अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी
ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ। अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै ट्रेनलाई विदाई गरेका छन्।
जनकपुर, मंसिर ७ : भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन(रेल)को आज (सोमबार) औपचारिक रुपमा उद्घाटन भएको छ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हरियो झण्डा हल्लाएर उक्त ट्रेन सञ्चालनको उद्घाटन गरेका छन्।
ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ। अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै ट्रेनलाई विदाई गरेका छन्।
तोकिएको समयभन्दा केही ढिलो भएकोले ट्रेन भोली विहान सम्भवतः ९ः३० बजेसम्म जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुग्ने अनुमान छ।
यस ट्रेनमा ११०० जना विशिष्ट व्यक्ति, विभिन्न सरकारी र कुटनीतिक निकायका पदाधिकारी, साधुसन्त, महात्माहरु रहेको नेपाल रेल्वेका प्रबन्ध संचालक परिवेश पराजुलीले जानकारी दिए।

उनका अनुसार पहिलो पटक आउने रेल तीन घण्टा मात्र जनकपुरधाममा विश्राम गरी मंगलबार नै १ बजे दिउँसोसम्म फर्किने छ।
रेल नियमित नभएकाले यस पटक आउने यात्रुहरुलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको प्रबन्ध संचालक पराजुलीले बताए।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा यात्रुहरुको स्वागतदेखि, मन्दिर घुमाउने र खाजा खुवाउनेसम्मको व्यवस्थापन गरिएको छ।
स्वागत समारोहमा यात्रुहरुलाई स्वागत गर्नका निम्ति श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको विशेष उपस्थिति रह्ने पराजुलीको भनाई छ। स्वागत समारोहका लागि रेल्वे स्टेशनमै पंडाल, स्टेज र बस्ने व्यवस्था मिलाइएको पराजुलीले बताए।
यात्रुहरुको स्वागतमा झाँकी, सांस्कृतिक नृत्यलगायतका कार्यक्रम रेल्वे स्टेशनमै हुने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए।
उनका अनुसार जनकपुरधामको मिनाप संस्थालाई सांस्कृति नृत्यलगायतका मनोरञ्जनात्मक कार्यक्रमको जिम्मेवारी दिइएको छ।

यात्रुहरुको सुविधाका लागि रेल्वे स्टेशनदेखि जानकी मन्दिरसम्मको मुल सडकको सरसफाइमा विशेष ध्यान दिइएको छ भने सडकको दुबै छेउमा नेपाल–भारतको झण्डा राखिने मेयर साहले जानकारी दिए।
साथै फूलमालाले प्रत्येक यात्रुलाई स्वागत गर्ने मेयर साहको भनाइ छ। उनका अनुसार हिँड्ने सक्ने यात्रुहरुलाई पैदल नै मन्दिरसम्म स्वागतका साथ लगिने र हिँड्न नसक्ने यात्रुहरुका लागि निःशूल्क गाडिको व्यवस्था पनि गरिएको छ। मेयर साहले अयोध्या जनकपुरधाम रेलले त्रेताकालिन सम्बन्धलाई थप मजबुत बनाएको बताए।
जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासका अनुसार रेल्वे स्टेशनमै जनकपुरधामका साधुसन्त पनि उपस्थित भएर यात्रुहरुको स्वागत गर्नेछन्। उनले जानकी मन्दिरमा पूजा आराधनाका लागि मन्दिर व्यवस्थापन समितिले व्यवस्था मिलाएको बताए। वर्षौ देखिको सपना साकार भएकोमा छोटे महन्थ दासले प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन्।
अयोध्या जनकपुरधाम रेल सेवा सुरु हुनाले जनकपुरधामसहित यस क्षेत्रको पर्यटन व्यवसायी र व्यापारीहरुमा विशेष उत्साह देखिएको छ। हप्तामा एक पटक आउने सरयू कमला एक्सप्रेसले दुबै देशबीच रहेको बेटी रोटीको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास गरिएको छ।






