Kathmandu Press

राजमहलभित्रकी बागी महिलाको कथा ‘जुवेदा’

सिनेमाकी मुख्य पात्र ‘जुवेदा’ महारानी हुन् तर राजमहलको बन्धनभित्र अट्न नसक्ने विद्रोही पनि। नृत्य र सिनेमाको अभिनयमा रमाएकी उनी आफ्नो त्यो परिचय राजमहलमा कैद भएमा असन्तुष्‍ट देखिन्छिन्। र, विद्रोहको भाषा बोल्छिन्।
राजमहलभित्रकी बागी महिलाको कथा ‘जुवेदा’

काठमाडौं, कात्तिक १३ : अक्सर इतिहास जित्‍नेको लेखिन्छ। तर, हरेक कथा जितकै हुनुपर्छ भन्‍ने छैन। कुनै कथा हारका पनि हुन्छन्। हारका यस्ता कथालाई दबाइन्छ, लुकाइन्छ। जुवेदा बेगम यस्तै एक बागी अनि असफल रानी हुन्, जसलाई राजपुतको इतिहासमा दबाइयो।

एक मुसलमान, डिभोर्सी महिला अनि एक बच्चाकी आमासमेत हुन्, चलचित्रकी प्रमुख पात्र जुवेदा। मुसलमान समुदायकी जुवेदा बेगम जीवनकालमा प्रेमकै कारण राजपुत राजपरिवारकी रानी भइन्। यद्यपि, उनको पहिचान यतिमा सीमित छैन, एक भारतीय अभिनेत्रीको परिचय पनि छ। त्यस पहिचानलाई भने उनको परिवारले दबायो। बाल्यकालदेखि युवावस्थासम्म आफ्नो परिवार र विवाहपछि राजमहलको नियमभित्र बस्‍नुपर्ने बाध्यता। उनलाई यही चित्त बुझेन र बागी कदम उठाइन्।

आजभन्दा २० वर्षअघि सन् २००१ मा बनेको बलिउड सिनेमा ‘जुवेदा’को कथाको सार हो यो। श्याम बेनेगल निर्देशित यो सिनेमा वास्तविक जीवनकथामा आधारित छ। यसको कहानी चलचित्रकै लेखक खालिद मोहम्मदकी आमा जुवेदा बेगमको हो।

Hardik ivf

चलचित्रको प्रमुख भूमिकामा करिश्मा कपुर छिन्। यो सिनेमाले सन् २००१ को भारतीय राष्‍ट्रिय चलचित्र पुरस्कार जितेको थियो। यस्तै, फिल्मफेयरमा क्रिटिकतर्फ उत्कृष्‍ट अभिनेत्रीको पुरस्कार पनि उनले पाएकी थिइन्।

को हुन् जुवेदा बेगम ?

मुसलमान समुदायकी जुवेदाको जन्म मसुलमान व्यापारी तथा नवाव परिवारमा भयो। उनी  भारतीय अभिनेत्री पनि थिइन्। देवदास, मेरी जान आदि चलचित्रमा अभिनय गरेकी छन्। तर, कडा पारिवारिक नियमका कारण उनले अभिनयलाई निरन्तरता दिन सकिनन्।

परिवारले उनको मन्जुरीबिनै मागी विवाह गरिदियो। जुवेदाको पहिलो सन्तान खालिदको जन्म भएको केही समयपछि नै पारिवारिक मनमुटावका कारण उनका श्रीमानले डिभोर्स दिए। केही समयको अन्तरालपछि उनको प्रेम प्रसंग जोधपुरका राजा हरवन्त सिंहसँग जोडियो। सिनेमामा भने जुवेदाबाहेक अन्य सबै पात्रको नाम काल्पनिक राखिएको छ।  यस्तै, उनले विवाहका लागि आफ्नो धर्म पनि परिवर्तन गरी विद्या रानी नाम दिइन्।

सन् १९५२ मा जहाज दुर्घटनामा उनी र राजा हरवन्त सिंहको मृत्यु भयो। कतिपयले दुर्घटनाभन्दा पनि षडयन्त्र गरी मारिएको तर्क पनि गर्दै आएका छन्। सिनेमाको कथा पनि जहाज दुर्घटनामा पुगेर सकिएको छ।

जुवेदा : ‘द अदर वुमन’ भर्सेस ‘द डिफरेन्ट वुमन’

सन् १९५६ पछि भारतमा बहुविवाहलाई कानून मान्यता दिन छोडियो। त्यसअघि राजा महाराजहरूले खुला रूपमै प्रमुख रानीबाहेक अन्य रानी पनि हुने गर्थे। यसरी हेर्दा जुवेदा र राजा विजयेन्द्र प्रताप (मनोज बाजपेई) को विवाह पनि कुनै नौलो विषय रहेन। ऐय्यासीभन्दा पनि उनीहरू बीच स्थापना भएको साँचो प्रेमले वैवाहिक सम्बन्धसम्म डोर्‍याउँछ।

राजा जुवेदाको सौन्दर्यमा फिदा हुन्छन्। उनका लागि नयाँ रानी पाउनु कुनै असाधारण विषय होइन तर यी दुईको सम्बन्ध प्रेमकै आधारशिलामा स्थापित भएको हुन्छ। राजाबाट कान्छी रानीले पाउने मायासँगै समानान्तर रूपमा समाजले वैधानिक मानिएकी पहिलो पत्‍नीप्रति नै संवेदना अनि दोस्री रानीप्रतिको हेय भावलाई चलचित्रले नकारेको छैन। यद्यपि, अन्य चलचित्रमा जस्तो दुई महिला पात्रबीच श्रीमानप्राप्तिका लागि हुने प्रतिस्पर्धा पनि देखाइएको छैन।

महारानी (मुख्य रानी) मन्दिरा देवीको भूमिकामा रहेकी रेखा र करिश्मा दिदीबहिनीसरह मिलेर बस्छन्। उनीहरूसँगै खेल्ने, चाडपर्व मनाउने र कुराकानी गर्ने गर्छन्। श्रीमानको विषयमा उनीहरू बीच द्वन्द्व छैन। द्वन्द्व छ त जुवेदाको क्रान्तिकारी व्यवहारप्रति। राजमहलमा सिल्भलेस ब्लाउज लगाउन बन्देजदेखि समारोह र अन्य मानिसको अघिल्तिर राजकीय सम्बोधनले उनलाई आजित बनाउँछ।

अन्य चलचित्रमा चित्रण गरिनेजस्तो दोस्री श्रीमतीको व्यवहार उनलाई छैन। उनले परिवारलाई बिगारेकी पनि छैनन्। उनको केवल विरोध भनेको चलिआएको नीति नियममा बाँधिएर बस्‍न नसक्नु हो।

उनमा प्रश्‍न गर्ने आँट छ। उनी राजा अर्थात् आफ्नो श्रीमानलाई पनि प्रश्‍न गर्छिन्। उनी आफ्नो अस्तित्वको माग गर्छिन्। त्यसैले पतिको प्रेम पाउने प्रतिस्पर्धाभन्दा पनि यस चलचित्रमा पितृसत्तात्मक बन्देज उल्लंघन गर्ने जुवेदाको कहानी छ।

मुख्यबाहेकका रानीलाई दिइने दर्जाको चित्रण भने चलचित्रमा उस्तै छ। जहाँ रानी मन्दिरा (पहिलो रानी रेखा)लाई श्रीमानले माया र समय दिए-नदिएको खासै मतलव छैन। जुवेदा भने सदैव विचलित छिन्। एक पल दृढ अनि बागी जुवेदा श्रीमानको माया र प्रेमको अभावमा कमजोर हुन्छिन्। त्यही नै उनको कमजोर पक्ष हो।

जुवेदालाई सानैबाट नाच्‍ने, गाउने सोख छ। तर, उनका पिताले उनलाई नाच्‍न र चलचित्रमा अभिनय गर्न दिँदैनन्। उनी नीति नियम पालनाको सोख राख्दिनन्। डिभोर्सपछि ‘ब्रेक’ लागेको जीवनमा पुन: एकपटक प्रेम अनि खुशीको आभास हुँदा राजमहलका नियम कानून उनको स्वतन्त्रताका लागि महँगो सावित हुन्छन्।

राजासँग विवाहका लागि उनको परिवारले उनका छोरा खालिद (चलचित्रमा रिजु) लाई त्याग्‍नुपर्ने सर्त राख्छन्। जीवनमा पहिलोपटक आफ्नो इच्छा र खुशीअनुसार जिउन पाउँदा पनि परिवारले राखेका सर्तले उनी विचतिल हुन्छिन्। र, आफ्नो घर, समुदाय र छोरालाई त्यागेर जान्छिन्। सानैमा आमाले त्यागिगएका कारण उनलाई उनकी आमाको सचित्र अनुहार याद छैन। बयस्क अनि पेशाले पत्रकार बनेका रिजु आफ्नी आमाको इतिहास खोतल्न थाल्छन्। सिनेमाको कथा त्यहीँबाट सुरु हुन्छ।

हरेक समुदायमा महिलालाई पितृसत्ताले थिचोमिचोमै राखेको छ। चलचित्रमा जुवेदा एक ‘फ्री स्पिरिट’की महिला हुन्। जो आफ्नो इच्छा र स्वतन्त्रताको माग गर्छिन्। पुरातन रुढीवादी परम्परालाई नकार्छिन्। चाहे त्यो आफ्नो घर होस् वा राजमहल नै। यद्यपि, बागी कदमको संघर्षमै उनको अनायासै मृत्यु हुन्छ।

अन्य चलचित्रका ‘द अदर वुमन’ भन्दा पृथक जुवेदा

‘जुवेदा’ प्रदर्शनमा आएको दुई वर्षअघि बलिउड सिनेमा ‘बिबी नम्बर वान’ रिलिज भएको थियो। यस सिनेमामा पनि करिश्मा कपुर प्रमुख भूमिकामा छिन्। त्यस चलचित्रमा करिश्मा कपुर र सलमान खानबीचको सम्बन्धमा सुष्‍मिता सेनको प्रवेश हुन्छ, जो ‘द अदर वुमन’ को भूमिकामा छिन्। उक्त चलचित्रमा सुष्‍मिता सेनलाई एक आधुनिक महिलाका रूपमा चित्रण गरिएको छ। चलचित्रमा पूजाको भूमिकामा रहेकी करिश्मालाई एक ‘डिसेन्ट’ अनि सुशील श्रीमती, बुहारीको रूपमा प्रस्तुत गरिएको छ। रुपालीको रूपमा रहेकी सुष्‍मिता सेन ‘होम ब्रेकर’का रूपमा देखिएकी छन्। जब कि, वैवाहिक जीवनमा रहेका पुरुष पात्र प्रेम (सलमान खान) को भने दोष वा कमजोरी देखाउन खोजिएको छैन।

यस्तै सन् २०१५ मा बाजिराव मस्तानीमा मस्तानी ‘द अदर वमुन’ हुँदा उनले भोगेको दु:ख र हेलाका विषयलाई सान्त्वना र देवत्वकरण गरिएको छ। मुख्य पत्‍नीको रूपमा रहेकी काशीबाईको पक्ष मस्तानीको तुलनामा कमजोर नै देखाइएको छ।

सन् २०१९ मा रिलिज भएको ‘पति, पत्‍नी और वो’को रिमेकमा पनि खासै यस परिपाटीमा परिवर्तन गरिएको छैन। श्रीमतीको भूमिकामा रहेकी भूमि पेडनेकर २१ औं शताब्दीकी महिला भएका कारण अन्य चलचित्रका श्रीमतीजस्तो कमजोर नभई केही दृढ देखिन्छिन्। ‘अदर वुमन’को रूपमा रहेकी तपस्या (अनन्या पाण्डे)लाई भ्रममा राखी पुरुष पात्र कार्तिक आर्यनले अफेयर चलाएका हुन्छन्। चलचित्रको अन्त्यमा उनले वैवाहिक जीवनमा हुन थालेको एकरूपता अनि विवाहअघिको असफल प्रेमीको झलक पाएका कारण अफेयरमा फसेको बताउँछन्।

यसरी हेर्दा पुरुषका त्रुटिलाई सहर्ष माफी मिल्छ। तर, जो ‘अदर वुमन’ छन्, उनीहरूलाई गलत नै सावित गराइन्छ। उनीहरूलाई नै दोषी देखाइन्छ अनि दुर्व्यवहारमा पनि पर्छन्। जब कि, पुरुष पात्रले भने सान्त्वना पाउँछन्। उत्तिकै भागिदार रहेको पुरुषलाई भने विभिन्‍न कारण ‘सेफ जोन’मा राखिने परिपाटी अझै पनि परिवर्तन हुन सकेको छैन। किनकि, समाज नै पुरुषले जो चलाएका छन्।

यस्तै, फिल्म ‘जुवेदा’मा ट्रान्जिसन भने केही भिन्‍न छ। अन्य चलचित्रमा जस्तो कथालाई लम्ब्याइएको छैन। कतिपय स्थानमा दर्शक आफैँले महसुस गरून् भनेर छाडिएको छ। जस्तै, विवाह गर्न नचाहने जुवेदाको एकैपटक अर्को क्लिप ट्रान्जिट हुँदा विवाह भइसकेको हुन्छ, जसको भान क्लिप चल्ने क्रममा पत्तो लगाउन सकिन्छ।

चलचित्रको यस फ्लोमा संगीतको त्यति साह्रो आवश्यकता देखिँदैन। संगीतकार एआर रहमानको सांगीतिक जादु निकै कर्णप्रिय हुँदाहुँदै पनि चलचित्रमा गीत-संगीतको आवश्यकता खासै देखिएको छैन।

‘अहेड अफ टाइम’ बनेको उक्त चलचित्रले ‘द अदर वुमन’ जुवेदालाई न त सान्त्वना दिएको, न पीडक वा पीडित नै देखाएको छ। जुवेदा केवल आफ्नो स्वतन्त्रताको उडान निम्ति एक बागी महिलाका रूपमा उभिएकी छन्। जो असफल देखिन्छिन् र राजपुतको मेटिएको इतिहासका रूपमा अमर भएकी छन्।

प्रकाशित मिति: १३:२५ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्