वामपन्थी नेता रूपलाल विश्वकर्मा श्रीमती रोमाको मात्र सम्झनामा, बिर्सिए कम्युनिस्ट नेताहरूले नै
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर रूपलाल विश्वकर्मालाई उनीद्वारा दीक्षित कम्युनिस्ट नेताहरूले नै बिर्सिए। दलित समुदायका भएकैले उनलाई सोही समुदायका अगुवाका रूपमा मात्र चिनाउने प्रयत्न हुँदै आएको छ।काठमाडौं, मंसिर २ : मिलाएर राखिएका कपडाका पिसहरू, केही सिलाएर तयार पारिएका ब्लाउज, कुर्ता, चोलीहरू झुन्ड्याइएको थियो। तीनवटा सिलाइ मेसिनलाई कपडाले छोपेर राखिएको थियो। हेर्दा लाग्थ्यो, ती मेसिन त्यति प्रयोगमा आउँदैनन्।
मेसिनको छेउमा एउटा ठूूलो बोरा कपडाका टुुक्राहरूले भरिभराउ छ। ललितपुर कनिबहालमा सानो लुगा सिलाउने पसल छ, मुस्किलले तीनजना मानिस भित्र बस्न सक्छन्। पसलको अगाडि लेहेंगा लगाइएको डमी राखिएको छ। लुगा सिलाउने पसल हो भनी जो कोहीले सहजै पहिचान गर्न सक्छन्। ‘एकै छिन् है नानी, म यति ब्लाउजको कपडा काटिहाल्छु। हेर्नुु न, एकादशीका लागि चोखो लुुगा लगाउने भनेर सिलाउन दिनुभएको बेलुकासम्म जसरी पनि तयार गरिदिनुुछ,’ यति भनेर उनी ब्लाउजको पिस कपडा काट्न व्यस्त भइन््। २६ कात्तिकमा ललितपुर कनिबहालस्थित एक कपडा पसलको दृश्य र संवाद हुन् यी।
निधारमा कलेजी रंगको ठूलो टीका लगाएकी रोमा विश्वकर्माले मिठो मुस्कानका साथ आफ्नो पसलमा स्वागत गरिन्। काँधमा झुन्डिएको इन्ची टेपले उनी काममा व्यस्त रहेको संकेत गथ्र्यो। पसलमा राखिएको काउन्टरमा केही थान सिलाउनुपर्ने नयाँ लुगाका पिसहरू राखिएको थियो। रोमाले कापीमा टिपिएको नापलाई हेर्दै मिलाउर चकले धर्का तानिन्, तानिएको धर्कामा कैंची चलाइन्। एकै छिनमा ब्लाउजको कपडा सिलाउन तयार भयो।
‘दिदी मेरो कुर्ता तयार भयो ?’ एक ग्राहकले रोमालाई सोधिन्। ‘तयार भइसक्यो नि बहिनी, यो हेर्नु त,’ रोमाले सिलाएको कुर्ता राखेको झोला ग्राहकलाई दिइन्। ती महिलाले झोलाको कपडालाई ओल्टाइपल्टाइ हेरिन् र पैसा दिइन्। ‘राम्रो सिलाइदिनुुभयो धन्यवाद है,’ ग्राहक आफ्नो गन्तव्यतिर लागिन्।
‘अचेल त पहिलाजस्तो काम गर्न सक्दिनँ, काम नगरी पनि हुुँदैन,’ उनले हातको पैसा गल्लामा राख्दै भनिन्। लुुगा नाप्ने इन्ची टेप, कैंची, सेतो चक, सियोधागो र मेसिनसँग निकै रोमाको सम्बन्ध निकै पुरानो हो। उनले सियोमा धागो उनेर लुगा सिउन थालेको वर्षौँ भइसक्यो। ‘जसरी लुगा सिउन सकिन्छ, उसैगरी मन सिउन नसकिने रहेछ,’ कुर्सीमा बस्दै उनले भनिन्, ‘जीवनका कैयौँ संघर्ष र कष्टका बावजुद जीवन सुन्दर बनाउन सक्नुपर्ने रहेछ।’
हरेक कुराको समय आउने र त्यसभन्दा अगाडि–पछाडि केही नहुने उनले राम्ररी बुझेकी छन्। जीवन संघर्षले उनलाई धेरै कुरा सिकाएको छ। भन्छिन्, ‘जीवन एउटा काँचो कपडाजस्तै हो, जहाँ कैंची, टेप र चकको प्रयोग गरी आकार दिइसकेपछि मात्र सियो र धागोको मद्दतले शरीर छोप्न लायक कपडाको रूप दिन्छ। त्यसरी नै जीवन पनि त्यही हो, के कसरी प्रयोग गरेर कस्तो बनाउने भन्ने आफूमा भर पर्छ।’ उनको कुरा सुन्दा लाग्छ, उनको वैचारिक र सामाजिक बुझाइ निकै फराकिलो अनि गहन छ। जसरी उनका खुट्टाले मेसिनलाई चलायमान बनाएका थिए, त्यसरी नै उनका कुराले सोच्न बाध्य बनाउँथे।
कुरा गर्दागर्दै उनले चिया मगाइन्, चिया खाँदै कुराकानीको शृंखला अगाडि बढ्यो। उनको पसलको काउन्टरको गल्लानजिकै दुईवटा पुस्तक थिए। ‘हजुर पुस्तक पढ्नु हुन्छ ?’ मैले प्रश्न गरेँ। ‘समय मिल्यो भने एकछिन् यसो पढ्छु, पहिलाजस्तो पढ्न पनि कहाँ सक्नु ?’ काउन्टरमा राखिएका दुई पुस्तक झिकेर हेर्दै उनले भनिन्।
ढाका टोपी र चस्मा लगाएका व्यक्तिको फोटो भएको उक्त पुस्तकमा लेखिएको थियो, ‘क्रान्तिको विकासबारे हामीलाई लागेका केही कुराहरू’ र ‘अध्ययनमूलक केही ऐतिहासिक तथ्यहरू’। दुवैका कृतिकार हुन्, रूपलाल विश्वकर्मा। हो, कम्युनिस्ट नेता रूपलाल विश्वकर्माकी श्रीमती हुन्, रोमा विश्वकर्मा (५५)। रूपलाल विश्वकर्मा त्यो योद्धाको नाम हो, जसले नेपाली कम्युनिस्ट आन्दोलनमा खम्बाको काम गरे तर उनलाई कम्युनिस्ट धरोहरका रूपमा चिनाउन चाहिँदैन। नेपाली कम्युनिस्ट आन्दोलनमा स्वच्छ छवी भएर पनि कम्युनिस्ट नेताको रूपमा स्वीकार्न नसकेका, नचाहेका एक योद्धा हुन् विश्वकर्मा।
सादगी जीवन
रोमा बिहान ९ बजे पसलमा आउँछिन्, आफूलाई अर्डर आएका कपडा तयार गर्नु र बेलुुका ७ बजे डेरामा पुग्नु उनको दैनिकी हो। उनका एक छोरा छन्, जो उच्च शिक्षा पढ्दै छन्। ललितपुर कनिबहालमा रोमाले टेलरिङ व्यवसाय गरेरै जीवन चलाउँदै आएको वर्षौं भइसक्यो। चितवन घर भएकी उनले भारतमा स्नातकसम्मको अध्ययन गरेकी छन्। भारतमा अध्ययनका क्रममा चितवन घर आउने जाने गर्थिन्। त्यतिबेला कम्युनिस्टहरूका कार्यक्रम हेर्ने, कम्युनिजमका बारेमा लेखिएका पुस्तकहरू अध्ययन गर्ने, वर्ग, जात, महिला संघर्षका पुस्तकहरू अध्ययन गरेको उनी सम्झिन्छिन्।
सोही क्रममा रोमाका मामा अमर विश्वकर्माले रूपलाल विश्वकर्मासँग विवाह गर्ने प्रस्ताव ल्याए। ‘त्यतिबेला म १९ वर्षकी थिएँ, मामाले विवाहको प्रस्ताव गर्दा आमाले नाइँ भन भन्नुभएको मलाई याद छ,’ उनी भन्छिन्, ‘उहाँ (रूपलाल विश्वकर्मा) निकै साधारण व्यक्तित्व भएको नेता हुनुहुन्थ्यो। उहाँलाई देखेर छोरीको बस्ने, खाने ठेगाना नहोला भनी पिरले त्यसो भन्नुभएको होला। आखिर आमाको माया न हो, छोरीलाई दुःख नहोस् भन्ने सोच्नुभयो।’ खेतमा काम गर्दैगर्दा रूपलाल विश्वकर्मालाई मामाले लिएर आए पनि केटी अलि सानै उमेरकी रहिछन्, विवाह नगर्ने भनी फर्किएका थिए उनी।
रूपलालले भूमिगत जीवन बिताउनुपर्ने भएपछि उनलाई बाहिर हिँडडुल गर्न बर्जित गरिएको उनी बताउँछिन्। रोमाका अनुसार रूपलालको स्वास्थ्य स्थिति ठीक नभएपछि खुला रूपमा उपचार गर्नसमेत जान पाएनन्। देशका लागि आवश्यक नेतृत्व, समग्र उत्पीडन, मजदुर, किसान र गरिब सुकुम्बासीको अगुवा भएकाले उनको स्वास्थ्यस्थितिमा ध्यान दिनुु आवश्यक रहेको भनी विवाह गर्न भनिएको उनी बताउँछिन्।
भन्छिन्, ‘पार्टीको निर्णयअनुसार नै ०४३ सालमा हाम्रो बिहे भयो, सुरुमा नगर्ने भनिए पनि पछि बिहे गर्यौं। सायद त्यही लेखेकै थियो कि।’ रूपलालसँग विवाह भएपछि रोमा उनीसँग हरेक मोर्चा, अभियानलगायत पार्टीका कार्यक्रममा जाने गर्थिन्। रूपलाललाई केयर टेकरको रूपमा निःस्वार्थ भावनाले सहयोग गरेकी रोमाले सोही क्रममा नेपालको राजनीतिक चिन्तन, कम्युनिस्ट आन्दोलनलगायत विषयमा अझ स्पष्ट हुने मौका पाइन्।
रूपलालको आँखामा मोतियाविन्दु भएपछि विस्तारै सक्रिय रूपमा लेखपढ गर्न असहज बन्दै गयो। अहिले सामान्यझैँ लाग्ने मोतियाविन्दुु त्यो समयमा आँखाको असाध्य रोग थियो। रूपलालसँग विवाह भएपछि स्वास्थ्योपचारका लागि भारतमा बसे उनीहरू। ०४६ सालको परिवर्तनपछि मात्र उनीहरू स्वदेश फर्किए। तर, बहुदलीय व्यवस्थामा राजनीतिक दलका नेतृत्व पंक्ति स्वार्थभोगी र राजनीतिक एजेन्डाभन्दा व्यक्तिगत स्वार्थनिहित भई विचलित बनेको उनी बताउँछिन्। त्यसपछि सादगी नेता रूपलाललाई एक्ल्याइयो। ‘उहाँले पार्टीको सिद्धान्त, दर्शन सिकाएका नेता–कार्यकर्ताले नै साथ दिएनन्, जनताको पक्षमा भन्दा पनि व्यक्तिमा निहित भएपछि उहाँ एक्लो हुनुभयो,’ उनी भन्छिन्। तत्कालीन कम्युनिस्ट नेता स्वनाम साथीले पार्टीमा हुन्जेल साथ दिनुभयो। पछि अन्य नेताजस्ते ढुलमुले चरित्र देखाएकाे उनले बताइन्।
पार्टीमा दलित समुदायका मुद्दा उठाउँदा, राजनीतिक दलको नीति निर्माणमा नीति र दर्शनबारे धारणा राख्दा, सर्वहाराका पक्षमा कुरा गर्दा अन्य नेता–कार्यकर्ताले रूपलालको कुरालाई गहन रूपमा नलिने, बुुझ्न नचाहने प्रवृत्ति देखिँदै गयो। उनलाई ‘बिरामी मान्छे आराम गर्नु, यस्ता मुद्दाका विषयमा नबोल्नु’ भनेर एक्लो बनाएको रोमा बताउँछिन्।
पार्टीमा दर्शन र विचार अभिव्यक्त गर्दा उल्टो अनावश्यक लाञ्छना लगाई रूपलाललाई बदनाम गर्न खोजिएको उनको भनाइ छ। रोमाले रूपलाललाई जीवनको अन्त्यसम्म साथ दिइन्। रूपलाल अध्ययन गर्न रुचाउँथे, अधिक समय अध्ययन र चिन्तन मननमा बिताउँथे। उनी सधैँ साथमा थिइन्। रूपलाल विश्वकर्माको आँखाको समस्या बढ्दै गएपछि उनका आलेख र लेखहरू टाइपराइटरमा टाइप गरी सहयोग गरिन्।
कम्युनिस्ट पार्टीहरू एकीकरण हुने क्रमसँगै त्यसअघि सँगै हिँडेका साथीहरूले समेत पद र प्रतिष्ठाका लागि उनलाई अलग्याएको उनी बताउँछिन्। अहिले पनि कम्युनिस्ट भनिएका नेता, राजनीतिक पार्टीले समेत नसम्झेको र सम्झन नचाहेको उनको भनाइ छ।
कम्युनिस्ट आन्दोलनको इतिहासको चर्चा गरिरहँदा रूपलाललाई सम्झना आवश्यक नठानिएको उनी बताउँछिन्। पार्टीभित्रै असुरक्षित महसुस गरेपछि रूपलालले पार्टी छाडे। उनको नामलाई दलित नेतामा मात्र सीमित राखिनुुको कारण उनी दलित समुदायका हुनु रहेको रोमाको भनाइ छ। आज रूपलाललाई कम्युनिस्ट दर्शन, विचार निर्माणका लागि भन्दा पनि दलित समुदायको अगुवाको रूपमा मात्र सीमित गरिनुको मुख्य कारण उनी दलित समुदायको हुनु रहेको उनी बताउँछिन्।
रूपलालसँग करिब १७ वर्षको जीवन यात्रामा रोमाले कहिल्यै एक्लै छाडिनन्। रूपलालले निजी जीवनमा कहिल्यै रमाइलो गरेनन्। स्वास्थ्य स्थिति ठीक हुँुदा होस् या कमजोर बन्दा, सदैव पार्टी र जनताका बारेमा मनन गर्न उनले छाडेनन्। विवाह गरेको वर्षौँ बितिसक्दा पनि सँगै कतै घुम्न नगएको उनी बताउँछिन्। ‘हाम्रो विवाहको दिन थियो, २९ फागुन। पछि ०५७ को फागुन २९ गते जबर्जस्ती घुुम्न जाउँ भनेर बालाजुु गयौँ,’ उनी सम्झिन्छिन्। बालाजुु घुम्न जाँदा रोमाले भाइलाई पनि बोलाएकी थिइन्। उनको भाइले क्यामेरा बोकेर गएकाले रोमा र रूपलालको फोटो खिचिदिए। ‘त्यही बेला नै उहाँसँग पहिलोपटक घुम्न गएँ, मैले कहिल्यै भनेकी पनि थिइन्, उहाँसँगको अन्तिम फोटो त्यही भयो,’ मोबाइलमा फोटो देखाउँदै उनले भनिन्।
कैलाली धनगढीमा आयोजित एक कार्यक्रममा जान नसक्नेगरी बिरामी हुँदा पनि रूपलाल गएको उनी सम्झिन्छिन्। त्यसबेला रोमाको काखमा एक वर्षका बालख छोरा थिए। त्यसैले उनी सँगै जान पाइनन्। ‘नजानु, गाह्रो हुन्छ भन्दाभन्दै मान्नु भएन, आखिर त्यस्तो भयो,’ उनले भनिन्।
सोही कार्यक्रमपछि रूपलालको स्वास्थ्य निकै बिग्रियो। उपचारका लागि भारत लैजाने सल्लाह भए पनि रूपलालले मानेनन् र काठमाडौँ ल्याइयो। अस्पताल भर्ना गरियो, चिकित्सकले कतिबेला के हुन्छ भन्ने टुंगो नरहेको भनेपछि रोमाले आफूलाई सम्हाल्न सकिनन्। नजिकका केही आफन्तलले उनलाई सम्हाले।
रूपलाललाई हृदयाघात भएको चिकित्सकले बताएका थिए। हृदयाघातबाटै उनको निधन भयो। रूपलालका भाइले घरमा लगेर परम्पराअनुसार काजकिरिया गर्ने भने पनि रोमाले त्यसो हुन दिइनन्, रोकिन्। ‘उहाँ आफू कम्युनिस्ट विचारको मान्छे, उहाँले यो सब मान्नु हुँदैन, मैले उहाँबाट जे सिकेँ, म त्यही गर्छु भनेर मैले सामान्य तरिकाले काजकिरिया गरेँ, उहाँका विचार, दर्शन र कृतिहरूलाई पुस्तकका रूपमा प्रकाशित गरी जनताका हातहातमा पुर्याउनु नै मेरा लागि काजकिरिया हो, उहाँप्रतिको सम्मान र श्रद्धाञ्जली हो,’ उनले भनिन्।
त्यो समय रोमाको त्यो निर्णयले सबै आश्चर्यमा परेका थिए। रूपलालसँग अस्पतालको शय्यामा उनको अन्तिम संवाद भएको थियो। ‘स्वतन्त्र रहेर काम गर्थेँ, पार्टी खोलेर विश्वास गरेर गल्ती गरेँ, सबैजना स्वार्थको लागि मसँग रहेछन्, पार्टी खोल्नुभन्दा लेख रचना लेखेको भए हुन्थ्यो,’ रूपलालले अस्पतालको शय्यामा भनेका थिए।
रूपलाल विश्वकर्मा अर्थात कम्युनिस्टका धरोहर
१० वैशाख १९९७ मा पर्वतमा जन्मिएका रूपलाल विश्वकर्मा नेपाली कम्युनिस्ट आन्दोलनमा बिर्सन नसकिने नाम हो। ०१५ सालमा पर्वतबाट बसाइँ सरी चितवनमा बसोबास गरेका उनले दलित समुदायलाई संगठित हुन जागरण चलाएका थिए। उनले सुरु गरेको जागरण अभियानले दलित समुदायमा राजनीतिक चेतको दैलो उघारेको मानिन्छ।
२०२२ सालमा दलित जनविकास परिषद् नामक जिल्ला तदर्थ समितिको गठन भयो, जसको अध्यक्ष मकानसिंह विश्वकर्मा थिए। यस्तै, सदस्यहरूमा रूपलाल विश्वकर्मासहित धनबहादुर विश्वकर्मा, लालबहादुर विश्वकर्मा, पूर्णलाल विश्वकर्मा, नारायणसिंह विश्वकर्मा, नरबहादुर विश्वकर्मा, बुद्धमबहादुर विश्वकर्मालगायत थिए। यही संगठनको माध्यमबाट आन्दोलन सुरु गरिएको थियो। संगठनप्र्रति समाजका उत्पीडनमा पारिएका वर्ग, समुदायका मानिसहरूको आकर्षण बढ्न थाल्यो।
यस्तै, ०२४ सालमा हीरालाल विश्वकर्माको अध्यक्षतामा नेपाल राष्ट्रिय दलित जनविकास परिषद् गठन भयो, जुन दलित समुदायको पहिलो संगठन हो। उक्त संगठनका केन्द्रीय महासचिव टीआर विश्वकर्मा थिए। परिषद् गठनपछि देशका हरेक जिल्लामा दलित संगठनको शाखा विस्तार गर्ने अभियान अगाडि बढ्यो। ०२४ सालमा चितवनमा पहिलोपटक भेला हुने वातावरण तयार भयो। ०२४ सालमै कम्युनिस्ट पार्टीमा आवद्ध भएका नेता रूपलाल विश्वकर्मा कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता थिए।
यस्तै, ०१५ सालमा लालबहादुर परियार र बुद्धमबहादुर विश्वकर्मालगायत दलित आन्दोलनबाट आएका अगुवाहरूलाई कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरेका थिए, रूपलालले। उनीसहितको समितिले दलित आन्दोलन मात्र नभई सुकुमबासी, गरिब, किसानहरूका समस्या समाधानका लागि अभियान चलायो। त्यही अभियानले संगठनको रूप पायो।
२०२७ सालमा रूपलाल विश्वकर्मा कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भए। चितवनमा सुरु भएको संगठनात्मक आन्दोलनले अन्य समुदायका अगुवाहरू समेत कम्युनिस्ट पार्टीमा आकर्षित भए। तीमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुन्, उनले ०२८ सालमा रूपलालबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन्। चितवनमा तात्तिँदै गरेको किसान आन्दोलनले देशव्यापी तहल्का मच्चाएको थियो। सोही क्रममा रूपलालविरुद्ध तत्कालीन सरकारले पक्राउ पूर्जी जारी ग¥यो। अनि रूपलाल पूर्ण रूपमा भूमिगत भए। भूमिगत हुनुपरेकाले रूपलालले आफ्ना विचार र चिन्तनलाई विभिन्न नामबाट प्रकाशन गर्ने र जनमासमा पु¥याउने काम गरे। भौतिक रूपमा आन्दोलन र अभियानमा सरिक नभए पनि कम्युनिस्ट आन्दोलनका विषयमा सैद्धान्तिक, वैचारिकसहित दलित संगठनलाई समेत अगाडि बढाए।
विश्वकर्माले नै कम्युनिस्ट पार्टीका किसान पत्रिका समूह, नेपाल मजदुर किसान संगठन र सर्वहारावादी श्रमिक संगठनमा दलित समुदायका अगुवालाई स्थापित गरे। विभिन्न बहानामा टुक्रिएको दलित संगठनलाई ०४७ सालमा फेरि एकै ठाउँमा ल्याई ‘उत्पीडित दलित जातीय मुक्ति समाज’ स्थापना गरे। उनका ०६८ सालमा ‘विपरीतहरूको समरूपता’, ०६९ मा ‘क्रान्तिको विकासबारे हामीलाई लागेका केही कुराहरू’ र ०७० मा ‘अध्ययनमूलक केही ऐतिहासिक तथ्यहरू’ प्रकाशित भए। यस्तै, उनले ०५३ सालमा ‘नेपाल दलित श्रमिक मोर्चा’ नामक राजनीतिक दलसमेत स्थापना गरे।
दलित समुदायको हक अधिकार निम्ति चलाइने अभियान र आन्दोलनहरू उक्त समुदायका नेता र अगुवाको मात्र नभएर समग्र राष्ट्रको राष्ट्रिय मुद्दा हो भन्ने रूपलालको विचार थियो। सोहीअनुुरूप दलित समुदायका मुुद्दालाई अगाडि बढाएका थिए। जबसम्म राजनीतिक नेतृत्वले दलित समुदायका समस्या र उत्पीडनलाई मुद्दाको रूपमा लिएर सोहीअनुरूप काम र कार्यक्रमहरू कार्यान्वयन गर्दैनन्, तबसम्म देश विकास र समुन्नत हुन सक्दैन भन्ने उनको विचार थियो।
देशमा जनताले दुुःख पाउनुको मुख्य कारण नेतृत्वले मात्र नभएर हिजोदेखि सञ्चालित एकल जातिले लादेको कार्यशैली, संगठनात्मक नीति एवं दर्शन पनि जिम्मेवार रहेको उनको भनाइ हुन्थ्यो। त्यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने उनले आफ्नो कृति ‘विपरीतहरूको समरूपता’ मा लेखेका छन्। जुन दर्शन पुस्तकमा उल्लेख गरेका थिए, सोहीअनुुरूप पछिल्ला राजनीतिक दलका नेताहरूले चर्चा गरिरहेका छन्। ००७, ०३६, ०४७ र ०६३ सालका राजनीतिक परिवर्तनले समेत दलित समुदायमाथि गरिने अमानवीय व्यवहार, जातीय छुवाछुत र विभेद अन्त्य गर्न नसक्नुको प्रमुख कारण उनीहरूका मुद्दालाई सोही समुदायमा मात्र सीमित राखी सोचिने संकीर्ण सोचाइ हो, जुन रूपलाल विश्वकर्माले आफ्ना कृतिहरूमा उल्लेख गरेका छन्।