Kathmandu Press

ठूला दलको अधिवेशनमा महिला नेतृत्व न्यून

दमौली, कात्तिक ११ : दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का वडा अधिवेशन हालै सम्पन्न भयो। कांग्रेस तनहुँको दशवटै पालिका...
ठूला दलको अधिवेशनमा महिला नेतृत्व न्यून

दमौली, कात्तिक ११ : दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का वडा अधिवेशन हालै सम्पन्न भयो। कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ। एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ।

ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ। कांग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने एमालेको एक पालिकामा महिलाले नेतृत्व भएको छ। दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी अध्यक्ष चुनिएकी छन् । कांग्रेसको भने दश वटै पालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन्।

Hardik ivf

एमालेको  म्याग्दे, ऋषिङ, घिरिङ र देवघाट गाउँ कमिटीको अधिवेशन हुन बाँकी छ। ती स्थानीय तहमा पनि महिला नेतृत्वमा आउने सम्भावना एकदमै कम छ।

चार स्थानीय तहको पदाधिकारीमा भने महिलाको प्रतिनिधित्व भएको छ। व्यास नगर कमिटीको उपसचिवमा सीता थापा पाण्डे, भानुका उपसचिवमा रुपा लामा, शुक्लागण्डकीमा उपसचिवमा विष्णुमाया ढकालले मौका पाएका छन्।

वडा तहको अधिवेशनमा भने  एमालेका दुई महिला वडाध्यक्षमा निर्वाचित भएका थिए। जिल्लाका ८५ वडामध्ये दुई वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन्। अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्षमा गीता महत र आँबुखैरेनी गाउँपालिका–२ को अध्यक्षमा सम्झना विक निर्वाचित भएका छन् । गत असोजमा सम्पन्न  कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्ला चार वडामा महिला वडाध्यक्ष निर्वाचित भएका थिए।

व्यास –१४ का वडाध्यक्षमा नरीमाया राना, बन्दिपुर –४ का अध्यक्षमा सीता थापा, बन्दिपुर –५ का अध्यक्षमा रीता तिवारी र ऋषिङ –१ का वडाध्यक्षमा सविना राना निर्वाचित भएका थिए। एमाले नेतृ बसुन्धरा घर्तीले अझै पनि महिलालाई नेतृत्व दिन नचाहने प्रवृत्ति कायमै रहेको र महिलाले अवसर पाए नेतृत्व गर्न सक्षम रहेको बताइन् । ‘महिलालाई सहजै नेतृत्वमा आउन दिइँदैन, पुरुष प्रवृत्ति हावी छ,’ उनले भनिन्।

एमाले जिल्ला सचिव भगवती न्यौपानेले सबै पालिकाहरुमा महिलाको सक्रियता उत्साहजनक रहेको बताइन्। पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई समस्या भइरहेको नेपाल महिला सङ्घका अध्यक्ष पवित्रादेवी पौडेलको भनाइ छ । उनले भनिन्, ‘महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको छ , यसलाई परिवर्तन गर्न आवश्यक छ ।’

 

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्