Kathmandu Press

जुन समुदायले गाउँ-गाउँमा जागरण फैलायो, उही जातीय विभेदमा

गन्धर्व समुदायको उत्पत्ति, इतिहास, शैक्षिक, आर्थिक, व्यक्तिगत अवस्था तथा पहुँच र प्रतिनिधित्वको समग्र पाटो समेटिएको छ, ‘गन्धर्व समुदायको पहिचान र अवस्था’ पुस्तकमा। गाउँ-गाउँमा जागरण पैदा गर्ने यही समुदाय जातीय विभेदको चक्रमा पिल्सिएको छ।
जुन समुदायले गाउँ-गाउँमा जागरण फैलायो, उही जातीय विभेदमा

काठमाडौं, कात्तिक २७ : भनिन्छ, जित्‍नेको मात्र इतिहास लेखिन्छ। अनि जितको संघारमा पुग्‍न नदिई पिँधमा दबाएर राखिएका, राज्यको सेवा सुविधाबाट वञ्‍चित गरिएका वर्ग समुदायको इतिहास विरलै लेखिन्छ। वर्षौँदेखि गुमनाम पारिएकाहरूको पनि इतिहास लेख्‍नुपर्ने मान्यता स्थापित गराउने उद्देश्यले समता फाउन्डेसनले ‘गन्धर्व समुदायको पहिचान र अवस्था’ नामक पुस्तक बजारमा ल्याएको छ।

पुस्तकमा गन्धर्व समुदायको उत्पत्ति, इतिहास, शैक्षिक, आर्थिक, व्यक्तिगत अवस्था, त्यस समुदायको राजनीतिक पहुँच, सामाजिक अभियान र जातीय विभेद र छुवाछुतलगायत विषयवस्तुको जानकारी दिने दस्तावेज बनेको छ, यो पुस्तक। दलित समुदायभित्र पर्ने गन्धर्वहरूको जमिनमाथिको स्वामित्त्व, रोजगारी र वर्तमान अवस्थाबारेमा मिहिन ढंगले प्रष्‍ट पार्न खोजिएको छ। गन्धर्व समुदायको इतिहास, वर्तमान र भविष्‍यको अवस्थाका बारेमा जानकारी दिने बलियो आधार बन्‍न सक्छ, यो पुस्तक।

पुस्तक ‘गन्धर्व समुदायको पहिचान र अवस्था’मा विषयसूचीलाई आठवटा परिच्छेदमा छुट्याइएको छ। पुस्तक तयार गर्न पाँचवटा जिल्लाका तीन सय चार घरधुरीमा सर्वेक्षण गरिएको छ। पुस्तकले गन्धर्व समुदायको विगतदेखि वर्तमानसम्मको जातीय उत्पीडन, विभेद र बहिष्‍करणको अवस्था बुझ्‍न सघाउँछ।

Hardik ivf

उत्पीडनमा परेका समुदायमध्ये गन्धर्वहरूको शैक्षिक अवस्था यसमा समेटिएको छ। यो समुदायका बालबालिकाको विद्यालयमा संख्यात्मक उपस्थिति राम्रो देखिएपछि उच्च शिक्षामा भने न्यून संख्या रहेको अध्यनले देखाएको छ। गन्धर्व समुदायको शिक्षामा पहुँच हुन नसक्नुमा कमजोर आर्थिक अवस्था मुल कारण देखिएको छ। उक्त समुदायका ८० प्रतिशतले बीचमै पढाइ छाड्ने गरेको अध्ययनको निष्‍कर्ष छ।

यो समुदायका बालबालिकालाई विद्यालयभित्र पानी पिउँदा होस् या विभिन्‍न सांस्कृतिक र धार्मिक क्रियाकलापमा गरिने जातीय भेदभावले पनि विद्यालय जान निरुत्साहित गर्ने गरेको पाइएको छ।

संविधानले दलित समुदायका छात्रछात्राहरूलाई आधारभूतदेखि माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर, गन्धर्व समुदायका विद्यार्थीको उपस्थिति यस्तो संवैधानिक व्यवस्थाका बावजुद खासै सन्तोषजनक नरहेको पुस्तकमा उल्लेख छ। लेखक तथा राजनीतिक विश्लेषक आहुति भन्छन्, ‘उत्पीडित वर्ग या समुदायले पढ्ने भनेको लड्नका लागि हो, लड्नका लागि हतियार संकलन गरेजस्तै हो, पढ्नु।’ तर, आहुतिले भनेजस्तै उत्पीडित दलित समुदायका गन्धर्वहरूको शिक्षामा उल्लेख्य पहुँच देखिएको छैन। यसरी राज्यले सबै नागरिकलाई प्रदान गर्ने आधारभूत आवश्यकता र मौलिक अधिकार शिक्षाको पहुँचबाट टाढा हुनुपर्ने अवस्थाको सिर्जना जातीय विभेदको अन्त्यबाट मात्र सम्भव रहेको उनी बताउँछन्।

गन्धर्व समुदायको इतिहास र संस्कृति

नेपाल र नेपाली समुदायका विविध सांस्कृतिक पक्ष छन्। कुनै जाति एवं समुदाय सांस्कृतिक रूपमा निकै उत्कृष्‍ट र कुनै कमजोर वा औसत भन्‍ने नहुनुपर्ने हो। हरेक जाति, समुदायको आ-आफ्नै फरक-फरक सांस्कृतिक पक्षहरू हुन्छन्। कुन समुदायको संस्कृतिलाई विशेष स्थान दिने, सकारात्मक रूपमा प्रचारात्मक रूपमा फैलाइने भन्‍ने राज्यसँगको पहुँचले निर्धारण गर्छ। राज्यसँगको पहुँच नहुनाले गन्धर्वलगायत दलित समुदायको सांस्कृतिक पक्ष ओझेलमा पारिएको छ।

गन्धर्व समुदायले परम्परागत रूपमा एकअर्को गाउँको सूचना, देश-विदेशका भएका घटनाहरू, मानिसका जीवन भोगाइलाई सारंगीको धुनमा सजाउँदै सञ्‍चारमाध्यमको भूमिका वहन गर्ने गरेको पुस्तकमा उल्लेख छ। तर, त्यही समुदाय जातका आधारमा विभेदमा परेको छ। जातलाई आधार मानेर सांस्कृतिक पक्षको संवर्द्धन र संरक्षण गर्न राज्य चुकेको छ। पौराणिक सीप, कला, कौशल र संस्कृतिको जगेर्नाका लागि राज्यले चाल्नुपर्ने कदम जातीय दलदलमा फसेको भन्‍न सकिन्छ।

इतिहासका पानामा अन्य जाति, समुदायको वीरता र गौरवको गाथा लेखिएको छ। तर, उत्पीडित समुदायको गौरव गाथा लुकाइएको छ, दबाइएको छ। तसर्थ, इतिहासको पुनर्लेखन आवश्यक छ। समाज निर्माणका लागि गन्धर्व समुदायले दिएको योगदानबारे लिखितम् रूपमा एकआधबाहेक खासै उल्लेख पाइँदैन।

गन्धर्व मात्र नभई देशका लागि योगदान गरेका उत्पीडित, दलित समुदायका बारेमा लेखिएका दस्तावेज इतिहासको पानामा कहीँकतै भेटिँदैनन्। कारण- कसैले लेख्‍न जरुरी ठानेनन्, लेख्‍न सक्ने पहुँचमा उत्पीडित समुदाय थिएनन्। यस्तो अवस्थामा पुस्तक ‘गन्धर्व समुदायको पहिचान र अवस्था’ले उक्त समुदायको उत्पत्ति, धार्मिक, ऐतिहासिक र पौराणिक आधारहरू खोतलेको छ।

गन्धर्व समुदायको उत्पत्तिलाई लिएर पौराणिक र धार्मिक मान्यता पुस्तकमा उल्लेख छ, ‘गन्धर्व समुदायले भगवती देवीको आराधना र तपस्या गरेको हुनाले गीत संगीत सिकेको र भगवती देवीले तिम्रो आवाजमा मिठास होस्, सुन्‍नेजति सबै मोहित होऊन्, सारा संसार स्वरमा लठ्ठ परून्, मान सम्मान गरून् भनी वरदान दिएकाले गन्धर्व समुदायको प्रख्याति बढेको हो।’

यस्तै, ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदका उपवेदमध्ये एक गन्धर्ववेद रहेको पुस्तकमा उल्लेख छ। गन्धर्ववेदलाई संगीतशास्त्रको रूपमा लिइन्छ। सोही वेदअन्तर्गत भारतीय संगीत, शास्त्रीय संगीत, राग, सुर गायन तथा बाद्ययन्त्रको विकास भएको पुस्तकमा उल्लेख छ।

भारतको उत्तरी भूभागमा एक हजार इस्वीमा मुसलमानले आक्रमण गरेका थिए। त्यो आक्रमणमा भारतले आफ्नो रक्षा गर्न नसकेको र तेह्रौँ शताब्दीतिर मुस्लिम राज्यको विस्तार तीव्र गतिमा बढ्यो। त्यहाँ बसोवास गर्ने हिन्दूहरूमा यसको प्रभाव परेकाले एकअर्को स्थानमा जान थालेको र मुसलमान शासकको आक्रमणको त्रासमा त्यस समयका गायक, बाद्यवादक गन्धर्वहरू नेपाल प्रवेश गरेको पुस्तकमा उल्लेख छ। गन्धर्व समुदायलाई २००७ सालपछि ‘गाइने’ भनेर चिनिन थाल्यो। पछि ०१३ सालमा राजा महेन्द्रलेको राज्याभिषेकमा जनकवि केशरी स्वर्गीय धर्मराज थापाको पहलमा गाइने जातिलाई ‘गन्धर्व’ भनिन थालिएको हो।

पुस्तकमा गन्धर्व समुदायको जनसंख्या, थर, भाषा, लिपी, जीवनसंस्कार, संस्कृति (जन्म, विवाह, मृत्यु) , चाडपर्व, पहिरन, बसाइँ सराइ, जीवनशैलीलगायत सबै पाटोको सूक्ष्‍म विश्लेषण गरिएको छ। त्यसैले यसलाई अनुसन्धानमूलक पुस्तक भन्‍न सकिन्छ। पुस्तकमा गन्धर्व समुदायका महिला र पुरुषको अवस्था, स्वास्थ्योपचारमा पहुँच, पेशा र पेशाप्रति आकर्षण-विकर्षण, परम्परागत सीपसम्बन्धी कानूनी व्यवस्था, यस समुदायका मौलिक गीतहरू, भूमिमा पहुँच, जमिनमा स्वामित्त्वलगायत पक्षलाई तथ्यांकमा प्रस्तुत गरिएको छ।

गन्धर्व समुदायको प्रतिनिधित्वको अवस्था, मौलिक हक, अधिकारका निम्ति गरिएको संघर्ष, भोग्‍नुपरेको जातीय विभेदलगायत विषयलाई डायग्राममा प्रस्तुत गरिएको छ, जसले यो अवस्थालाई छर्लंग बनाउँछ। यो समता फाउन्डेसनले प्रकाशित गरेको पुस्तक हो। यसका सम्पादक अर्जुन विश्‍वकर्मा हुन्। यस्तै, अनुसन्धानकर्ताहरू गोपाल नेपाली, सविता कोइराला, सुनिता परियार र रवि सेन्चुरीले गन्धर्व समुदायको घरआँगनमा पुगेर तथ्य सामग्री संकलन गरेका छन्।

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्