Kathmandu Press

एचए पूरा गरेका विपीन अटो चलाउँदै

कर्णाली, कात्तिक १४ : तातोपानी गाउँपालिका– ३ जुम्ला लिताकोट गाउँका २७ वर्षीय युवा विपीन सुनार यतिबेला अटो व्यवसाय सञ्चालनमा व्यस्त छन्। योग्यता प्राप्त...
एचए पूरा गरेका विपीन अटो चलाउँदै

कर्णाली, कात्तिक १४ : तातोपानी गाउँपालिका– ३ जुम्ला लिताकोट गाउँका २७ वर्षीय युवा विपीन सुनार यतिबेला अटो व्यवसाय सञ्चालनमा व्यस्त छन्। योग्यता प्राप्त भए पनि जागिरका लागि विदेश जाने युवाका अगाडि उनले उदाहरणीय काम गरे।

विपीनले एचए (स्वास्थ्य सहायक) तह उत्तीर्ण गरेका छन्। विसं २०७२÷७५ मा उनले डा इवामुरा कलेज अफ हेल्थ साइन्स (आइडब्लुएमुरा) भक्तपुरको सल्लाघारीबाट प्रथम श्रेणीमा एचए उत्तीर्ण गरे। आयोग दिन नपाएका विपीनले शक्ति र पहुँचका कारण स्थानीय तथा प्रदेश सरकारमा जागीर खान नपाएको दुखेसो व्यक्त गरे।

Hardik ivf

एक दशकअघि आमाबाबा गुमाएका उनले हिमशिखर मावि तातोपानी जुम्लाबाट विसं २०७० मा एसएलसी उत्तीर्ण गरेका थिए। ‘एसएलसीपछि दुई वर्ष खाली बसे, जापानीले खोलेको डा ईवामुरा कलेजमा छात्रवृत्तीमा पढ्न परीक्षा दिए र सफल भए,’ उनले भने, ‘उक्त कलेजबाट प्रथम श्रेणीमा एचए पास गरेँ, तर सरकारले दिने जागीरमा राम्रो भन्दा आफ्नो र दक्ष भन्दा नजिककालाई दिने संस्कार रहेछ।’ सरकारी जागीर नपाएपछि अहिले अटो व्यवसायतर्फ लागेको सुनारले बताए।

‘हाम्रो समाजमा पढेलेखेका व्यक्तिले अन्य काम गर्नुहुँदैन, जे पढ्यो त्यही अनुसार काम गर्नुपर्दछ भन्ने सामाजिक सोच, संस्कार र परम्परा छ,’ सुनारले भने, ‘त्यसलाई मैले तोड्ने प्रयास गरेको छु।’ सकेसम्म पढेकाले सबैखाले काम गर्न सक्छन् भन्ने आफूले बुझेको उनले सुनाए।

उनका अनुसार काम सानो ठूलो हुँदैन र हरेकले आफ्नो मेहनत र परिश्रममा रमाउनुपर्दछ। सानातिनो काम गर्न लाज मानेर विदेशिने युवालाई सुझाउँदै सुनारले भने, ‘रु ३०÷३५ हजार कमाउन खाडी मुलुकमा जानुपर्दैन, विदेशीको दास बन्नुपर्दैन, मेहनत र परिश्रमको पसिनाले स्वदेशकै राम्रो आम्दानी गर्न सकिन्छ।’

जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकाको त्रिवेणीसम्म अटो सञ्चालन गर्दै आएका उनले मासिक रु २०÷३० हजार आम्दानी गर्दै आएका छन्। उनले रु सात लाख ५० हजारमा किनेको अटोको सबै किस्ता तिरिसकेका छन्। अटो व्यवसायले श्रीमती, दुई छोरी र एक छोराको पालनपोषण तथा शिक्षा दिक्षामा सहयोग पुगेको जनाउँदै उहाँले यसले आत्मनिर्भरता बढाएको बताए।

अटो चलाउँदै गरेका सुनारले आयोग खुलेसम्म एचएको परीक्षा दिने सोच बनाएको सुनाए। उनले भने, ‘गरिब र पहुँचहिनहरुका लागि लोकसेवा आयोगले मात्र न्याय गर्छ जस्तो लाग्छ, आयोगले आवेदन खोलेसम्म परीक्षा दिन्छु, अहिले अटो तर भविष्यमा आयोगबाटै नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीमा नाम निकालेर नागरिकको सेवा गर्ने मेरो उत्कट इच्छा रहेको छ।’

उनले अहिलेका हरेक युवालाई व्यर्थमा समय नफाल्न अनुरोध गरे। सामाजिक सञ्जालमा धेरैले पैसा र समय बर्बाद गरेको जनाउँदै सुनारले आमाबाबासहितका अभिभावकप्रति आज्ञाकारी भएर काम गर्ने सबै सन्तानको भविष्य सुनौलो र सम्मानित हुने जनाए।

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्