Kathmandu Press

साइकलमा सरर ‘एभरेस्ट थ्री पासेस’

 ‘एभरेस्ट थ्री पासेस’ अर्थात् रेन्जोला (५,३६० मिटर), चोला (५, ४२० मिटर) र कोङ्माला पास (५,५३५ मिटर) पार गर्ने पहिलो साइकल यात्री बनेका छन्, साइक्लिस्टद्वय दीपक श्रेष्ठ र सुनिल तन्डुकार । उनीहरूले ५-१९ कात्तिकमा १६ दिन लगाएर तीनवटै पास पार गरेका हुन् ।
साइकलमा सरर ‘एभरेस्ट थ्री पासेस’

काठमाडौं, २२ कात्तिक : ‘एभरेस्ट थ्री पासेस’ अर्थात् रेन्जोला (५,३६० मिटर), चोला (५, ४२० मिटर) र कोङ्माला पास (५,५३५ मिटर) पार गर्ने पहिलो साइकल यात्री बनेका छन्, साइक्लिस्टद्वय दीपक श्रेष्ठ र सुनिल तन्डुकार । उनीहरूले ५-१९ कात्तिकमा १६ दिन लगाएर तीनवटै पास पार गरेका हुन् ।

सोलुखुम्बूको खुम्बू क्षेत्रमा कालापत्थर र एभरेस्ट बेसक्याम्प गरी पाँचवटा पास छन् । उनीहरूले तीनवटा पास साइकलमा पार गरेर कीर्तिमान बनाएका छन् ।

स्वदेशी-विदेशी कसैले पनि यी पास साइकलबाट पार नगरेको स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै श्रेष्ठले बताए । लुक्लाबाट सुरु भएको उनीहरूको साइकल यात्रा एभरेस्ट थ्री पासेस पार गरी पाँच हजार तीन सय ३० मिटर उचाइको गोक्योमा आएर पूरा भएको थियो । सोही क्रममा सगरमाथा आधार शिविर र कालापत्थरको पनि माउन्टेन बाइकबाट यात्रा गरेका थिए ।

Hardik ivf

‘एभरेस्ट थ्री पासेस’मा नेपालकै उच्च स्थानमा रहेका तीनवटा पास पर्छन् । ‘यो साहसिक यात्रा थियो । एडभेन्चर भनेको रमाइलोभन्दा पनि च्यालेन्जिङ हुने गर्छ,’ श्रेष्ठले आफ्नो यात्रा अनुभव काठमाडौं प्रेससँग सेयर गरे, ‘ब्यागप्याक बोकेर हिउँमा साइक्लिङ गर्न सहज भने हुँदैन ।’

पैदल यात्रा गर्न पनि कठिन हिमाली भेगमा साइकल यात्रा निकै गाह्रो हुने उनी बताउँछन् । भन्छन्, ‘यद्यपि, पासको उचाइमा पुग्दा ती सबै कठिनाइ बिर्सिइन्छ ।’

अहिलेसम्मकै साइकल यात्रामा सबैभन्दा गाह्रो उनलाई रेन्जोला पास नै लाग्यो । उक्त पासमा डेढ–दुई फिटसम्म हिउँ जमेको थियो, जहाँ उनले साइकल डोर्‍याउँदै पार गरे ।

तस्बिरहरू : दीपक श्रेष्ठ

‘पासको पिकमा पुग्दा छुट्टै आनन्द हुन्छ । चारैतिर हिमाल र हिउँ देख्दा चुचुरोमा पुग्नका लागि भोगेका कठिनाइ तथा दुःख बिर्सिइन्छ,’ उनी भन्छन् । उनीहरूले दिउँसो दुई बजे रेन्जोला पास पार गरेका थिए ।

दीपक श्रेष्ठ एक्स्ट्रिम एडभेन्चर माउन्टेन बाइक टुर साइक्लिस्ट हुन् । सन् १९८५ मा पहिलोपटक ‘अल नेपाल माउन्टेन बाइसाइकल टुर’ गरेका थिए, उनले । त्यतिबेला नेपाली जनमानसमा माउन्टेन बाइसाइकलको खासै ज्ञान र हेक्का थिएन । सन् २०१ मा पनि उनले  थोरङ्ला पास पार गरेका थिए, साइकलबाट ।

एमेच्योर साइक्लिस्ट तथा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठका अनुसार ‘एभरेस्ट थ्री पासेस’ पार गर्ने दीपक श्रेष्ठ र सुनिल तण्डुकार सम्भवतः पहिलो साइक्लिस्ट हुन् । सन् २०१८ मा दीपक श्रेष्ठ, सिंहबहादुर श्रेष्ठ र सुलोचन राजभण्डारीले मनाङस्थित नार्फु कालंगा पास, तिलिचो ताल हुँदै इस्टर्न पास र मेसोकान्ता पास पार गरेका थिए । १० दिनमा उनीहरूले ती पासहरू पार गरेका थिए । मनाङमा पर्ने यी थ्री पासेस पार गर्ने पहिलो व्यक्तिहरू हुन् ।

कठिन हिमाली पास

दुई पहाड अथवा चुचुराका बीचको रुटलाई पास भनिन्छ । खासगरी, हिमाली भेगका पासहरूमा हिउँ जम्ने भएकाले अत्यधिक चिसो रहनछन् । साहसिक पर्यटनमा रमाउनेहरूका लागि यस्ता पास पार गरेर रेकर्ड राख्ने ध्याउन्न हुने गर्छ ।

यसअघि पैदलयात्रीले मात्र यस्ता पासहरू पार गर्ने साहस गर्थे । पछिल्ला वर्षमा भने प्रोफेसनल साइक्लिस्टले पनि यस्ता पासहरू साइकलमार्फत पार गरेर कीर्तिमान राख्ने गरेका छन् । श्रेष्ठ र तण्डुकारको जोडी तिनैमध्येको हो । नेपालमा स्वदेशी मात्र नभई उच्च हिमाली भेगका पासहरू पैदल या साइकलमार्फत पार गर्न विदेशी पर्यटक पनि लालायित देखिन्छन् ।

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्