Kathmandu Press

तिहारमा नेवारले बनाउने चामलका विभिन्न रोटी 

म्हपूजामा दाजुभाइलाई मण्डप कोरेर भित्र राखिसकेपछि मण्डपका साथै बाहिरी भाग वा ढोकामा चामलको पिठोबाट बनेको कुकुर राख्ने चलन छ । चामलको पिठोकै बत्ती राख्ने दियो, डोको बोकेकी महिला, नमस्कार गरेको मान्छे (द्यचा मरी), गणेश, बच्चा (मचामरी), त मरी, मुटुचा मरी, ल्होँचा मरी, मनुचा मरी आदि बनाइन्छ ।
तिहारमा नेवारले बनाउने चामलका विभिन्न रोटी 

काठमाडौं, कात्तिक १९ : काठमाडौं कुलेश्वरकी मुस्कान शाही भाइटीकाका लागि आफ्नो माइत साँखु जाँदैछन् । उनले भाइटीकाका लागि आवश्यक सामग्रीमा चामलको पिठो पनि किनेकी छन् ।

अन्य समुदायको तुलनामा नेवार समुदायमा चामलको पिठोको अति महत्त्व रहेको पाइन्छ । कारण, भाइटीका (म्हपूजा)मा दाजुभाइलाई मण्डप कोरेर भित्र राखिसकेपछि मण्डपका साथै बाहिरी भाग वा ढोकामा चामलको पिठोबाट बनेको कुकुर राख्ने चलन छ । चामलको पिठोकै बत्ती राख्ने दियो, डोको बोकेकी महिला, नमस्कार गरेको मान्छे (द्यचा मरी), गणेश, बच्चा (मचामरी), त मरी, मुटुचा मरी, ल्होँचा मरी, मनुचा मरी आदि बनाइन्छ ।

मण्डप प्रवेश गर्ने ठाउँमा एक जोडी कुकुर राख्नुको मूल तात्पर्य हो, यमराजबाट दाजुभाइलाई बचाउनु । अर्थात् यसो गरे कुकुरले यमराजलाई मण्डपभित्र छिर्न दिँदैनन् भन्ने मान्यता छ । 

Hardik ivf

चामलको रोटीको महत्त्व

दशैंलाई मासुको पर्व भनेझैँ तिहारलाई रोटीको पर्वका रूपमा लिइने संस्कृतिविद् हरिराम जोशी बताउँछन् । ‘विगतमा अहिलेको जस्तो धेरै थरीको मिठाइको चलन थिएन । आफूसँग उपलब्ध भएका स्रोत साधनबाटै मिठाई वा रोटी बनाइन्थ्यो,’ उनी भन्छन्, ‘नेवारी प्रचलनमा भाइटीका र म्हपूजा गर्दा चामलको पिठोलाई विभिन्न आकारमा ढालेर रोटी बनाएर लैजानु पनि यहीअन्तर्गत पर्छ ।’

यस्तै विगतमा उपत्यकामा प्रशस्तै धान फल्ने भएकाले चाडपर्वमा चामलको सदुपयोग गर्दै त्यसैका परिकार बनाउन थालिएको हुन सक्ने नेपाल पाञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन् । ‘पहिला काठमाडौं उपत्यकामा धान प्रशस्तै फल्थ्यो । त्यसैको सदुपयोग गरी भाइटीकामा धानको पिठोबाट बनाइएका रोटीको प्रयोग बढेको हुनसक्छ,’ अधिकारी भन्छन्, ‘बनाउन जानेमा यो निकै नरम र मिठो (माक्कुसे) हुने भएकाले पनि नेवारी समुदायमा यो रोटी निकै रुचाइन्छ ।’

उनका अनुसार, यस्तै चामललाई अत्यन्त शुद्ध मानिन्छ । त्यसैले पनि यसका परिकार बनाएर खाने चलन बसेको हुनसक्छ। 

विभिन्न समुदायले आफ्नो संस्कृतिमा चामलको प्रयोग गर्दै आए पनि यसको सांस्कृतिक प्रयोग कहिलेदेखि भयो भनी यकिनका साथ भन्न सकिँदैन । मानिसले परापूर्वकालदेखि नै अन्नबाली भित्र्याएपछि सबैभन्दा पहिले देउता वा प्रकृतिलाई चढाउँदै आएको विद्वानहरू बताउँछन् । 

नेवार समुदायमा चामलका विभिन्न रोटी

हामीकहाँ अधिकांश जातिका चेलीले भाइटीकाको दिन दाजुभाइका लागि फलफूल, मिठाइ, फूलमाला, मसलाका साथै चामलको पिठोबाट बनेको सेलरोटी लैजाने गरेको पाइन्छ । विशेषतः नेवार समुदायमा चामलको पिठोबाट बनेका विभिन्न आकारका रोटी लैजाने चलन छ । ती रोटीलाई आकार अनुसार, मुटुमरी, बचामरी, द्यचामरी, खिचामरी, तमरी, ल्होँचामरी लगायत नाम दिइन्छ ।

यसलाई बनाउन सुरुमा चामललाई पिठोको रूप दिइन्छ । पिठोमा थोरैथोरै तातो पानी हाल्दै नरम नहुन्जेल मुछिन्छ । त्यसपछि आवश्यक मात्रामा पिठोको डल्लो लिएर त्यसलाई विभिन्न आकार दिइन्छ । यसो गर्दा पिठो हातमा नटाँसियोस् भनेर हातमा तेल दल्ने गरिन्छ । 

विभिन्न आकारमा ढालिसकेपछि तातोपानीको बाफमा यसलाई मःमः पकाएजसरी केही समय पकाइन्छ । विगतमा माटोको भाँडामा पानी तताएर त्यसमाथि अर्को माटोको भाँडामा आकार दिइसकेको रोटी राखेर बफ्याएर पकाइन्थ्यो । अहिले धेरैले मःमः बनाउने भाडामा नै यो रोटी बनाउने गरेको पाइन्छ ।

सेलरोटी बनाउने विधि

तिहार मनाउनेहरूले घरघरमा सेलरोटी बनाउँछन् । तिहार भन्नेबित्तिकै सेलरोटीसँगै जोडिएर आउँछ । कतिपयले सेलरोटी नखाएसम्म तिहार आएको जस्तो नलाग्ने पनि बताउँछन् । अहिले कामको व्यस्तता कारण सेलरोटी पकाउने प्रचलन सहर–बजारमा कम हुँदै गएको र पसलबाट किन्ने चलन बढ्दै गएको पाइन्छ ।

केही पाका मानिसको सल्लाहबमोजिम यहाँ सेलरोटी पकाउने विधि प्रस्तुत गरिएको छ । यद्यपि यसलाई आ–आफ्ने किसिमले बनाउने पनि गर्छन् ।

सेलरोटी बनाउन चामल पिठो, घिउ, पानी (दूध) र तेल आवश्यक हुन्छ । सेलरोटी पकाउन पुरानो चामलको पिठो उत्तम मानिन्छ । घिउले रोटीलाई फुलाउने, नरम बनाउने र सुगन्धित बनाउने काम गर्छ । चिनीको साटो सक्खर वा मधुमेहका बिरामीका लागि चिनीबिनाको सेलरोटी पनि बनाउन सकिन्छ ।

पिठो मुछ्नका लागि पानीको सट्टा दूधको प्रयोग गर्न सकिन्छ । रोटी फुलाउनका लागि खाने सोडा र स्वादका लागि अलैंची, ल्वाङ तथा काजु राख्न सकिन्छ । सेलरोटी बनाउन राम्रोसँग तैरिने खालको गहिरो र सम्म पिँध भएको कराई वा ताई, रोटी झिक्न बाँसका सिन्का आवश्यक हुन्छ । रोटी एउटै आकारमा पकाउन मिनरल वाटरको बोतललाई आधा काटेर मुखतिरको भाग प्रयोग गर्न सकिन्छ । यसका लागि कसैले प्लास्टिक वा कपडामा प्वाल पारेर पनि प्रयोग गर्छन् । पाकिसकेको सेल राख्नका नाङ्लो पनि चाहिन्छ ।

सेलरोटी बनाउँदा सर्वप्रथम चामललाई राम्ररी पखालेर रातभर भिजाउनुपर्छ । भोलिपल्ट चामलबाट पानी हटाएर पिठो बनाउने । पिठोमा घिउ, चिनी र बिस्तारै थोरै–थोरै पानी वा दूध राख्दै लेदो पार्नुपर्छ । धेरै बाक्लो वा पातलो पिठोले राम्रो सेल बन्दैन । लेदो पारेपछि  एकदेखि दुई घन्टा छोपेर राख्नुपर्छ । 

त्यसपछि कराईमा दुई इन्च माथिसम्म आउनेगरी तेल राखेर तपाउनुपर्छ । तातेको तेलमा गोलो आकारको रोटी बनाउन सकिन्छ । सेलरोटीलाई राम्रोसँग पाक्ने गरेर दुवैपट्टि फर्काउनुपर्छ ।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, कात्तिक १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्