सम्झना मनैमा छोडिजानेको
सशस्त्र द्वन्द्वमा एक छोरा र एक छोरीको नृशंस हत्या भोगेका काभ्रे पोखरीचौरी-४ का सुन्तली र कर्णबहादुर रसाइलीको परिवारमा कहिल्यै दसैं तिहार आउँदैन। आउँछ त केवल आँशुको भेल अनि बगाइलान्छ आँशुकै समुद्रतिर।काठमाडौं, कात्तिक २० : रातको ११ बजे गाउँ पूरै सन्नाटामा थियो, छुसुक्क स्याल आए पनि कुकुरहरूले पत्तो दिन्थे। ११ बजेसम्ममा त गाउँलेले दुई निद्रा पुर्याइसक्छन्। सबेरै उठ्नु, दिनभर मेलापात गर्नु, साँझ एक गाँस तातो खान्की खाएर बेलैमा सुत्नु नियमजस्तै हो, गाउँले जीवनको।
११ छोराछोरी जन्माएका काभ्रे पोखरी चौरी-४ का सुन्तली र कर्णबहादुर रसाइलीका तीन सन्तान सानैमा बिते। बाँकी आठमध्ये केही विवाह गरी आ-आफ्नो घरमा थिए, केही भने हुर्कंदै थिए। रसाइली परिवारमा चाडपर्व विशेष हुन्थ्यो, घरभरि छोराछोरी हुन्थे, चाडपर्व त्यसै रमाइलो। दुःख, सुख काम गरेर परिवार पालेका थिए, कर्णबहादुरले। आठ छोराछोरीलाई हुर्काउँदै जीवनको हरेक पाइला चाल्दै थिए यी दम्पती। त्यही समयमा देशमा जनताको शासन ल्याउने भन्दै माओवादीको सशस्त्र विद्रोह चर्केको थियो। कुन बेला को मारिन्छ अनि कसले मार्छ भन्ने निधो थिएन। बिहान हिँडेकाहरू साँझ घर फर्किन्छन् कि फर्किँदैनन, साँझ सारसौंदो सुतेकाहरूले सुनौलो बिहानी देख्न पाउँछन् कि पाउँदैनन् भन्ने निश्चित थिएन।
१ फागुन ०६० राति ११ बजे कर्णबहादुरको जीवनमा बज्रपात पर्यो। त्यो रात सेनाको टोली कर्णबहादुरको घरमा आयो र ढोका ढकढक्यायो।
झ्यालबाट चिहाउँदा उनले थाहा पाए सेना पो रहेछ। यति राति, यति धेरै सेना मेरै घरमा किन आए होलान् ? कर्णबहादुरको मुटु ढुकढुक भयो। सेनाले ढोका ढकढक्याएको परिवारका सबैले थाहा पाएका थिए तर त्रसित मनहरूले सुनेको नसुन्यै गरे। थाह पाएको नपायै गरी सुतेजस्तो गरे। एकछिन् ढोका ढकढक्याउँदा नखोलेपछि सैनिक टोली ढोका फोडेर घरभित्र पस्यो। कर्णबहादुर र सुन्तलीलाई लगलग काम छुट्यो। दुई छोरा छिमेकीको घरमा थिए। घरमा सुन्तली, कर्णबहादुर र उनकी बहिनी, ज्वाइँ र छोरी रिना थिए। रात शान्त थियो तर उनको मनमा ज्वारभाटा उम्लिएका थिए।
त्यो रात सेनाको टोली घरमा पसेर पाहुना आएका कर्णबहादुरका ज्वाइँलाई नियन्त्रणमा लियो अनि केरकार गर्न थाल्यो। कोठामा सुतिरहेकी रिना रसाइली (१७) लाई देखेपछि उनलाई पनि सोधपुछ गर्ने बहानामा नियन्त्रणमा लियो। कर्णबहादुरको मनमा त्यो रात भएजस्तो अशान्ति पहिले कहिल्यै भएको थिएन। त्यस दिनको घटनापछि उनको जीवनमा कहिल्यै शान्ति छाएन।
१७ वर्षकी छोरीलाई सेनाले नियन्त्रणमा लिएपछि कुन बाबु-आमालाई चिन्ता नलाग्ला ? कर्णबहादुर त्यो रात एउटा डरलाग्दो सपना मात्र भए हुन्थ्यो भनी मनमनै कामना गरे। तर, यथार्थ आँखा अगाडि थियो। छोरीलाई सेनाले केरकार गर्नुछ भनी घरबाट बाहिर लग्यो अनि सुरु भयो दुव्र्यवहार र यातना। फूलसरि हुर्काएकी नाबालक छोरीमाथि भइरहेको बलात्कार थाहा पाएर पनि थाहा नपाएजस्तो गरी बस्नुपर्दा ती बाबु-आमाको प्राण कसरी अडियो होला। ती बुवा जो लाचार भई तमासा हेर्न बाध्य पारिएका थिए।
सेनाको टोलीले रिनालाई घरबाहिर लगेर मनपरि दिएको यातना आमा-बाबुले सुनिरहेका थिए। यातना सहन नसक्दा आमा, बुवा भन्दै चिच्याएको चित्कार घरमा भएका सबैले सुने पनि केही गर्न नसक्ने लाचार अनि निरिह अवस्थामा थिए, उनीहरू। ११ बजेदेखि सुरु भएको यातनामय रातका प्रत्येक पल काट्न कष्टकर भयो उनीहरूलाई। श्वाससमेत दबाएर बसेका थिए उनीहरू।
सेनाको टोली रातभर हिंस्रक बनेर रिनालाई मरणासन्न बनायो। सास मात्र बाँकी रहेको थिलथिलो शरीर जिउँदो राखेनन्। छोरीको दर्दनाक अवस्था देखेर आमा सुन्तली अर्धचेत अवस्थामा पुगेकी थिइन् भने बुवा कर्णबहादुर थाप्लोमा हात राखेर रुँदै थिए।
छोरीको चित्कार सुस्ताउँदै गर्दा सेनाले कर्णबहादुरसँग डोरी मागे। बन्दुकको नालमा झिनो जीवन राखेर कर्णबहादुरले डोरी खोजेर दिए। उनलाई थाह थियो, त्यो डोरी छोरीको चित्कार सधैँका लागि रोक्न प्रयोग गरिन्छ भन्ने। तर, उनी लाचार थिए। कर्णबहादुरले डोरी दिएको एकछिनपछि घरपछाडिबाट गोली चलेको आवाज आयो। कर्णबहादुरले दिएको त्यही डोरीले रिनाको शवलाई रुखमा बाँधियो। तर, उनी चुपचाप थिए, छोरीलाई झुण्ड्याइएको उत्तिसको रुखजस्तै। आफूले खाइ-नखाई हुर्काएकी १७ वर्षकी छोरीलाई आँखै अगाडि हत्या गरिँदा पनि चुप रहनुको विकल्प उनीसँग थिएन।
‘आफूले जन्माइ-हुर्काइ गरेको सन्तान बिनाकसुर यातना दिएर आँखै अगाडि कसैले हत्या गर्दा, र उनको शवलाई झुण्ड्याउन आफैँले डोरी दिनुपर्दाको बाध्यता महसुस हामी गर्न सक्दैनौँ,’ गीता रसाइली भन्छिन्, ‘म त्यो समय घरमा थिइँन तर त्यसबेला घरमा भएको घटनाको दृृश्य मैले आमा, बुवा र भाइको आँखामा देखेकी छु।’
घर पछाडिको रुखमा झुण्डाइयो रिनाको शवलाई। उनले लगाएका शरीरका लुगा धुजाधुजा पारिएको थियो, शरीरका अंगहरू क्षतविक्षत थिए। यौनांगबाट रगत बगिरहेको थियो। यो दर्दनाक दृश्य न बुवा-आमाले बिर्सेका छन्, न त रिनाका भाइबहिनीले। चरम यातनापछि पछाडिबाट हानेको गोली अगाडि छातीबाट निस्किएको थियो। त्यो दृश्य भुलाउने कुनै उपाय नभएको गीता बताउँछिन्।
निर्दोषलाई यातना दिई हत्या गरिएकाले तत्काल शव नउठाउने निर्णय भयो। परिवारलगायत सबैले दोषी सैनिकमाथि कारवाही माग गरे। घटना भएको ६ दिनपछि काठमाडौंबाट मानव अधिकारकर्मी र पत्रकारहरू उपस्थित भई रिपोर्टिङ गरेपछि रिनाको अन्त्येष्टि गरियो।
झस्काउने तिहार
हरेक वर्ष दसैं आउँछ, तिहार आउँछ, मानिसहरू हर्षोल्लास मनाउँछन्। तर, रसाइली परिवारमा त्यो उल्लास भित्रिँदैन। ०५८ सालमा रिनाका दाइ सुरेन्द्र रसाइली सेना र माओवादीको भिडन्तमा परी सहिद भएका थिए। त्यो पीडा परिवारले भुल्न सकिरहेको थिएन। त्यहीबीचमा चरम यातनासहित रिनाको हत्या गरियो। ‘जीवन सामान्य गतिमा चलिरहेको हुन्छ तर जब चाडपर्वहरू आउँछन्, त्यो भयानक घटना सम्झाइदिन्छ,’ गीता भन्छिन्, ‘घरमा चाडपर्व आँशुबाटै सुरु हुन्छ, आँशुबाटै अन्त्य।’
दाइ र दिदीको घटनाकै कारण आमा मानसिक रोगको शिकार हुनुपरेको र अझै पूर्ण रूपमा निको नभएको उनी बताउँछिन्। चाडपर्वमा सबै परिवारसँगै हुने, जे जस्तो विषम परिस्थिति भोग्नु परे पनि बाँकी जीवन सामान्य तरिकाले बिताऊँ भन्ने अवस्था अझै तयार नभएको उनको भनाइ छ। गीता भन्छिन्, ‘चाडपर्वमा दसैंभन्दा तिहार मन पर्छ, आफ्नोजस्तै लाग्छ तर घरमा माहोल भने आँशुमय हुन्छ।’
सबैजना सँगै भएपछि रुवावासी चल्ने भएकाले टीका लगाउने अनि निस्किहाल्ने गरेर कैयौं पर्वहरू टारेको उनी बताउँछिन्। भन्छिन्, ‘सकेसम्म कसैले कसैसँग आँखा जुधाउनु नपरोस् भनी एकअर्काको नजिक पर्दैनौँ, रमालोसँग हाँसेर आपसमा कुरा गर्ने, हालचाल सोध्ने हिम्मत हामीमा अझै छैन।’
दिदीहरूले तिहारमा दुईजनाको भाग चढाउने गरेको उनी बताउँछिन्। ‘बिनाकसुर आफन्त गुमाउनुको पीडादायी परिस्थितिलाई कसरी सम्बोधन गर्नु ? सम्झँदा पनि भक्कानो फुट्छ। चाडबाड आउँदा बढी झस्किन्छौँ,’ उनी भन्छिन्।
असंवेदनशील राज्य
द्वन्द्वपीडित परिवारको सवालमा राज्य संवेदनशील नभएको उनको भनाइ छ। आयोगमा दर्ता भएका बेपत्ता पारिएका, हत्या गरिएका मानिसहरूको संख्याका विषयमा कुरा गर्दा अन्य देशसँग तुलना गरेर ‘जम्मा’, ‘मात्र’जस्ता शब्द प्रयोग गर्ने गरिएकामा उनी दुःखी छिन्। उनका अनुसार जिम्मेवारी व्यक्तिहरू नै अन्य देशहरूमा लाखौँ मारिए, यहाँ त कति छन् र भन्ने तर्क दिन्छन्। ‘जुन दुःखद् अवस्था हो। कसैको पीडा पनि मापन गर्न सकिन्छ र ?’ उनी भन्छिन्, ‘थोरै मानिस मारिँदा थोरै पीडा हुने, लाखौँ मानिस मारिदा धेरै पीडा हुने भन्ने त होइन नि। जति मारिए पनि आफ्ना गुमाउनुको पीडा त पीडा हो नि।’ राज्यले आफ्नो दायित्व बिर्सेर मुद्दालाई सामान्यीकरण गरिने प्रवृत्ति द्वन्द्वबाट गुज्रिएका मुलुकहरूको ठूलो समस्या रहेको उनी बताउँछिन्।
राज्यले आयोग बनाइदिएको तर आयोगले नै सबै समाधानजस्तो गरेर गैरजिम्मेवार बनेको उनको आरोप छ। आयोमै धेरै समस्या रहेको गीता बताउँछिन्। ‘थुप्रै ऐन संशोधन हुन बाँकी हुँदाहुँदैै आयोग बनाइयो, सबैलाई स्वीकार्य हुने खालको आयोग भएन। पीडितको मुद्दामा काम गरेको छैन,’ उनी भन्छिन्, ‘द्वन्द्वपीडितका मुद्दाउपर गर्नुपर्ने धेरै काम छन्। ती त्यसै राख्ने तर आयोग छ भनेर हुँदैन।’ अझ सरकारमा आउँदा द्वन्द्वपीडितका मुद्दामा छलफलसम्म नगर्ने र सरकारबाट बाहिरिएपछि द्वन्द्वपीडितका मुद्दा उठाएजस्तो गरी राजनीतिक फाइदाका लागि प्रयोग गर्ने परिपाटी मौलाएकामा दुःखी छन्, द्वन्द्वपीडित।
सम्झनाको तितो तरेली
रिनाका दाजुभाइ, दिदीबहिनीहरू भेला हुनासाथ सबैको आँखामा आँशु छचल्किन्छ। नरोई टीका लगाउने, रमाइलो गर्ने भन्ने दिन नै गइसकेको गीता बताउँछिन्। सबै भाइबहिनीले सकेसम्म घटना नसम्झिने प्रयास गर्छन्। अरू बेला परिवार छरिएर बस्छन्। तर, चाडबाडमा एकै ठाउँ भेला हुनैपर्छ। ‘रिना दिदीले सुकाएको साग खाँदिनथिन्, आज पनि सुकाएको सागको कुरा आउँदा हामी सबैलाई झस्काउँछ,’ उनी भन्छिन्।
घरमा सबै जम्मा भएको बेला माछा, मासु पकाउनु परे अघि सर्ने र आफ्नै तरिकाले पकाउने गरेको उनी सम्झिन्छिन्। ‘दाइले मासु पकाउँदा मरमसला हालेर समय लिँदै पकाउनुहुन्थ्यो, दाइ नभएपछि त्यसरी कसैले पकाउँदैनौँ, पकाएका छैनौँ,’ उनी सम्झिन्छिन्। उनीहरूलाई हरेक चाडबाडले त्यही तितो विगत सम्झाउँछन् र झस्काउँछन्।