‘टेल अफ अ सिटी’ : चित्रले बोल्छन् ४० वर्षअघिको सहरको कथा
बच्चैदेखि सुन्दै आएका कथालाई कलाकार सुजन डंगोल दैनिक जीवनका अभिन्न अंग मान्छन्। सोही कारण उनले आफ्नो प्रदर्शनीको नाम ‘टेल अफ अ सिटी’ अर्थात् ‘सहरको कथा’ राखेका छन्।काठमाडौं, कात्तिक २२ : बबरमहलस्थित दुईतले सिद्धार्थ आर्ट ग्यालरीका भित्ता रंगिएका छन्। तर, ती रंग साविकका प्रदर्शनीका रंगभन्दा केही भिन्न अनि परिष्कृत छन्। कालो मसी र पेनले पोतिएका ती एकनासे रंग सादा लागे पनि आनन्ददायक छन्।
केवल पेन र इन्क (कालो मसी) मा कोरिएका करिब २४ वटा कलाकृतिले जो कोहीलाई ‘टाइम ट्राभल’मा लैजान्छन्। ती सिर्जनाले करिब ४० वर्षअघिको कला, संस्कृति अनि एउटा सहरको कथा व्यक्त गरिरहेका छन्। सहर अर्थात् काठमाडौं उपत्यका। प्रदर्शनीको नाम जुराइएको छ, ‘टेल अफ अ सिटी’ अर्थात एउटा सहरको कथा। नेपाल भाषामा दया बाखँ।
०००
जाडो महिनाको पारिलो घाम। पारिलो घामकै कारण लस्करै सुरिलो संरचनामा धेरै परसम्म घरको छतमा बाफिँदै गरेको शीतको परिदृश्य। कलाकार सुजन डंगोलको मानसपटलमा अमिट छापका रूपमा बसेको छ, यो दृश्य। त्यसका लागि भने उनलाई ‘मीन पचास’को बिदा पर्खिनुपर्थ्यो।
‘मीन पचास’ अर्थात् जाडोयाममा पाइने ५० दिन लामो बिदा। २० मंसिरदेखि १० माघसम्मको छुट्टिलाई ‘मीन पचास’ नाम दिइएको छ। यो समय माछालाई समेत जाडो हुने र पानीको पिँधमा गएर बस्ने जनविश्वास छ।
‘मीन पचास’को समयमा आनन्दले घरमा नुहाइधुवाइ गरी बुइँगलमा लस्करै बच्चाबच्चीहरूलाई सुकुलमा बसाएर खाना खुवाइन्थ्यो। बुइँगलको सानो झ्यालबाट सुरिलो अनि लस्करै परपरसम्म देखिने घरका छत कलाकार डंगोलको मानसपटलमा अझै पनि सचित्र बसेको छ। किनकि, त्यो उनको पनि बाल्यकालको स्मृति हो।
‘मेरो यस प्रदर्शनीको ऊर्जा नै यही हो,’ डंगोल भन्छन्, ‘त्यसबेला एउटै संरचनामा सुरिला देखिने घरहरू हाल ठूल-ठूला भवनमा परिणत भइसकेका छन्।’
बाल्यकालको आफ्नो भोगाइ र देखेका ती दृश्य अनि आत्मसात गर्नुपरेको वर्तमानको परिवर्तनबारे चित्रमार्फत कथा भर्ने जर्मेको गरेका छन्, डंगोलले।
०००
बच्चैदेखि सुन्दै आएका कथालाई उनी दैनिक जीवनका अभिन्न अंग मान्छन्। र, उनलाई ती कथा अझै पनि प्रभावशाली लाग्छ। सोही कारण उनले आफ्नो प्रदर्शनीको नाम नै ‘टेल अफ अ सिटी’ अर्थात् ‘सहरको कथा’ राखेका हुन्। करिब २४ वटा कलाकृति ‘भिजुअल स्टोरी टेलर’ हुन्। ती २० कलाकृति कथाकार हुन्। ४० वर्षको अवधि एउटा सहर अनि सहरको फेरिएको संरचनाबारे ती कलाकृतिले सचित्र वर्णन गर्छन्।
सन् २००२ देखि नेपालका बस्दै आएका बेलायती लेखक-पत्रकार थोमस बेलले लेखेका छन्, ‘पहिले मानिसहरू एकअर्कोलाई कथाले बाँध्थे, डराउँथे, नैतिकतातर्फ डोर्याउँथे।’ पक्कै पनि कथा एउटा यस्तो शक्तिशाली माध्यम हो, जसले मानिसलाई बिनातथ्य विश्वास र विचारमा सम्मिलित गराउँछ। लामो समयदेखि सुन्दै आएको दन्त्य, लोक, भूतप्रेत, पिचासका कथाले पुस्तौँपुस्तालाई बाँधेका, डोर्याएका थिए। सोही विचारमा सहमत छन्, कलाकार डंगोल पनि। त्यसैले त उनी सिर्जनामार्फत कथा भन्न तत्पर छन्। समाज, सभ्यता र आर्किटेक्चरका परिवर्तनका कथा भन्छन्, उनका चित्रकृतिले।
कला र संस्कृतिबीचको लगावबाट डंगोल अछुतो रहेनन्। त्यससँगै अनजानमै उनी जोडिए आर्किटेकको ज्ञान हासिल गर्नतिर। ४० वर्षको अवधिमा माटाका घर ढलानमा परिणत भए। काष्ठकलायुक्त झ्याल र दलिन सिसा र आल्मुनियममा परिणत भए। प्यागोडा शैलीका तीनदेखि चारतले घर गगनचुम्बी महल र अर्पाटमेन्टमा बदलिए।
बुइँगलको झ्यालबाट अब उनी ती पुराना प्यागोडा शैलीका परिदृश्य देख्न पाउँदैनन्। गल्ली देख्दैनन्। यस्ता शैली, जसलाई वर्तमानमा ब्युँताउन कठिन छ। ती सबै संरचनालाई उनले आफ्नो कलामा ब्युँताएका छन्।
डंगोल भन्छन्, ‘ती कालका आफ्ना स्मृतिलाई ब्युँताउने उपयुक्त माध्यम मैले आफ्नो कला ठानेँ अनि आफ्नो स्मृतिलाई उतारेँ पेन्टमा।’
उपत्यकाकै रैथाने नेवार समुदाय आफैँमा कलाकृतिका लागि समृद्ध छ। उनी पनि त्यही समुदायकाको हुनुको परिणति दिन्छन्, उनका चित्रकृतिले। तथापि, यो चेतना उनमा १५ वर्षअघि मात्र आएको हो।
सहरको कथा
४० वर्षको अवधिमा एक मानिसले आफू बसेको सहरलाई कस्तो पाउँछ ? उसको स्मृतिमा सहरका के कुरा बस्छन्, के धमिलिँदै जान्छन्? सोही विषयको एक भिजुअल कथा मान्छन्, उनी यस प्रदर्शनीलाई।
सहरको परिचय उनी कालोपत्रे गरिएका फराकिला बाटा, अग्ला भवन र कोलोनीलाई मान्दैनन्। उनका लागि सहरको परिचय केही भिन्न अनि अर्गानिक छ।
भन्छन्, ‘सहर, बन्नका लागि भाषा, संस्कृति आवश्यक पर्छ। एउटा सहर बन्न लागि ५-६ सय वर्ष लाग्छ। कोलोनी बन्दैमा, सडक बन्दैमा सहर बन्दैन।’ भाषा, कला, संस्कृति, कृषि र पर्यावरण सबै कुराले सहरको मानक स्थापना गर्ने उनको तर्क छ।
लेखक-पत्रकार बेलले आफ्नो पुस्तक ‘काठमाडौं’मा लेखेका छन्, ‘एसियाली मुलुकहरूमा पुराना (एन्टिक) चिजहरूलाई सुन्दर मानिँदैन, जुन पश्चिमा मुलकका अलौकिक र मूल्यवान् मानिन्छन्।’
उनका अनुसार पहिले घरहरूको संरचना तीन तला वा त्यसभन्दा माथि थिएन। सबैभन्दा माथि शुद्ध मानिने स्थानमा पूजा तथा भान्छा हुने गर्थे। भुइँतलाई पसल र अन्य प्रयोजनमा प्रयोग गरिन्थ्यो। दोस्रो वा तेस्रो तलासम्म सुत्ने कोठा र ‘लिभिङ रुम’ अनि सबैभन्दा माथिल्लो तल्लालाई बुइँगल भनिन्थ्यो।
कलाकार डंगोल आफ्नो स्मृति वर्णन गर्छन्, ‘हाम्रो आर्किटेक्ट शैलीमा चार तलाभन्दा माथिका तलाका लागि कुनै शब्द नै निर्माण भएको छैन। घरको संरचना नै तेस्रोदेखि चौथो तलासम्म हुने कारण पनि बस्तीहरू सुन्दर देखिन्थे।’
धर्म, संस्कृति र सभ्यता
एउटा कमलको फूल छ। फूलमाथि झुरुप्प बस्ती छन्। बस्तीमाथिबाट थरिथरिका सर्प फँणा फिजाउँदै चलायमान भएको प्रतीक देखिन्छ। बीचमा घेरिएका भगवान् कृष्ण एक-एक गरी सर्पहरूलाई परास्त गर्न लागिपरेका छन्।
सोही पेन्टको दायाँतर्फ भगवान् विष्णुको कल्की अवतार घोडामा आकाशमा उड्दै बस्तीनजिक आएको दृश्य कोरेका छन्। सोही पेन्टकै लस्करमा बराह अवतारको दाह्रामा बस्तीलाई अड्याएका छन्। बराहको मुनि क्रमश: माछा, सर्प, कछुवा, योगिनी र मुसा छन्।
‘म धर्म बुझ्दिनँ, मिथकमा भने आस्था राख्छु,’ उनी भन्छन्, ‘कारण- त्यो मेरो चिनारी हो। कालचक्रमा विनाशकारी हुँदै आएको सभ्यता र कालान्तरमा विकृतिलाई विध्वंश गर्न आउने पात्रलाई मैले कल्की र कृष्णमार्फत दर्साउन खोजेको छु।’ मिथकमा उनी आफ्नोपन पाउँछन्।
यद्यपि, त्यसका लागि भगवान् नै प्रस्तुत हुनुपर्ने नभई अन्य स्वरूपमा पनि व्यक्त गर्न सकिने उनको बुझाइ छ। भन्छन्, ‘हाम्रो जीवनमा सुन्दै आएका मिथकलाई नै केही हदसम्म ‘रिलेट’ गर्न धार्मिक पात्रको चयन उपयुक्त लाग्यो।’
उनी कलाभन्दा जीवनलाई प्राथमिकतामा राख्ने गर्छन्। त्यसैले दैनिक जीवनका कथालाई नै कलामा प्रयोग गरेका छन्।
उनको प्रत्येक कलाका आधारशीला नै हुन्, नेवा: बस्ती। बस्ती अर्थात् परबाट देखिने झुरुप्प घरहरू। थोरै बाटाघाटा अनि ढोकाहरू। कतिपय कलाभित्रका बस्तीको माथि घण्ट देख्न सकिन्छ त कुनैमा चैत्य। अनि कतै राजाका स्तम्भ। कतिपय कलामा भगवान् गणेश, कृष्ण, कल्की आदि कोरिएका छन्। कतिपय कलामा भने बस्तीका माथि अन्य पात्र छन्। जस्तै- कल्की, कमलको फूल, कृष्ण अवतार।
यस्तै, उनको कलाकृतिको अर्को विशेषता हो, बस्ती सुन्दर अनि पर्फेक्ट नहुनु। कतै घरका छाना भत्किएका छन् त कतै झ्याल बिग्रिएका छन्। कुनैमा दलिन छैन। काठमा ढाँचा मात्र ह्वांग छन् कतै।
एक त रंगीन नभएको चित्रकला, त्यसमा पनि भाँचिएको वा बिग्रिएको देखेका कारण नै उनले उक्त समयलाई प्रतिविम्बित गरेका हुन्।
‘म आफैँले देखेको छु। त्यसताका घरहरू पूर्ण हुँदैनथे तर पनि सुन्दर देखिन्थे। मौलिकताकै कारण। परबाट देख्दा मन आनन्दित हुन्थ्यो,’ उनी भन्छन्।
स्मृति भएकाले पनि रंगीचंगी नगरिएको उनले दर्शकलाई बताउने गरेका छन्। तथापि, रंगको प्रयोग निकै कम गर्ने उनको स्वभाव नै हो। कम रंगको प्रयोगले कलालाई अझ रंगिन बनाउने उनको बुझाइ छ। हरेक प्रकारको पर्यायवरणमा यस्ता रंग सजिलै ढल्ने उनी बताउँछन्।
दरबार क्षेत्र परिसरमा प्रवेशका लागि बनाइने विभिन्न ढोका पनि उनको कलाकृतिका सुन्दर पक्ष हुन्। यद्यपि, प्रदर्शनीमा रहेका कलाकृतिमा उनले उपत्यकाका दरबार क्षेत्रलाई प्राथमिकताका साथ राखेका छैनन्, कहीँकतै बस्तीमाझ लुकाइदिएका छन्।
‘दरबार स्क्वायरजस्ता क्षेत्र मेरो विचारमा पर्यटकीय सम्पदा हुन्, जसको संरक्षणका लागि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय निकाय छन्,’ उनी भन्छन्, ‘तर, नेवा: बस्ती, जुन खास अर्थमा अर्गानिक सम्पदा हुन्। तिनमा भने निकायविशेषको ध्यानाकर्षण भएको उनको छैन।’
सुकुल र कृषिको कथा
उनका हरेक कलाकृतिमा छुटेको छैन, सुकुल। बनाएका कलाको बीच, कुनाकाप्चा कतै पनि उनले खाली स्थान राखेका छैनन्। समानान्तर रेखाजस्तो देखिने दर्का सुकुल भएको संकेत उनको छ। उनका अनुसार पहिले धानखेती हुन्थ्यो। धानबाट पराल आउँथ्यो, सोही परालबाट सुकुल बन्थे।
सुकुल स्वागतको संकेत थियो। घरमा पाहुना आउँदा होस् वा कुनै सार्वजनिक स्थानका फल्चामा बस्नका लागि सुकुल बिछ्याइएको हुन्थ्यो। धान रोप्नु मानव जीवनको खाद्य परिपूर्तिका लागि मात्र नभई जीवनशैलीको एक क्राफ्टको रूपमा पनि देख्छन् उनी।
तथापि, विकाससँगै कृषिको विस्थापन अनि विस्थापित भएको हार्दिकता अनि क्राफ्टको कथालाई निकै सूक्ष्म अनि चलाखीपूर्ण तरिकाले कलाकार डंगोलले प्रस्तुत गरेका छन्।
‘कृषिले खाद्यान्न मात्र नभई कला अनि संस्कृतिका लागि पनि भिन्न आयाम दिन्छ,’ उनी भन्छन्।
सुकुलविशेष कलाका लागि उनी आफ्नी जीवनसाथी शर्मिला श्रेष्ठबाट विशेष प्रभावित छन्, जो आफैँ पनि एक कलाकार हुन्। सुकुलबाट विभिन्न कलाकृति सिर्जना गर्नु उनको विशेषता हो। प्रदर्शनीको एक कुनामा उनको कलाको जादु पनि देख्न पाइन्छ।
सुकुलको ‘टच-अप’ दिने क्रममा उनले गोलाकारको खाली स्थान पनि पेन्टिङमा राखेका छन्। प्रदर्शनी हेर्न आएका कतिले त्यसलाई सूर्यको रूपमा बुझ्छन्। कतिले भने चन्द्रमाको रूपमा बुझ्छन्। कतिले भने ‘भोइड’ अर्थात् शून्यताको प्रतीक पनि मान्ने गरेका छन्।
कलाकार डंगोलले भने उक्त गोलाकारलाई आफ्नो फाइनल ‘टच-अप’को संज्ञा दिन्छन्। आफ्नो सिर्जना पूर्ण हुँदा उनको मनमा बिछट्टै ऊर्जा प्राप्त हुन्छ रे। सोही ऊर्जालाई उनी भोइडसँग तुलना गर्छन्। भन्छन्, ‘मेरा लागि भने उक्त भोइड नै मेरो ऊर्जा हो, काम सक्दाको फिनिसिङ वा फाइनल टचअप।’
दर्शकका लागि उक्त भोइड पेन्टिङको सुरु या अन्तिम विन्दु हुने उनी मान्छन्। उनका अनुसार पेन्टिङ हेर्दा कहाँबाट सुरु गर्ने र अन्त्य गराउने भन्ने भोइडमा निर्भर हुन्छ।
२०३० सालपछि नै हो काठमाडौं उपत्यकामा जनघनत्त्व बढ्दै गएको पनि। तर, त्यसमा मलजल माओवादीको सशस्त्र द्वन्द्वले गर्यो। अन्य जिल्लाका बासिन्दाका लागि उपत्यका सुरक्षित स्थानका रूपमा सोही समयमा देखियो। अनि त उपत्यकामा जनघनत्त्व ह्वात्तै बढ्यो। परिवर्तन पनि सोही कारणले गरायो।
प्रदर्शनीमा रहेका उनका कलाकृति ‘मिनी मलिस्टिक’ आर्टमा पर्छन्। आफ्नो आर्टलाई उनी ‘ड्रामाटिक’ संज्ञा दिन्छन्। पेन्टिङमा रहेका तत्त्व थोरै भएजस्तो थोरै नभएजस्तो हुनुलाई ड्रामाटिक आर्ट भनिने उनी बताउँछन्।
उनी कला प्रदर्शनी, म्युजियम, ग्यालरी, लाइब्रेरी, सपिङ मल, सिनेमा हलभन्दा बढी घुम्न जोड दिन्छन्। प्रदर्शनी २९ अक्टोबरबाट सुरु भई २९ नोभेम्बरसम्म जारी रहनेछ।
साँखुका रैथाने उनी बाजेको पालामा काठमाडौं सबल बहालमा सपरिवार बसाइँ सरे। तर, उनको बाल्यकालदेखि युवावस्था भने पाटनको ओकु बहालमा बित्यो। कलाकारिताको मौलिक नगर काठमाडौं र पाटनबारे उनी उत्तिकै जानकार छन्। डंगोलको बाल्यकालको सम्झना कोरिएको सुन्दर स्वरूप हो, सहरको कथा अर्थात् देशा बाँख।