काठमाडौं विश्वविद्यालय र युलेन्स एजुकेसन फाउन्डेसनबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने समझदारी
काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसन बीच एक्काइसौँ शताब्दीको सिकाइ र विद्यालयका लागि आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकाससम्बन्धी समझदारी भएको छ ।
ललितपुर, कात्तिक १० : काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसन बीच एक्काइसौँ शताब्दीको सिकाइ र विद्यालयका लागि आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकाससम्बन्धी समझदारी भएको छ ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुको उपस्थितिमा ललितपुर हात्तीवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन परिसरमा बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेल र युलेन्स एजुकेसन फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अरनिकोकुमार पाँडेले समझदारी पत्रमा हस्ताक्षर गरे ।
शिक्षाका क्षेत्रमा प्रगतीशील काम गरिरहेका दुई अग्रणी संस्थाबीचको साझेदारीमा सञ्चालन हुन लागेको शिक्षक शिक्षा, शैक्षिक नेतृत्व तालिम तथा शिक्षा क्षेत्रमा गरिने अध्ययन अनुसन्धानले दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्ने लक्ष्य राखिएको छ । युलेन्स एजुकेसन फाउन्डेसनले स्थापना गरेको युलेन्स सेन्टर फर एजुकेटर डेभलपमेन्टअन्तर्गत यो काम सम्पन्न गर्ने योजना छ ।
त्यस अवसरमा उपकुलपति प्रा. डा. थापाले दुई अग्रणी संस्थाबीचको सहकार्यले विद्यालय शिक्षामा परिवर्तन ल्याउन उल्लेखनीय भूमिका वहन गर्ने विश्वास व्यक्त गरे । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. डा. लुइँटेलले शिक्षक तालिमको महत्त्वमाथि प्रकाश पार्दै अबको शिक्षकले एक्काइसाँै शताब्दीको नागरिक तयार पार्न अहं भूमिका वहन गर्नुपर्ने बताए ।
यस्तै, युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष पनेरुले प्रगतिशील शिक्षाका रचनात्मक चिन्तन, महत्त्वपूर्ण सोच, बालकेन्द्रित सिकाइ, न्यायमा आधारित शिक्षा र खोजमा आधारित सिकाइमाथि आफ्नो विचार राखे । कार्यक्रममा प्रा. डा. लक्ष्मण ज्ञवाली, युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत मेदिनबहादुर लामिछानेलगायतको उपस्थिति थियो ।
दुवै संस्थाले सञ्चालन गर्ने शिक्षक तथा शैक्षिक नेतृत्व तालिम कार्यक्रमको मुख्य उद्देश्य एक्काइसौँ शताब्दीका शिक्षकहरूलाई उच्च गुणस्तरको पूर्वसेवाकालीन र सेवाकालीन तालिम प्रदान गर्नु छ । नयाँ पुस्ताका शिक्षकलाई तालिम दिने लक्ष्य राखेको यस साझेदारी कार्यक्रमले देशको नवीन शिक्षण सिकाइका आवश्यकता पूरा गर्न र शिक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । शिक्षण सिकाइ अभ्यासहरूमा अनुसन्धान गर्न, तथ्यमा आधारित निर्णय निर्माणमा योगदान पु¥याउन र राष्ट्रिय स्तरमा नीति निर्माणमा समेत सहयोग पु¥याउने दुई संस्थाबीचको सहकार्यको लक्ष्य छ ।
शिक्षामा अनुसन्धान गर्न समर्पित काठमाडौं विश्वविद्यालय र विद्यालयमार्फत प्रगतिशील शिक्षा कार्यान्वयनमा अग्रणी भूमिका वहन गरिरहेको युलेन्स एजुकेसन फाउन्डेसनबीचको सहकार्यले शिक्षक, विद्यालय र अन्य सरोकारवालाहरूका लागि प्रशस्त अवसर सिर्जना हुने आशा गरिएको छ ।
उक्त साझेदारी कार्यक्रमलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्न काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डिनको अध्यक्षता र युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृतको सह–अध्यक्षता रहने गरी पाँच सदस्यीय एक सञ्चालन समितिसमेत गठन गरिएको छ । दुवै संस्थाले आगामी दिनमा शिक्षक र शैक्षिक नेतृत्वहरूका लागि छोटो अवधिका प्रशिक्षण कार्यक्रमहरू सुरु गर्ने योजना बनाएका छन् ।
देशको शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउन सन् १९९७ मा स्थापना भएको काठमाडौं विश्वविद्यालयका सातवटा विद्यालयमध्ये स्कुल अफ एजुकेसन एउटा हो । स्कुल अफ एजुकेसनले स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
यस्तै, युलेन्स एजुकेसन फाउन्डेसन नेपालमा विश्वस्तरीय शैक्षिक संस्थाहरू सिर्जना गर्ने लक्ष्यका साथ १ जनवरी २००६ मा नाफा वितरण नगर्ने शैक्षिक प्रतिष्ठानका रूपमा स्थापना भएको हो । पाँच सदस्यीय बोर्ड अफ ट्रस्टीद्वारा सञ्चालित यो प्रतिष्ठानका सबै ट्रस्टीले स्वयंसेवकका रूपमा काम गरिरहेका छन् ।
युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित युलेन्स स्कुलमा किन्डरगार्टेनदेखि माध्यमिक तहसम्मका कक्षाहरू र अन्तर्राष्ट्रिय आईबी डिप्लोमा तहको पढाइ पनि भइरहेको छ । सिकाइलाई जीवन पर्यन्त बनाउन र सिकाइलाई विद्यार्थीको जीवन र जगतसँग जोड्न काभ्रेको नालामा एउटा आउट डोर लर्निङ सेन्टर पनि सञ्चालन गरेको छ । यस संस्थाले निकट भविष्यमा बालबालिकाका लागि पठन सामग्री प्रकाशन गर्ने र स्नातक तहको लिबरल आर्टस् कलेज पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ ।












