महिला जो गरिब अनि सीमान्तकृत उही ‘बोक्सी’
२०७२ सालमै बोक्सी प्रथाविरुद्धको कानून कार्यान्वयनमा छ। तर, गरिब, निमुखा, पछाडि पारिएका, सीमान्तकृत समुदायका महिलामाथि अमानवीय आरोप र यातना कायम छ। राज्यले कानून त बनायो तर कार्यान्वयनका लागि चेतना जगाउन आवश्यक ठानेन।घटना-१
५ फागुन ०६८ मा चितवन माडी (बघौडा) की ढेगनीदेवी महतोलाई बोक्सी आरोपमा नातेदारले निर्घात कुटपिट गरे। मलमूत्र खुवाउने, डाम्नेलगायत क्रुर यातनापछि उनलाई जिउँदै जलाइयो। उनलाई जलाउनेहरू अरू कोही नभएर उनकै आफन्त थिए।
घटना-२
२० मंसिर ०७३ मा काभ्रे सानो वाङथली-७ की लक्ष्मी परियारको बोक्सी आरोपमा कुटपिट गरी हत्या गरियो। स्थानीय सूर्योदय स्कुलको प्रांगणमा परियारलाई पोलमा बाँधेर कुटपिट गरी मलमूत्र खुवाइयो र हत्या गरियो। परियारको हत्या आरोपमा शिक्षक हीरा लामा र साइँला तामाङको नाममा उनका आफन्तले किटानी दिए। नाम्लोले बाँधेर मलमुत्र खुवाउँदै चिर्पटले हानेर उनको हत्या गरिएको थियो।
यी दुई घटना बोक्सीको आरोपमा मारिएका महिलाहरूको हो। अन्धविश्वासको क्रुर रूप हो, बोक्सी प्रथा। समाजमा बोक्सीको नाममा महिलामाथि हुने गरेका हिंसात्मक गतिविधिहरू अपराध हुन्। महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाइने, शारीरिक र मानसिक यातना दिनेलगायत क्रियाकलाप आजको दिनसम्म रोकिएको छैन। बोक्सी प्रथाविरुद्ध कानून नभएको होइन तर बोक्सी आरोपमा महिलाहरूमाथि हुने हिंसाको ग्राफ दिनानुदिन बढ्दो देखिन्छ। यससको तथ्य दैनिक प्रकाशित, प्रसारित हुने समाचारहरूले बताउँछन्।
बोक्सीको आरोपमा शारीरिक-मानसिक यातना पाउनेमा महिला, त्यसमा पनि सीमान्तकृत महिलाको संख्या उच्च देखिन्छ, जसलाई केही उदाहरणले प्रष्ट पार्छन्। २७ फागुन ०७४ मा कैलाली घोडाघोडी-५ की १८ वर्षीय राधा चौधरीलाई भोलेबाबा भनिने स्थानीय रामबहादुर चौधरीले बोक्सीको आरोप लगाए। त्यसपछि राधालाई करिब पाँच घण्टासम्म रामबहादुर, पार्वती चौधरी र किस्मती चौधरीले निर्घात कुटपिट गरे। राधालाई एक्लै बन्द कोठामा कुटपिट गरिएको थिएन। उनलाई शिक्षित भनिएको समाजको बीचमा कुटिएको थियो, जसको तस्बिर र भिडियोसमेत सार्वजनिक गरिएको थियो।
यस्तै, २७ जेठ ०७७ मा सप्तरी महादेवा-४ परसाहीकी मञ्जुदेवी सदालाई उनकै आफन्तले ‘बोक्सी मन्त्र लगाई नातिनी मारेको’ आरोपमा कुटपिट गरे। फलामले टाउकोमा हानेपछि उनले प्रहरीमा जाहेरी दर्ता गर्ने कोशिस गरिन् तर प्रहरीले जाहेरी लिन मानेन। बरु, पञ्चायत बसेर मिलापत्रका लागि दबाब दियो।
बोक्सीकै आरोपमा महोत्तरी सम्सी गाउँपालिका- ७ जावेद टोलकी ४५ वर्षीया पवनदेवी यादवलाई सोही गाउँका दिनेश यादव र उनकी श्रीमती सुजिया देवी, छोराहरू कृष्ण यादव, आशिक यादवलगायतले मिलेर कुटपिट गरे। सामूहिक कुटपिटपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो।
यस्तै, २७ भदौ ०७७ मा सिरहा कुर्सन्डीस्थित नवराजपुरकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष, पशुपति तथा देवनाथ यादव, कृष्ण यादव र ब्रह्म यादवलगायतले निर्घात कुटपिट गरे। बोक्सीको आरोपमा कुटपिटबाट गम्भीर घाइते मूर्तिदेवी उपचारपछि पनि पहिलाजस्तो अवस्थामा फर्किन सकेकी छैनन्। बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना दिइएका यी पछिल्ला उदाहरणहरू हुन्।
यी उदाहरण दुर्गम बस्तीका हुन्। तर, राजधानी काठमाडौं उपत्यकाकै ललितपुर जिल्ला, जहाँ शिक्षित, अनुशासित समाज भएको विश्वास गरिन्छ र त्यस्तो समाजले अन्धविश्वास मान्दैन पनि भनिन्छ, त्यहीँकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात पिटियो।
ललितपुर महालक्ष्मी-६ गँसी लुभुकी सुष्मा श्रेष्ठ महर्जनलाई श्रीमान् जितेन्द्र श्रेष्ठका सानोबुबा नाता पर्ने दीपेन तामाङ भनिने दीपेन्द्रकुमार थिङको कोठामा झारफुक गर्न भनी लगियो। त्यसपछि सुष्मालाई बोक्सी आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइयो। श्रीमान् जितेन्द्र र धामी भनिने थिङले चरम शारीरिक र मानसिक यातना दिए।
जो महिला गरिब र बेसहारा छन्, उनीहरूलाई नै ‘बोक्सी’ आरोप लगाउने कुप्रथा कायम छ। अन्य रिसरागको बदला लिन पनि बोक्सीको आरोप लगाउने प्रचलन मौलाउँदै गएको पाइन्छ। महिला हिंसाको चरम रूप हो, बोक्सी प्रथा। समाजमा रहेका उत्पीडित समुदायका गरिब, अशिक्षित, एकल र वृद्धामाथि यस्तो आरोप लगाइन्छ। सामाजिक बहिष्करणमा परेका तथा आफ्नो हक र अधिकारका विषयमा बोल्न नसक्ने महिलाहरूलाई बोक्सी आरोप लगाएर शारीरिक, मानसिक यातना दिँदै हत्यासम्म गर्ने आपराधिक प्रवृत्ति समाजमा कायम छ।
राज्यका निकायसम्म पहुँच नभएका महिलाहरू यसमा पीडित बन्दै आएका छन्। जो राजनीतिक दलमा आवद्ध छैनन्, समाजका अगुवा वा ठालु भनिएकासँग कुनै सम्बन्ध छैन, त्यस्ता महिलालाई समाजमा बोक्सीको आरोप लगाई अमानविय व्यवहार गरिएको पाइन्छ। आजको दिनसम्म पनि लैंगिक तथा जातीय आधारमा महिलालाई बोक्सीको नाममा हत्या गरिने कुप्रथा कायमै रहनुले देशको कानून कार्यान्वयनको अवस्था झल्काउँछ।
आफ्नो आलेख ‘प्रश्नको संहार : बोक्सीको पुनरुत्पादन’मा लेखक सरिता परियार लेख्छिन्, ‘बोक्सी प्रथा त्यस्तै कल्पनाभन्दा पनि डरलाग्दो अभ्यास हो, उत्पीडनको एउटा स्वरूप हो।’ बोक्सी प्रथा र जातप्रथाको अन्तरसम्बन्ध बाहिरी सतहमा देखिएको जस्तो पातलो र सामान्य छैन। बोक्सी प्रथाको सम्बन्ध राज्यसँग सीधा छ र राज्य जातिवादी छ। किनभने राज्यले लामो समयदेखि आफू धामी बन्दै उत्पीडितहरूलाई बोक्सी बनाउँदै आएको छ। त्यसलाई समाजमा धार्मिक पुण्यका रूपमा स्थापित गर्न खोजिए पनि त्यसको प्रतिरोध भएकै छ। आफूलाई मन पर्ने र नपर्ने अवधारणालाई जनाउन निश्चित प्रकृतिका चित्र, भाष्य वा कथन बनाउँदै लगिन्छ र त्यस्तै मौलिक चरित्रको अभ्यासको स्वीकारोक्ति पनि।’
‘बोक्सी’ प्रथा एक दण्डनीय अपराध, तर जनमानसमा छैन ज्ञान
बोक्सी प्रथा शक्तिविहीन मानिसहरू माथि लगाइने झुटो लाञ्छना रहेको अधिवक्ता विष्णुमाया भुसाल बताउँछिन्। नेपाली समाजमा संकुचित मानसिकता भएका मानिसहरू रहेकाले बोक्सीसम्बन्धी अन्धविश्वास यथावत रहेको उनको भनाइ छ। असहाय, गरिब, वृद्धा, एकल महिला, जो प्रतिकार गर्न सक्दैनन्, त्यस्ता महिलालाई बोक्सीको आरोप लगाइने उनी बताउँछिन्।
उनका अनुसार बोक्सीको नाममा पुरुषको केस निकै कम आउँछन्। बोक्सीसम्बन्धी कानून बनाइए पनि जनमानसमा चेतना जगाउन नसक्दा बोक्सी प्रथा यथावत रहेको उनको विश्लेषण छ। ‘बोक्सी भन्ने एउटा मिथ हो, सत्य होइन भन्ने जनचेतना जगाउन सकेका छैनौँ,’ उनी भन्छिन्, ‘०७१ सालमा बोक्सीसम्बन्धी कानून बनाइएको छ। तर, दूरदराजका गाउँसम्म जनचेतना पुर्याउन सकिएको छैन।’
बोक्सी प्रथाको दर्दनाक रूप तराई मधेशमा देख्न सकिने उनी बताउँछिन्। तराई मधेशका मधेशी दलित महिलाहरू यस्तो कुप्रथाबाट सबैभन्दा बढी पीडित रहेको उनको भनाइ छ। ‘शिक्षा, जनचेतना, अधिकार र हकबाट वञ्चित गरिएका र समाजको पिँधमा पारिएका मधेशी दलित महिलाहरू बोक्सी प्रथाको हिंसाको शिकार बनेका छन्,’ उनी भन्छिन्, ‘यो कुप्रथा अन्त्यका लागि कानून बने पनि चेतनाको स्तर अत्यन्त न्यून देखिन्छ। हामीले कानून बनायौँ तर आम मानिसबीच बोक्सी भनेको हुँदैन, यो अन्धविश्वास हो भन्ने चेतना जगाउनु आवश्यक छ।’
बोक्सीको आरोपमा मधेशी महिलाहरू समस्यामा रहेकाले स्थानीय भाषामै चेतनामुलक सामग्रीहरू पुर्याउन आवश्यक देखिन्छ। किनकि, देहातका बासिन्दालाई अन्य भाषा बुझ्न कठिन हुन्छ।
खासगरी, पछाडि पारिएको र चेतनाको स्तर न्यून भएको समुदाय, शिक्षामा पहुँच नभएका वर्गका मानिसहरू माझ बोक्सी प्रथाविरुद्ध जागरण र अभियानहरू चलाउन सकिएमा महिलामाथि यस्तो क्रुर हिंसा कम हुने उनको बुझाइ छ। अधिवक्ता भुसाल भन्छिन्, ‘हामीले कानून बनायौँ तर सीमित मानिसले मात्र कानूनको जानकारी पाए। जुन समुदाय बोक्सी प्रथाबाट समस्यामा छ, जुन समुदायका महिला यस प्रथाबाट समस्यामा छन्, त्यो वर्ग समुदायका मानिसमाझ चेतना पुर्याउन सकेनौँ।’
कुनै पनि राज्य तीन किसिमको कानूनबाट निर्देशित हुने लेखक भोला पासवान बताउँछन्। उनका अनुसार मानिसले सबैभन्दा मान्ने स्थानीयस्तरको सामाजिक कानून हो। समुदायले आफ्नो परम्परा र संस्कृतिअनुसारको सामाजिक कानून मान्ने विश्वास गर्नेहरूको जमात ठूलो रहेको उनको भनाइ छ। दोस्रो- राज्यका प्रतिनिधिहरूले बनाएको नियम, कानून र तेस्रो- अन्तर्राष्ट्रिय कानून। पासवान भन्छन्, ‘राष्ट्रिय कानून, देशको मूल कानूनमा बोक्सी प्रथा हटेको भए पनि त्यसको प्रभाव समाजमा आजको दिनसम्म बाँकी नै छ।’
कानूनको विषयमा गाउँ-गाउँमा जनचेतना नपुगेको उनको ठहर छ। देशको मुल कानूनको प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेकाले नै यस्तो कुप्रथा कायम रहेकामा द्विविधा छैन। राज्य र कानूनसम्म कुनै सम्बन्ध नभएका निमुखा महिलालाई बोक्सीको आरोप लगाई समाजबाट अलग्याइएको उनको भनाइ छ।
समाजमा पुनःस्थापित हुन अझ चर्को
कैलालीकी मुनीदेवी दमाई ४० वर्षकी थिइन्, जतिबेला उनलाई बोक्सीको आरोप लगाइयो। ०५९ सालको एक दिउँसो उनी गहुँ काट्न जाँदै थिइन्, बाटोमा रोकेर छिमेकीले एकछिन् कुरा गर्नुछ भने। मुनीदेवी त्यहीँ उभिएकी थिइन्, एक्कासी उनको टाउकामा भाटाले हिर्काए, उनी त्यहीँ ढलिन्। अर्धचेत भई लडेकी मुनीदेवीलाई तँ बोक्सी भन्दै अपशब्द बोल्दै निर्घात पिटियो। उनको मुखमा दिसा कोच्याइयो। उनी बेहोस भइन्। करिब १५ दिनको अस्पतालको बसाइपछि उनी सामान्य अवस्थामा फर्किएकी थिइन्।
दलित महिला संघ (फेडो) का अनुसार ०७७ सालमा चारजना दलित महिलालाई बोक्सीको आरोपमा लगाउँदै कुटपिट गरिएका मुद्दा दर्ता भएका छन्। खासगरी प्रदेश-२ मा बोक्सीको आरोपमा हिंसामा पर्नेहरू बढी रहेको संघका महासचिव रेनु सिजापती बताउँछिन्। गरिब, दलित र बेसहारा महिलालाई बोक्सी आरोप लगाइने गरेको पाइएको उनी बताउँछिन्। राजनीतिक र सामाजिक पहुँच नभएका समुदायका महिलाहरूलाई बोक्सीको आरोप लगाइएको अनुसन्धानहरूमा पनि खुलेको छ।
बोक्सी आरोपमा अमानवीय यातना बेहोरेका महिलालाई उपचारपछि समाजमा पुनःस्थापना गराउन अझ समस्या रहेको सिजापति बताउँछिन्। भन्छिन्, ‘सम्मानजनक जीवन बाँच्न नपाउने, निरन्तर हेला गर्ने गरिन्छ। बोक्सीको आरोप लागेका महिलाका सन्तानलाई समेत समस्या पर्छ।’
समाजबाट एक्ल्याउने, आरोपित महिला बस्ने स्थानमा कोही नजाने, सामाजिक क्रियाकलापमा सहभागी नगराउने प्रवृत्ति निरन्तर रहने गरेको उनी बताउँछिन्। बोक्सी आरोपित महिलाका छोराछोरीको बिहेबारीमा समस्या हुने गरेको छ। उनीहरूका साथीभाइ पनि कोही हुँदैनन्। र, उनीहरूलाई असामाजिक बनाइन्छ।
अधिवक्ता भुसाल पनि बोक्सी आरोपमा यातना भोगेका महिलाले समाजमा सम्मानजनक जीवन बाँच्न नसक्ने अवस्था कायम रहेको बताउँछिन्।
बढ्दो छ अमानवीय आरोप र दुर्व्यवहार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पछिल्लो ६ वर्षको तथ्यांकअनुसार सन् २०१५ मा ११, २०१६ मा १४, २०१७ मा नौ, २०१८ मा २०, २०१९ मा १४ र २०२० मा २४ जना गरी ९२ जना महिलाले बोक्सीको आरोपमा कुटपिट र अमानवीय व्यवहार खेप्नुपरेको छ।
कतिसम्म भने आफूमाथि अमानवीय आरोप लगाउँदै शारीरिक, मानसिक यातना दिइएकोविरुद्ध उजुरी लिएर प्रहरी कार्यालय पुगेका महिलालाई प्रहरीले उजुरी नै दर्ता नगरी फर्काएका धेरै उदाहरण छन्। उल्टै प्रहरीले नै मिलापत्रका लागि दबाब दिने गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार समग्र महिला हिंसाको तथ्यांक राखिन्छ तर बोक्सी आरोपका घटनाको छुट्टै तथ्यांक नै राख्ने गरिएको छैन।
बोक्सी प्रथामा दक्षिण एसियाका मुलुकमध्ये नेपाल तेस्रो स्थानमा छ। बोक्सी प्रथाबाट भारतका महिला सबैभन्दा बढी प्रताडित छन्। भारत झारखण्डको राँचीमा पर्ने एक गाउँमा बोक्सीको आरोपमा पाँच महिलाको हत्या गरियो। ८ अगस्ट २०१५ राति ती महिलाहरूलाई घरबाट बाहिर निकालेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
यस्तै, २२ जुलाई २०१५ मा आसाम शोणितपुर जिल्लाको एक आदिवासी क्षेत्रमा बोक्सी आरोपमा ६३ वर्षीय वृद्धा महिलाको हतियारधारी गाउँलेको जत्थाले घाँटी रेटेर हत्या गर्यो। गाउँका केही मानिस बिरामी परेपछि ती वृद्धामाथि बोक्सी लागेको अमानवीय आरोप लगाई हत्या गरिएको थियो।
कानून छ, कार्यान्वयन कठिन
अधिवक्ता भुसालका अनुसार त्यसरी अमानवीय आरोप र यातना दिनेहरू विरुद्ध ‘बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन, २०७२’ लागू हुन्छ। कसैलाई बोक्सी वा बोक्साको आरोप लगाएमा आरोपितलाई क्रुर र अमानवीय व्यवहार गरेको, शारीरिक, मानसिक यातना दिइएको पाइएमा ६ महिनादेखि आठ वर्षसम्म कैद तथा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। यस्तै, सार्वजनिक पदमा बसेको व्यक्तिले कसुर गरेमा २५ प्रतिशत थप सजाय हुने ऐनमा उल्लेख छ। क्षति भएबराबर क्षतिपूर्ति र उपचारमा लाग्ने सम्पूर्ण खर्च पीडकले बेहोर्नुपर्ने कानूनी व्यवस्था छ।
तर, कानूनको यही व्यवस्था स्थानीयस्तरसम्म बुझाउन नसक्नु नै मुख्य कमजोरी रहेको अधिवक्ता भुसाल बताउँछिन्। बोक्सी प्रथालाई अन्त्यका लागि विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गरेर जनचेतना बढाउनुपर्ने उनी सुझाउँछिन्। विद्यालयमा बाल क्लबलाई नै गाउँमा परिचालन गरी बोक्सी प्रथा एक अन्धविश्वास हो भनेर अभियान सञ्चालन गर्न सकिने उनको भनाइ छ।