Kathmandu Press

बिमल ब्रान्डको नेपाली हार्मोनियम : बिमल शाहको १५ वर्षको साधनाको उपज

'ट्युनिङको तालिम लिएर फर्केको एक-दुई वर्ष त कामका लागि यताउता भौँतारिएँ। अरुको पसलमा काम गर्थें। पहिला काम खोज्न दिनरात हिँड्नुपर्थ्यो, अहिले कामले मलाई खोज्दै आउँछ।'
बिमल ब्रान्डको नेपाली हार्मोनियम : बिमल शाहको १५ वर्षको साधनाको उपज

काठमाडौं, कात्तिक १२ : बिमल शाहको फेसबुक पेज छ, हार्मोनियम नेपाल। जहाँ उनले आफूले बनाएका बिमल ब्रान्डका हार्मोनियमको विज्ञापन गर्छन्, विभिन्न भिडियो अपलोड गरेर।

उनले हार्मोनियम बनाउने, ट्युनिङ गर्ने (सुर मिलाउने) सँगै अन्य वाद्यवादकको मर्मत पनि गर्छन्। सोही फेसबुक पेजमार्फत उनले २७ सेप्टेम्बर २०२१ मा एउटा विज्ञापन गरेका छन्। सानो पहेँलो कागजको टुक्रामा काला अक्षर छापिएको विज्ञापनको व्यहोरा यस्तो छ-
खुल्यो ! खुल्यो ! खुल्यो ! 
फोन नम्बर : ९८६९५२५७४०।
श्री पशुपतिनाथ हार्मोनियम मर्मत तथा बिक्री केन्द, (सिनामंगल, ताराहल चोक, काठमाडौं। हुन्डाई सर्भिसिङ सेन्टरको अगाडि।)
भोकल, शास्त्रीय संगीत, भजनका लागि स्पेसल ट्युनिङ गरिन्छ।
नोट : यहाँ पुरानो हार्मोनियम, तबला, गितार, मादल लगायत म्युजिकका सबै सामान ग्यारेन्टीका साथ मर्मत गरिनुका साथै नयाँ बिक्री तथा साटफेर पनि गरिन्छ।

Hardik ivf

बिमलको हार्मोनियम यात्रा

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका- १३ का ३१ वर्षीय विमल शाह अहिले सिनामंगलस्थित आफ्नै ‘श्री पशुपतिनाथ हार्मोनियम मर्मत तथा बिक्री केन्द्र’मा व्यस्त रहन्छन्। यहाँ उनले हार्मोनियम उत्पादन तथा बिक्री-वितरण, वाद्यवादन मर्मत र आफ्नो सीप अरुलाई सिकाउने गर्छन्।

विमल हार्मोनियमका पार्टपुर्जा र पर्दासँग खेल्न थालेको झन्डै १५ वर्ष भयो। उनी १६ वर्षको उमेरमा काम खोज्दै काठमाडौं आएका थिए। काठमाडौंको असनमा उनका भिनाजु हरेराम रूपनारायणको हार्मोनियम मर्मत पसल थियो। त्यहीँबाट उनको हार्मोनियमसँगको हार्मोनिक सम्बन्ध सुरु भयो भयो। ‘गाउँबाटै एसएलसी दिएपछि काठमाडौं आएको थिएँ। यहाँ आउँदा के गर्छु भन्ने सोचेको थिइनँ,’ उनी भन्छन्, ‘भिनाजुको हार्मोनियम पसलमा बस्‍न थालेपछि त्यसैमा इन्ट्रेस्ट लाग्न थाल्यो र त्यसैलाई निरन्तरता दिएँ।’

हार्मोनियमको मर्मत सम्बन्धमा अन्तिम ज्ञान हो, ट्युनिङ। ट्युनिङ जानेको छैन भने हार्मोनियम बनाउनुको अर्थ रहँदैन। करिब चार वर्ष भिनाजुको पसलमा काम गरेपछि उनलाई ट्युनिङको तालिम लिनैपर्ने बोध भयो। त्यसपछि उनी कलकत्ताको लालबजार पुगे। त्यहाँ दुई वर्ष जति ट्युनिङको तालिम लिएर काठमाडौं फर्केपछि पनि उनी सोझै अगाडि बढ्न पाएनन्। उनले केही समय आफ्नो प्रतिभा देखाउनुपर्ने र आफूलाई खार्नुपर्ने भयो। ‘तालिम लिएर फर्केको एक-दुई वर्ष त कामका लागि यताउता भौँतारिएँ। अरुको पसलमा काम गर्थें,’ उनी भन्छन्, ‘पहिला काम खोज्न दिनरात हिँड्नुपर्थ्यो, अहिले कामले मलाई खोज्दै आउँछ।’ 

३० हजार रुपैयाँबाट पसल सञ्चालन 

सिनामंगलमा रहेको पसल उनले २०७४ मा खोलेका हुन्। यो पसल सञ्चालनमा ल्याउँदा उनीसँग जम्मा ३० हजार रुपैयाँ थियो। ‘दाजुभाइ तथा साथीहरूले काम राम्रो छ, आफ्नै पसल खोल भनेको भरमा आँटेको थिएँ। समयले साथ दियो,’ उनी भन्छन्, ‘सुरुमा मर्मतको काम, पछि ट्युनिङ सिकेँ र अरुलाई सिकाउन थालेँ। अहिले आफ्नै ब्रान्ड ‘बिमल’ बनाउन थालेको छु।’

उनले आफ्नो सीप श्रीमती (सोनी शाह)लाई पनि सिकाएका छन्। कक्षा १० सम्म पढेकी सोनीले हार्मोनियम बनाउन, वाद्यवादन मर्मत गर्न सघाउँछिन्। ‘अहिले उनी पसलको सामान लिन दिल्ली गएकी छिन्,’ विमलले भने। 

उनले हार्मोनियम उत्पादनका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ भारतको दिल्ली र कलकत्ताबाट ल्याउने गरेका छन्। उनका ग्राहकमा नेपालका ख्यातिप्राप्त कलाकार रहेका छन्। 

बजार 

उनले उत्पादन गरेका हार्मोनियम विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रमा बिक्री हुने गर्छ। पछिल्लो समय अमेरिका, क्यानडा लगायत देशबाट पनि बिमल ब्रान्डका हार्मोनियमको अर्डर आउन थालेको उनी बताउँछन्। ‘भजन कीर्तन धेरै हुने भएकाले उपत्यकामै धेरै हार्मोनियम बिक्री हुन्छ,’ उनी भन्छन्, ‘अहिले देशका ७७ वटै जिल्ला सहित विदेशमा समेत हार्मोनियम निर्यात गर्न थालेको छु।’ 

सिनामंगलमा पसल सञ्चालनमा ल्याएको चार वर्षभित्र उनले चारवटा नयाँ सोरुम तथा मर्मत पसल खोलिसकेका छन्। आफ्ना सोरुम र मर्मत पसलमा करिब १२ कर्मचारी कार्यरत रहेको उनी बताउँछन्। ‘१५ हजारदेखि एक लाखसम्मका हार्मोनियम बिक्री हुन्छ। त्यसैले यति नै आम्दानी हुन्छ भन्न सकिन्न,’ उनी भन्छन्, ‘सुरुको लकडाउनमा मात्रै करिब ८० वटा हार्मोनियम बेचेको थिएँ। मकहाँ कम्तीमा दुई सयवटा हार्मोनियम स्टकमै हुन्छ।’ 

उनलाई एउटा नयाँ हार्मोनियम बनाउन करिब ८ घन्टा लाग्छ। हार्मोनियम व्यवसायबाट निकै सन्तुष्ट देखिएका शाह नयाँ पुस्ताले पनि यसलाई निरन्तरता दिऊन् भन्ने चाहन्छन्। त्यही कारण श्रीमती, छोरा र भान्जालाई आफ्नो सीप सिकाइरहेका छन्।

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्