सबैमा प्राण छ। तिनीहरूलाई पनि क्षति पुर्‍याउनु अपराध हो। जैन धर्मले अवतारवादलाई पनि स्वीकार गर्दैन। आत्मसुद्धिलाई भने विशेषजोड दिन्छ। आचार विचारमा रहनुलाई प्रमुख बाटोको रूपमा स्वीकार गर्छ। यस धर्ममा जातीभेद मानिदैन। राग, द्वेष, भयसँग विजय प्राप्त गर्ने र आफ्नो इन्द्रियलाई नियन्त्रण राख्न सक्ने नै साँचो, ब्राह्मण हो भन्ने यसको मान्यता छ।

वर्तमानमा जैन धर्म पनि दुई भागमा विभक्त छ- (१) श्वेताम्बर र (२) दिगम्बर। दिगम्बर सम्प्रदायमा मोक्षको लागि नग्नत्व आवश्यक मानिन्छ तर श्वेताम्बर सम्प्रदाय यो मान्दैन। श्वेताम्बर सम्प्रदायले आयामग्रन्थलाई प्रामाणिक मान्छ तर दिगम्बर सम्प्रदाय त्यो मान्दैन। श्वेताम्बरहरूले सेता वस्त्र लगाउँछन् तर दिगम्बर नांगै रहन्छन्, उनीहरू आकाशलाई नै वस्त्र मान्छन्। ईशाको प्रथम शताब्दीका उमास्वातिले तत्वार्थधिगम् सूत्र रचना गरे, जसमा जैन दर्शनलाई व्यवस्थित रूपमा लेखिएको छ। समन्तभद्रले लेखेका आप्त मीमांसा मा दिगम्वर सम्प्रदायको मुख्य विचार समेटिएको छ। 

जैन धर्ममा ‘धर्म’ लाई ‘गति’ र ‘अधर्म’लाई ‘स्थिरता’  मानिन्छ। पानीले माछालाई तैरन आधार दिएझैँ धर्मले पनि सबै किसिमको गतिको लागि आधार प्रदान गर्दछ। त्यसैगरी छहारीले बटुवालाई आराम गर्नको लागि आधार प्रदान गरे जस्तै अधर्मले पनि सम्पूर्ण स्थिरताको लागि आधार प्रदान गर्दछ भन्ने जैन धर्मको मान्यता छ।

जैन दर्शनमा जीव भनेको आत्मालाई मानिन्छ। यस अनुसार जीवले हरेक जन्ममा छुट्टै शरीरमा प्रवेश गर्दछ। शरीरको जन्म मरण भइरहन्छ तर जीव (आत्मा) भने अनन्त छ। यस धर्म अनुसार कुनै पनि कुरा खास अवस्थामा मात्र सत्य हुन्छ, स्वयंमा सत्य हुँदैन, बहुविकल्प खोज्नुपर्छ भन्ने यसको मान्यता छ। जैन दर्शन अणु सिद्धान्त मान्छ, जुन भौतिकवाद नजिक हो, तर, पदार्थमा रहेको गतिलाई वास्ता नगरी धर्मले गति दिन्छ भन्नु भने प्रमाणपरक दृष्टिबाट टाढै अल्मलिएको देखिन्छ।

जैन दर्शन अनुसार लोकलाई कसैले बनाएको होइन, यो आफैँ बनेको हो। यदि कसैद्वारा यो सृष्टि गरेको हो भन्ने हो भने सृष्टिकर्ता सृष्टिपूर्व नै हुनुपथ्र्यो, त्यो बेलामा ऊ कहाँ रहन्थ्यो त ? भन्ने यस दर्शनको तर्क छ।

जैनमतले उपनिषद् तथा साख्यदर्शनसँग साम्यता राख्दछ। यो धर्मले यो संसार भगवानले सृष्टि गरेको भन्ने तर्कलाई नकार्दछ। प्राणीको लागि सृष्टिकर्ता, न्यायकर्ता र पालनकर्ताको रूपमा कुनै छुट्टै ईश्वर छैन भन्ने यस धर्मको मत छ। यसका अनुसार ‘ईश्वर’ भनेकै ‘जीन’ –विजेता) हो जो जन्म मरणको बन्धनबाट मुक्त हुन्छ। जन्म मरण दुःख हो, यसको मुख्य कारण ‘कर्म’ हो, ‘जे गरिन्छ, त्यही पाइन्छ’ यसको मर्म हो। त्यसको लागि जीवनमा राम्रा कामहरू गर्नुपर्छ भन्ने यसको आशय हो।

जैन दर्शन अनुसार हरेक जीवमा आनन्द लिने र ऊर्जा क्षमताको बोध गर्ने असीमित शक्ति हुन्छ। यस अनुसार जीव अमर, चेतन र भावयुक्त हुन्छ। अहिंसालाई परम धर्म मान्ने, संसारका सबै जीव बाँच्न पाउने अधिकार मान्ने, पृथ्वी, जल, अग्नी, वायु, वनस्पतिमा समेत प्राण भएकोले संसारको कुनै पनि जीवको हत्या गर्नु अपराध हो भन्ने जैन दर्शनको मान्यता छ। मोक्ष प्राप्तिको लागि अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह जस्ता पाँच महाब्रतको पालन गर्नु पर्नेमा यस दर्शनलेजोड दिन्छ। यस दर्शनले अवतारवादको विरोध गर्दछ। आत्मशुद्धिमा बल छ भन्ने यसको विश्वास छ। जाति भेद यसले मान्दैन।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, मंसिर ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्