पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा
पाँचथर, कात्तिक ११ : बाढीले निबुखोलास्थित पुलमा क्षति पु¥याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ।तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर...
पाँचथर, कात्तिक ११ : बाढीले निबुखोलास्थित पुलमा क्षति पु¥याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ।
तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना कार्यालय, फिदिमले मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो। उक्त पुल फिदिम नगरपालिका–४ र कुम्मायक गाउँपालिका–४ को सीमा निबुखोलामा रहेको छ।
यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले उक्त पुलमा क्षति पु¥याएको थियो। पुलको मूल संरचनामा क्षति नभएको तर जमिनतर्फको भाग बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ। बाढीले बगाएको भाग ढुङ्गा र माटो हालेर तत्कालका लागि यातायात सेवा सञ्चालन गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
कुम्मायक र तुम्बेवा गाउँपालिकासहित फाल्गुनन्द गाउँपालिकाका केही वडालाई सदरमुकामसम्म जोड्ने उक्त पुलमा क्षति हुँदा एक सातासम्म आवतजावत ठप्प भएको थियो। फिदिम–यासोक सडक सञ्चालनमा आए पनि उत्तरे–यासोक सडक तथा यासोक–मुलघाट सडक सञ्चालनमा आउन सकेको छैन।
वर्षाका कारण जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ। वर्षाका कारण ठाउँठाउँमा पहिरा गएको छ। पहिराले अवरुद्ध मेची राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको छ। जिल्लामा बाढी र पहिराबाट ३१ जनाको ज्यान गएको छ। तीन जना बेपत्ता छन्। बाढी र पहिराले भौतिक संरचना, कृषि उपजलगायतमा क्षति पुगेको छ।
आठवटै स्थानीय तहमार्फत बाढी र पहिराबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।












