निगम कार्यकारी अध्यक्षमा अधिकारीको नियुक्तिमा हाम्रो स्वागत छ : संघर्ष समिति
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीको नियुक्तिमा आफूहरूको विरोध नरहेको संयुक्त ट्रेड युनियन संघर्ष समितिले बताएको छ ।
काठमाडौं, कात्तिक १० : नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीको नियुक्तिमा आफूहरूको विरोध नरहेको संयुक्त ट्रेड युनियन संघर्ष समितिले बताएको छ ।
बुधबार विज्ञप्तिमार्फत समितिले अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णयप्रति निगममा क्रियाशील ट्रेड युनियनहरूको विरोध रहेको समाचारमा कुनै किसिमको सत्यता नरहेको जनाएको छ ।
८ कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा निगम कार्यकारी निर्देशकमा अधिकारीलाई नियुक्त गरेर सरकारले आफ्ना माग पूरा गर्नेतर्फ सकारात्मक वातावरण तयार गरेको पनि समितिको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद र मन्त्री प्रेम आलेप्रति उनको नियुक्तिप्रति समितिले आभार व्यक्त गरेको छ ।
उक्त निर्णय २५ असोजमा मन्त्री आलेसँग भएको सहमतिअनुसार रहेको पनि समितिले स्पष्ट पारेको छ । विज्ञप्तिमा नेवानि कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर, नेराक संगठन नेवानिका अध्यक्ष राजु श्रेष्ठ र नेवानि कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीको हस्ताक्षर छ ।












