Kathmandu Press

राजमार्गमा छैनन् शौचालय, भएका पनि महिलामैत्री छैनन्

महिलाका लागि अलग व्यवस्था भएका शौचालय नै छैनन् भने महिनाबारीको समयका लागि अलग्गै व्यवस्था हुने कुरै भएन। न शौचालयमा सेनेटरी प्याड उपलब्ध छन्, न त शौचालय नजिकै त्यस्तो व्यवस्था छ।
राजमार्गमा छैनन् शौचालय, भएका पनि महिलामैत्री छैनन्

काठमाडौं, मंसिर ३ : ‘ए दाइ, यसो ठाउँ हेरेर रोकौँ त,’ एक युवकले सवारी चालकलाई अनुरोध गरे। ‘भन्नेबित्तिकै कहाँ रोक्न मिल्छ र सर? एकछिन कुर्नु अगाडि होटलमा रोकौँला,’ सवारी चालकले उत्तर दिए। ‘अनि कतिबेला आउँछ त होटल, यहाँ गाह्रो परिसक्यो,’ युवकको प्रत्युत्तर। एकैछिनमा घुम्ती कटेर बीच जंगलमा गाडी रोकियो। पुरुष यात्री सडक पारि साइड लागे, महिलाहरू भने बिलखबन्दमा।

‘छ्या कस्तो ठाउँमा रोकेको, पिसाब गर्न कहाँ जानु?’ काठमाडौं अध्ययनरत शीला खड्का बोलिन्। सोही गाडीमा सवार केही महिला जंगलभित्र झाडीमा पसे, उनी पनि सोही समूहमा मिसिइन्।

पूर्वपश्चिम राजमार्ग हुँदै नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको गाडीको दृश्य हो यो। पुरुषले सहजै आफूलाई पिसाब लागेको कुरा भने र सोहीअनुसार गाडी रोकियो। तर, महिलाले यस विषयमा खुलेर भन्न नसक्ने अवस्था अझै उस्तै छ। यदि केही गरी गाडी रोकियो भने पनि उनीहरूलाई शौच गर्न सहज छैन।

Hardik ivf

बर्दियाकी शीला खड्का उच्च शिक्षाका लागि काठमाडौं आएको दुई वर्ष भयो, जो कक्षा–१२ मा अध्ययनरत छिन्। चाडपर्वको समयमा घर जानुपर्दा उनलाई दिक्क लाग्छ। बाटोमा उचित सार्वजनिक शौचालय नभएकाले उनले गाडीमा चढेपछि केही पनि खान्नन्, पिउँदिनन्। ‘घर जाँदा म केही खाँदिनँ, खाएपछि शौचालय जानुपर्छ भन्ने पिरले भोकै घर पुग्छु,’ उनी भन्छिन्। राजमार्गमा शौचालयको निकै समस्या रहेको उनी बताउँछिन्। शौचका लागि खुला ठाउँमा गाडी रोकिँदा पुरुषलाई जति सहज हुन्छ, महिलालाई त्यति नै गाह्रो। ‘एक पटक त पिसाब गर्न झाडीमा जाँदा झण्डै गाडी नछुटेको, त्यसपछि म गाडीबाट बाहिर निस्किन्नँ,’ उनी भन्छिन्।

शौचालय अभावका कारण समस्यामा परेका पात्रमध्ये शिला एक हुन्।  दैनिक यात्रा गर्ने हजारौँ यात्रु शौचालय अभावमा समस्यामा पर्छन्। व्यवस्थित शौचालय नहुनाले यात्रुलाई मात्र नभएर सवारी चालकका पनि आफ्नै दुःख रहेको चालक शंकर थापा बताउँछन्। यात्रुले भन्नेबित्तिकै गाडी रोक्नलाई शौचालयको अभाव रहेको उनी बताउँछन्। यति दूरीमा सार्वजनिक शौचालय छ भन्ने भए सोहीअनुरूप सहज हुने उनको भनाइ छ। ‘जहाँ पायो त्यहीँ रोक्न मिल्दैन, नरोके यात्रुलाई समस्या हुन्छ। मारमा त हामी पो छौँ,’ उनी भन्छन्।

खानेपानी मन्त्रालय, वाटर एड नेपाल र गुठीले नोभेम्बर २०२१ नागढुंगादेखि नारायणगढसम्म (१३५ किमि) मा गरेको सर्वेक्षणअनुसार पेट्रोलपम्पमा ३३, सार्वजनिक संघसंस्था र स्थानीय समूहले निर्माण गरेका १९, व्यक्तिगत होटल, रेस्टुराँका ३० वटा गरी उक्त रुटमा ८२ वटा शौचालय रहेको पाइएको छ। उक्त रुटमा दैनिक हजारौँ यात्री हिँड्छन्, तर शौचालयको प्रयोग करिब दुई हजारजनाले मात्र गर्छन्। अर्थात्, शौचालय भएका ठाउँमा पनि यात्रीको पहुँच कम छ।

जब कि, ती शौचालय एकान्तमा नभई सडक किनारामै छन्। उक्त रुटका शौचालयमध्ये महिला र पुरुषका लागि अलग व्यवस्था रहेका करिब ४० प्रतिशत पाइएको छ। यो रुटका ७५ प्रतिशत शौचालय देखिने र सहज तरिकाले जान सक्ने रहेको पाइएको छ। यस्तै, शौचालयमा पूर्ण रूपमा उज्यालो हुने ४२.५ प्रतिशत देखिएको छ। सुरक्षित ढोकामा लक भएको ६७ प्रतिशत र शौचालयको ढोकामा ह्यान्डल भएका ६५ प्रतिशत पाइएको छ। लेउ नजमेको नचिप्लिने शौचालयहरू ८० प्रतिशत रहेको अध्ययनमा देखिएको छ।

अध्ययनका क्रममा राजमार्गका शौचालयहरू संख्याको हिसावले ठीकै रहे पनि सुविधायुक्त भने हुन नसकेको प्राविधिक सल्लाहकार गुठीका प्रकाश अमात्य बताउँछन्। राजमार्गका शौचालयमध्ये नियमित सरसफाइ गरिने ९५ प्रतिशत, शौचालय  खोल्ने र बन्द गर्ने निरन्तर समय ७२.५ प्रतिशत, सरसफाइका लागि तयार गरिएको पूर्व–परिभाषित पात्रो ५५ प्रतिशत, नियमित शौचालयको काममा उपस्थित कामदार ९० प्रतिशत, प्रयोग गरिएको फोहोर उत्पादन उचित र नियमित रूपमा हटाउने २५ प्रतिशत, नियमित व्यवस्थापन र मर्मत सुनिश्चित गर्न स्पष्ट व्यवस्थापन व्यवस्थाहरू सञ्चालन, मर्मत र व्यवस्थापनमा २२.५ प्रतिशत रहेको अध्ययनले देखाएको छ।

यस्तै, आधारभूत मर्मत, आपूर्ति र सेवा (स्क्रू ड्राइभर, पाइप रेन्च आदि) रहनेमा १७.५ प्रतिशत, मर्मत सम्भार गर्ने व्यक्तिले नाला र प्लम्बरहरू बन्द हुँदा सफा गर्ने ६५ प्रतिशत पाइएको छ। शौचालयमा राखिएका सरसफाइ सामग्री तौलिया, ट्वाइलेट पेपर, साबुन, मोप, ब्रस, डिटर्जेन्ट तथा पन्जा, मास्कलगायत सुरक्षात्मक सामग्री राखिएका शौचालयको संख्या शून्य पाइएको छ। राजमार्गका शौचालयहरूमा राम्रोसँग राखिएको पूर्वाधारमध्ये नियमित पानी उपलब्ध भएका ९२ प्रतिशत, राम्रो हावा आपूर्ति ७५ प्रतिशत, हात सुकाउने यन्त्र जडान, सामान झुन्ड्याउने हुकहरू लगायतको व्यवस्था पनि शून्य पाइएको छ।

यस्तै, लैंगिकमैत्री शौचालयमा महिला प्रयोगकर्तालाई सहज हुने शौचालय १७.५ प्रतिशत मा पाइएको छ। महिला क्युबिकल संख्याभन्दा पुरुष क्युबिकल संख्या बढी देखिएको छ। शौचालयमा महिला अपरेटर ३० प्रतिशत, हात धुने ठाउँमा ऐना ४२. ५ प्रतिशत पाइएको छ।

शौचालयभित्र पानीको उपलब्धता ३७.५ प्रतिशत, महिलाको लागि छुट्टै पिसाब फेर्ने ठाउँ ७.५ प्रतिशत पाइएको छ। पुरुषका लागि भने ४७.५ प्रतिशत ठाउँ रहेको अध्ययनले देखाएको छ।

जब महिलाका लागि अलग व्यवस्था भएका शौचालय नै छैनन् भने महिनाबारीको समयका लागि अलग्गै व्यवस्था हुने कुरै भएन। न शौचालयमा सेनेटरी प्याड उपलब्ध छन्, न त शौचालय नजिकै त्यस्तो व्यवस्था छ। कतिसम्म भने राम्रोसँग हात धुने व्यवस्था भएका शौचालय नै १० प्रतिशत मात्र पाइएको छ।

यसरी राजमार्गमा शौचालयको व्यवस्था संख्यात्मक रूपमा धेरै देखिए पनि व्यवस्थित शौचालयको अभाव पाइने अमात्य बताउँछन्। उनका अनुसार सार्वजनिक शौचालयको सुधारका लागि तीनवटा बेथिति सुधार गर्नुपर्छ। उनी भन्छन्, ‘बहालमुखी नीति र टेन्डर प्रक्रियाबाट शौचालय ठेक्कामा दिनु, शौचालय सञ्चालन र व्यवस्थापन कार्यविधि नहुनु र राजनीतिक इच्छाशक्ति न्यून हुनु नै सार्वजनिक शौचालयको सेवा विस्तार हुन नसकेको हो।’ ललितपुर र काठमाडौंमा सार्वजनिक शौचालय स्थापना गरेर नमूना प्रस्तुत गरेका उनी व्यवस्थित शौचालयको व्यवस्था वातावरणीय हिसाबबाट पनि राम्रो हुने बताउँछन्।

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्