Kathmandu Press

किन झर्छ कपाल, कसरी गरिन्छ प्रत्यारोपण ?

पुरुषहरूमा १३ वर्षको उमेरदेखि टेस्टोस्टेरोन हर्मोनका कारण कपाल झर्ने समस्या आउन सक्छ। यसबाहेक वंशाणुगत, स्टे«स, खानपान, वातावरण प्रदूषण लगायत कारण पनि कपाल झर्ने गर्छ।
किन झर्छ कपाल, कसरी गरिन्छ प्रत्यारोपण ?

काठमाडाैं, मंसिर ३ : ३१ वर्षीय रोहित थापा बबरमहलस्थित एक कस्मेटिक पसलमा कपाल झर्न रोक्ने तेलबारे बुझ्दै थिए। पसलले उनलाई भारतीय ‘केस किङ’, ‘इन्दुलेखा’ तेलसँगै नेपालमै उत्पादित प्याजको तेल देखाइन्। रोहित भन्छन्, ‘कपाल झर्न थालेको छ। साथीहरुले तेल पाइन्छ भनेकाले बुझ्न आएको हुँ।’

अहिले धेरै मानिस कपाल झर्ने समस्याले पीडित छन्। कपाल धेरै झरेकै कारण कहिले कुन स्याम्पु त कहिले तेल वा औषधिको प्रयोग समेत गरिरहेका छन्। नेपालमा पछिल्लो समय कपाल प्रत्यारोपण गर्नेंहरु पनि बढेका छन्।

संगीतकार तथा गायक आशिष अविरलले दुई वर्षअघि (३९ वर्षको उमेरमा) कपाल प्रत्यारोपण गरे। आफू २६ वर्षको हुँदादेखि कपाल झर्न थालेको उनी बताउँछन्। ३२ वर्षको हुँदा उनको निधारतिरको भाग खुइलियो। सुरुमा उनले कपाल झर्न रोकिन्छ कि भनी विभिन्न स्याम्पु प्रयोग गरेका थिए, तर झर्न रोकिएन।

Hardik ivf

‘कपाल रोप्ने विषयमा धुलिखेल अस्पताल लगायत ५–६ ठाउँमा गएर बुझेँ,’ आवरण स्किन एन्ड हेयर क्लिनिकबाट कपाल रोपेका उनी भन्छन्, ‘पूरै खुइलिएको ठाउँमा एकपटक मात्र रोप्दा अलि पातलो हुँदो रहेछ।’

उनले सुरुको चरणमा दुई हजारवटा कपाल रोपेका थिए। अब छिटै १५ सय जति कपाल रोप्ने (प्रत्यारोपण गर्ने) उनको योजना छ। ‘मेरो टाउकोको पछाडिको भागको कपाल निकालेर अगाडि रोपेको हो,’ उनी भन्छन्, ‘उपचार गरिसकेपछि ६ महिनासम्म टाउकोमा छुँदा थाहा नहुने भएको थियो। तर अहिले केही समस्या छैन।’ आफूले त्यतिबेला प्रतिकपाल ५० रुपैयाँमा रोपेको उनी बताउँछन्।

बुवाको पनि आफ्नो जसरी नै अगाडिबाट कपाल झरेकाले वंशाणुगत कारण नै आफ्नो कपाल झरेको उनको अनुमान थियो। तैपनि उनलाई सुरुमा कपालमा लगाउने जेलका कारण झरेको होला भन्ने लागेको थियो। ‘कति समय त जेल लगाउन छाडेँ,’ उनी भन्छन्, ‘पछि वंशाणुगत नै रहेछ भन्ने थाहा पाएपछि कपाल रोप्ने (हेयर ट्रान्सप्लान्ट) निर्णय गरेको हुँ।’

आवरण स्किन एन्ड हेयर क्लिनिकका संस्थापक डा. रुपक घिमिरे आफूकहाँ कपाल प्रत्यारोपण र स्किनसम्बन्धी उपचारका लागि ग्राहक आउने गरेको बताउँछन्। ‘हामीले विशेषगरी कपालको नै ट्रिटमेन्ट गर्ने हो,’ सन् २०१५ देखि क्लिनिक सञ्चालन गरेका घिमिरे भन्छन्, ‘यसबाहेक अनुहार र छालामा आएको दाग, छाला डढेको वा आगोले पोलेको उपचारका साथै कतिपयले दारी समेत रोप्न आउने गरेका छन्।’

उनका अनुसार, नेपालको सन्दर्भमा पुरुषमा तालुपनको समस्या बढी देखिएको छ। त्यसमा पनि उनको क्लिनिक आउनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका बढी हुन्छन्। ‘पुरुषहरूमा १३ वर्षको उमेरदेखि नै टेस्टोस्टेरोन हर्मोनका कारण कपाल झर्ने समस्या आउने हो। यसबाहेक वंशाणुगत, स्टे«स, खानपान, वातावरण प्रदूषण लगायत कारण पनि धेरैमा कपाल झर्ने समस्या देखिएको छ,’ उनी भन्छन्, ‘टेस्टोस्टेरोन विकसित भएपछि कुनै पनि उमेरमा कसैको धेरै वा कसैको थोरै कपाल झर्न सक्छ। सुरुमा निधारपट्टिको भागबाट कपाल झर्न सुरु भएर पूर्ण रूपमा झर्न पनि हुन सक्छ।’

महिलामा कपाल झर्ने समस्या देखिए पनि कमैमा मात्र तालुपनको समस्या हुने डा. घिमिरे बताउँछन्।

कपाल प्रत्यारोपणको विधि

डा. घिमिरेका अनुसार, अधिकतम पुरुषमा अगाडिबाट कपाल झरेको पाइन्छ। जति धेरै कपाल झरे पनि पछाडिपट्टिको कपाल झर्दैन। त्यसैले कपाल प्रत्यारोपण गर्दा नझर्ने भागबाट लिएर रोप्यौँ भने त्यो सधैँ रहिरहन्छ।

कुनै पनि व्यक्तिको कपाल प्रत्यारोपण गर्दा सुरुमा के कारणले झरेको हो थाहा पाउन जरुरी छ। सामान्य औषधि उपचारबाट समस्या समाधान हुने भएसम्म प्रत्यारोपण गर्न आवश्यक नरहेको उनी बताउँछन्। प्रत्यारोपण गर्नैपरेमा सुरुमा सो व्यक्तिको टाउकोको पछाडिपट्टिको भागको कपाललाई जरासहित निकालेर झरेको ठाउँमा रोपिन्छ। रोप्नका लागि सिरिन्जको प्रयोग गरिन्छ।

‘जसरी हामीले धानको बिउलाई जरासहित उखेलेर खेतमा  रोप्छौँ, कपाल प्रत्यारोपणको विधि पनि करिब–करिब उस्तै हुन्छ। कपाल प्रत्यारोपण विधिलाई फोलिकुलर युनिट एक्स्ट्राक्सन भनिन्छ,’ उनी भन्छन्, ‘एक हजारवटा कपाल भएको ठाउँको बीचबीचबाट दुईवटा निकाल्दा झट्ट हेर्दा केही फरक पर्दैन। यो सबै म्यानुअल प्रोसेस नै हुन्छ। जस्तै तीन हजार वटा कपाल प्रत्यारोपण गर्ने हो भने त्यति नै पटक त्यसलाई निकालेर अर्को ठाउँँमा एक–एक गरी रोपिन्छ।’ कपाल प्रत्यारोपण गर्दा कम्तीमा एक व्यक्तिलाई ६ घन्टा समय लाग्ने उनी बताउँछन्।

उनका अनुसार, कपाल प्रत्यारोपणपछि कतिपय मानिसलाई केही समय निधार सुन्निने, चिलाउने, छाला फुस्रो हुने, चायाँ आउने लगायत सामान्य समस्या देखिन सक्छ। कतिपयलाई प्रत्यारोपण गरेको कपाल नबढ्ने वा भनौँ कृत्रिम देखिने भ्रम छ। ‘तर, त्यस्तो होइन,’ डा. घिमिरे भन्छन्, ‘रोपेको कपाल पनि प्राकृतिक कपाल जसरी नै काट्दा बढ्ने, स्ट्रेट गर्न मिल्ने हुन्छ।’

 

प्रकाशित मिति: १०:२२ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्