प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीको आन्दोलन आज पनि जारी
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वोच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् ।काठमाडौं, मंसिर ३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरू निरन्तर धर्नामा छन्।
सर्वोच्च परिसरको प्रदर्शनस्थलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् । अहिलेसम्म कानून व्यवसायी नियमित धर्नास्थलसम्म पुगेका छैनन् । सर्वोच्च परिसरमा यसअघिको भन्दा आज सुरक्षा व्यवस्था कडा गरिएको छ ।
जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा हिजो प्रहरीले बल प्रयोग गरेको थियो। सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका थिए ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वोच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् ।