Kathmandu Press

भगवानलाई छाडेर आफैँलाई पुज्‍ने दिन

आफ्नो शरीरलाई ब्रह्म मानी आफैँलाई पुज्‍ने चलन नै म्ह पूजा हो। यस दिन नेवार समुदायमा घरकी ज्येष्‍ठ महिलाले ज्येष्‍ठताका आधारमा परिवारजनको पूजा गर्छन्। साँझमा यो पूजा गर्ने गरिन्छ।
भगवानलाई छाडेर आफैँलाई पुज्‍ने दिन

काठमाडौं, कात्तिक १९ : म्ह फुला अर्थात् आरामै हुनुहुन्छ ? प्राय: नेवार समुदायमा भेटघाट हुँदा सुरुमा लिइने खबर यही हो। ‘म्ह फुला’ को अर्थ सञ्‍चै हुनुहुन्छ भए पनि शाब्दिक अर्थ भने ‘म्ह’ अर्थात् शरीर र ‘फुला’ को ‘ठीकै छ नि ?’

यसर्थ, ‘म्ह फुला’ले शाब्दिक र अर्थमा केही भिन्‍नता राख्छ। सोही ‘म्ह’को पूजा गर्ने दिनका रूपमा नेपाल संवतको दिन मनाइन्छ। यद्यपि, नेपाल संवतभन्दा धेरै अघिदेखि म्ह पूजा गरिँदै आएको जानकारहरू बताउँछन्। यसको सम्बन्ध द्वापर युगसँग जोडिन्छ। आफ्नो शरीरलाई स्वयंमा ब्रह्म मानी आफैँलाई पुज्‍ने चलन नै म्ह पूजा हो। यस दिन नेवार समुदायमा घरको ज्येष्‍ठ महिला (थकाल्नी) ले ज्येष्‍ठताका आधारमा क्रमशः बसेका परिवारजनको पूजा गर्ने गर्छन्। यो पूजा प्रायः साँझ वा रातको समयमा गर्ने गरिन्छ।

प्रकृति पूजा अनि यसमा जोडिएको किवंदन्ती

Hardik ivf

एकातर्फ नेवार समुदायमा ‘म्ह पूजा’ हुँदै गर्दा सोही दिन गैरनेवार समुदायमा भने गोबर्द्धन पूजा गरिन्छ। यससँग सम्बन्धित निकै रोचक किंवदन्ती रहेको साहित्यकार तथा संस्कृतिविद् हरिराम जोशी बताउँछन्।

द्वापर युगमा एकपटक भगवान कृष्‍णले देवताहरूको पूजा गर्न छोडी प्रकृति र प्रकृतिकै अंग मानव शरीरलाई ब्रह्म सम्झेर पुज्‍न गोकुलवासीलाई सल्लाह दिए। यसरी भगवानको पूजा नभई प्रकृति र मानव आफैँले आफ्नो पूजा गर्न थालेपछि देवताका राजा इन्द्रले रुष्‍ट बने। र, गोकुलमा निरन्तर मुसलधारे वर्षा गराए। बाढी र डुबानबाट गोकुलवासीलाई जोगाउन भगवान कृष्‍णले गोबर्द्धन पर्वत उचालेर र सबैलाई त्यसमुनि संरक्षण दिए। गोबर्द्धन पर्वतलाई देवराज इन्द्रले गराएको वर्षाले केही बिगार्न सकेन। कृष्‍ण स्वयं श्रीहरि विष्‍णुका अवतार भएको थाहा पाएर अतालिएका इन्द्रले उनीसँग माफी मागे। र, गोकुलमा भइरहेको वर्षा रोके।

‘कृष्‍ण आफैँ पनि त भगवान  थिए ?’ प्रश्‍नको जवाफ साहित्यकार तथा संस्कृतिविद् जोशीले यसरी दिए, ‘द्वापर युगमा कृष्‍ण आफैँ पनि मानव नै थिए। उनलाई आम मानिसभन्दा असाधारण क्षमताका मानिन्छ।’

इन्द्रको घमण्ड तोडिएसँगै गोबर्द्धन पर्वत र प्रकृतिको महिमा झन् बलियो भयो। कालान्तरमा समुदाय विशेषमा नेवार समुदायले आफैँले आफूलाई प्रकृति मानी पूजा गर्न थाले भने गैरनेवार समुदायमा सोही कथनअनुसार प्रकृति अर्थात् गोबर्द्धन पूजा गर्न थालेको जोशी बताउँछन्।

नेवार समुदायमा तन्त्रमन्त्रको स्थान रहेको जनविश्‍वास छ। तान्त्रिक विद्यामा पारंगत उनीहरू विभिन्‍न तान्त्रिक पूजा गर्थे। म्ह पूजा आफैँ पनि तन्त्र पूजाकै सरल स्वरूप रहेको जानकारहरूको भनाइ छ। यसकारण पनि उक्त पूजा घर बाहिर नहुने र सम्बन्धित समुदायमा सीमित रहेको बुझाइ छ।

‘म नै ब्रह्म हुँ, संसार हुँ’

‘भागवत गीतामा भगवान कृष्‍णले शारीरिक तथा मानसिक रूपले निर्बल भएका अर्जुनलाई ‘म नै ब्रह्म हुँ, संसार हुँ’ भनी उपदेश दिएका थिए। त्यसको अर्थ भगवानको देवत्करणभन्दा पनि व्यक्तिविशेषले आफूमा राख्नुपर्ने आत्मविश्‍वास हो,’ संस्कृतिविद् जोशी भन्छन्।

खास अर्थमा आफूले आफ्नो अस्तित्वलाई आत्मसात् गर्नुपर्ने उनी बताउँछन्। मानव प्रकृतिमा आश्रित प्राणी हो। मानिस आफैँ पनि प्रकृतिकै अंग हो।

‘परापूर्वकालमा हरेक कामको श्रेय भगवानलाई दिने गरिन्थ्यो। अनि भगवानलाई देवत्करण गरिन्थ्यो। त्यो श्रेय नदिएमा निरिह मानव जातिलाई प्रकोप र दुःखकष्‍ट दिने देवताहरूको प्रवृत्ति थियो,’ जोशी भन्छन्।

आफ्नो अस्तित्त्व वरणका लागि मावन जातिलाई शरण दिने पृथ्वी र प्रकृतिलाई मानी आफ्नो श्रमको मोल बुझाउने पावन दिनको रूपमा म्ह पूजालाई लिइने उनी बताउँछन्।

यस्तै, संस्कृतिविद् तेजेश्‍वरबाबु ग्वंगःका अनुसार नव वर्ष आफैँ नव समयको उत्सव हो। यस दिन ब्रह्माण्डमा पनि नवीन ऊर्जा सञ्‍चारित हुने उनी बताउँछन्। आफूले आफ्नो आत्मालाई पुज्‍नु भनेको ब्रह्माण्डमा सञ्‍चारित ऊर्जा आफूभित्र समाहित गर्नु रहेको ग्वंगः बताउँछन्।
 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्