Kathmandu Press

डरलाग्दो विचार आउने मानसिक रोग : ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’

यसमा व्यक्तिको सोचाइमा ‘अब्सेसन’ अर्थात् एक प्रकारको जिद्धीपन देखिन्छ। अर्को अर्थमा कुनै व्यक्तिमा अकस्मात केही गर्ने हुटहुटी आयो भने पनि ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भन्न सकिन्छ।
डरलाग्दो विचार आउने मानसिक रोग : ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’

काठमाडाैं, कात्तिक १३ : ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसिडी) यस्तो मानसिक रोग हो, जुन किशोरकिशोरी (विशेषतः १२ देखि १५ वर्ष उमेर समूह) अवस्थाबाट सुरु हुन्छ । तर, अहिले युवामा पनि यो रोग देखिन थालेको छ । यसमा व्यक्तिको सोचाइमा ‘अब्सेसन’ अर्थात् एक प्रकारको जिद्धीपन देखिन्छ । अर्को अर्थमा कुनै व्यक्तिमा अकस्मात केही गर्ने हुटहुटी आयो भने पनि ‘अब्सेसिभ कम्पल्सिभ डिअर्डर’ भन्न सकिन्छ ।

यसमा बिरामीले नचाहँदा नचाहँदै बारम्बार कुनै सोचाइ आउने, तत्काल काम गर्ने हुटहुटी जाग्ने अथवा कुनै तस्बिरहरू मस्तिष्कमा खेलिरहने हुन्छ । सोचाइमा आएका दृश्य बारम्बार मस्तिष्कमा आउने, चाहेर पनि त्यसलाई हटाउन नसक्ने र आफ्नो दैनिकी नै प्रभावित हुने समस्या देखिन सक्छ । यस्ता समस्या वा व्यवहार देखिएको व्यक्तिमा कुनै कुराको ‘अब्सेसन’ भएको हुन सक्छ । सोही ‘अब्सेसन’लाई हटाउने उद्देश्यले सो व्यक्तिले गर्ने कार्यलाई हामी ‘कम्पल्सिभ बिहेभिअर’ (बाध्यकारी व्यवहार) भन्छौँ । ‘कम्पल्सिभ बिहेभिअर’ले सुरुमा बिरामीलाई केही राहत दिएको जस्तो महसुस भए पनि पछि गएर त्यही व्यवहारले दैनिकीमा असर पार्न थाल्छ ।

अब्सेसिभ (सनक) विचार आउनेबित्तिकै सबैले ‘कम्पल्सिभ बिहेभिअर’ गर्छन् भन्ने होइन । तर कुनै कुरा वा सोचाइबाट टाढा रहन स्वयंले एक किसिमको बाध्यकारी मान्यता, नियम र आदेश विकास गरेको हुन्छ, ती बाध्यकारी मान्यता, नियम र आदेशले आफूलाई नै असहज बनाएको हुन्छ ।

Hardik ivf

दैनिकीको धेरै समय यही ‘अब्सेसिभ’ र ‘कम्पल्सिभ बिहेभिअर’ले नै अस्तव्यस्त बनाएको हुन्छ । कतिपय अवस्थामा यसले बिरामीलाई गहिरो तनाव वा दिक्दारीको अवस्थासम्म पु¥याउँछ । जस्तो : कुनै व्यक्तिको दिमागमा आफूलाई कोरोना संक्रमण हुने अब्सेसिभ विचार आयो भने कसैसँग बोलेमा, नजिक भएमा पनि सर्न सक्छ भन्ने विचार उसमा हाबी हुन थाल्छ । जब कि उसलाई कोरोना कसरी सर्छ र कसरी बच्न सकिन्छ भन्ने कुराको ज्ञान भएको हुन्छ । तर सो अवस्थादेखि आवश्यकभन्दा धेरै डराउने हुन्छ । उसमा अनियन्त्रित रूपमा बारम्बार रोग सर्ने डर उत्पन्न भइरहन्छ, जब कि उसलाई यो डर आवश्यक होइन भन्ने थाहा हुन्छ । यो सोचाइलाई कम गर्न उसले बारम्बार सफा गर्ने, छोटो समयमा पटक–पटक हात धुन मन लाग्ने, कतिपय अवस्थामा अरु व्यक्तिले छोएको, बसेको सामान नै धुन मन लाग्ने, बारम्बार कोठा सफा गर्न मन लाग्ने हुन्छ, यसलाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भनिन्छ ।

माथि उल्लिखित व्यवहार दिनमा धेरैपटक र कम्तीमा दुई सातासम्म निरन्तर रहेकामा सो व्यक्तिलाई उपचार आवश्यक हुन्छ । कतिपय व्यक्तिमा अरुलाई क्रूर व्यवहार गर्ने वा आफ्ना बच्चा अगाडि आए मार्ने भावना उत्पन्न हुने पनि केसहरू छन् । जब कि उनीहरूलाई आफूले त्यसो गर्न सक्दिनँ भन्ने थाहा हुन्छ, तर कारणवश सोचाइमा नियन्त्रण गुमाएर ‘मेरा बच्चाहरूलाई मैले मार्छु होला’ भन्ने डर मनमा भइरहन्छ ।

त्यही तनावका कारण सो व्यक्तिले आफ्नो जिम्मेवारी नलिने, पारिवारिक सम्बन्ध बिगार्ने, बच्चाहरूबाट टाढा हुने गर्न सक्छ । यो व्यवहारले उसले गरिरहेका काममा नकारात्मक प्रभाव पा¥यो र निश्चित अवधिभन्दा लामो समयसम्म उक्त व्यवहार रहिरहेमा यस्तो अवस्थालाई पनि ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भनेर बुझ्नुपर्छ ।

यस रोगका बारेमा कुरा गरिरहँदा कतिपय मानिसले घाँटी छोएपछि हात फुक्ने गरेको पाइन्छ । तर यसलाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भन्न मिल्दैन । यो हाम्रो संस्कारले सिकाएको विषय हो । कतिपय मानिसमा आफ्नो कपडा अनावश्यक रूपमा छिनछिनमै मिलाउने, बारम्बार तानिरहने बानी हुन्छ, यसलाई पनि पूर्णतः ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भन्न मिल्दैन । तर, त्यसलाई ‘रिचुअलिस्टिक बिहेभिअर’ (धार्मिक वा अनुष्ठानात्मक व्यवहार) भन्न सक्छौँ ।

‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’भन्दा धेरै फरक ‘मोटर बिहेभिअर’हरू हुन्छन्, जसलाई मानिसको व्यवहार अनुसार व्याख्या गरिन्छ । व्यक्तिको व्यवहारमा अनावश्यक ढंगले बारम्बार दोहोरिरहने व्यवहारलाई अरु फरक ढंगले पनि व्याख्या गर्न सक्छौँ ।

‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ एकै खालको हुँदैन । यो मानिसको व्यवहार, समाज, विषयवस्तु, अवस्था लगायतमा भर पर्छ । जस्तै ः कतिपय ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भएका व्यक्तिलाई आफ्नो कोठाका सामान सधैँ मिलेको हुनुपर्छ । केही सामान यताको उता मात्र भए पनि अप्ठेरो महसुस हुने, ‘डिस्ट्रेस’ हुने र चाँडोभन्दा चाँडो मिलाइहाल्नुपर्ने हुन्छ । सामान्य रूपमा भन्नुपर्दा ‘अब्सेसन’लाई कम गर्न ‘कम्पल्सिभ बिहेभिअर’ गर्नुलाई नै ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भनिन्छ । कतिपय अवस्थामा व्यक्ति स्वयंलाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भएको थाहा हुन्छ भने कतिलाई आफूले यस्ता व्यवहार गरिरहेको थाहा नहुन पनि सक्छ ।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भनेको ‘भेग’ (अस्पष्ट) विषय हो । जसमा बिरामी एक प्रकारको असहज परिस्थितिबाट गुज्रिरहेको हुन्छ । सो व्यक्तिको दैनिकीलाई अस्तव्यस्त बनाउने, उत्पादनशीलतामा ह्रास ल्याउने मात्र नभई अपांगता (डिसबिलिटी) सम्म पु¥याउन सक्ने सम्भावना हुन्छ ।

कारण र उपचार

अन्य मानसिक रोग जसरी नै ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ लाग्नुमा पनि जैविक, सामाजिक र मनोवैज्ञानिक तत्त्व नै कारण हुन्छन् । यसको उपचारका लागि औषधि र थेरापी गर्न सकिन्छ । मनोवैज्ञानिक उपचार वा थेरापी अन्तर्गत बिरामीलाई ‘अब्सेसनल’ विचारहरू आउन दिने तर ‘कम्पल्सिभ बिहेभिअर’ गर्नबाट रोक्ने एउटा उपाय गर्न सकिन्छ । अर्को औषधिका माध्यमबाट उपचार गर्दा पनि राम्रो प्रभाव देखिएको छ । यो रोग निको हुन कम्तीमा एक वर्ष लाग्छ । साथै बिरामीको अवस्था र रोग बल्झिने सम्भावनालाई मध्यनजर गरी औषधि तथा उपचारलाई घटबढ पनि गर्न सकिन्छ । ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ महिलाभन्दा पनि पुरुषमा बढी देखिन्छ । तर यसको कारण अध्ययनकै क्रममा छ ।

मानसिक रोगको उपचारमा प्रयोग हुने औषधिहरू आफैँमा त्यति धेरै महँगो हुँदैन । तर यसको धेरै समय प्रयोग गर्नुपर्ने भएकाले केही खर्चिलो देखिन्छ । जस्तो : कतिपय रोगको उपचार गर्दा एक–दुई महिना औषधि खाए पुग्छ । तर, मानसिक रोगको हकमा कम्तीमा एक वर्ष वा जीवनभरि नै औषधि लिनुपर्ने हुन सक्छ । धेरै समयसम्म औषधि लिनुपर्ने भएका कारण मानिसहरू उपचार गराउन हिचकिचाउने गरेको पाइन्छ ।

‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ एउटा उत्पादनशील उमेर समूह वा करिअर बनाउन सुरु गर्ने, योगदान पु¥याउन सक्ने उमेरबाटै सुरुवात हुने हुँदा यसलाई समयमै पहिचान गर्न आम नागरिकमा सचेतना फैलाउन जरुरी छ ।

(मनोचिकित्सक डा. वासुदेव कार्कीसँग सोनी शाहीले गरेको वार्तामा आधारित ।)

याे पनि..

 

प्रकाशित मिति: ०९:५१ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्