Kathmandu Press

भीमबहादुर विश्‍वकर्मा प्रकरण : मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा बीभत्स हत्या

भरतपुर-४ का भीमबहादुर विश्‍वकर्मा (५८ वर्ष) दलित समुदायका हुँदैनथे त यति क्रुर र बीभत्स हत्या हुँदैनथ्यो सायद। महानवमीमा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा पाइपले कुटेर उनको बीभत्स गरियो।
भीमबहादुर विश्‍वकर्मा प्रकरण : मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा बीभत्स हत्या

काठमाडौं, कात्तिक १० : दसैंको माहोल थियो, गाउँघरमा दसैंको रमझममा रमाइरहेका बेला चितवनका एक दलित बाटोमा जनावरजस्तै गरी मारिए।

भरतपुर-४ का भीमबहादुर विश्‍वकर्मा (५८ वर्ष) दलित समुदायका हुँदैनथे त यति क्रुर र बीभत्स हत्या हुँदैनथ्यो सायद। २८ असोजमा महानवमीको दिन मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा पाइपले कुटेर उनको बीभत्स गरिएको थियो।

उनको हत्याको कारण मदिरापान गरेर होहल्ला गरेको भन्दै अफवाह फैलाइयो। मदिरापान गरेर होहल्ला गरेकै कारण त के, कुनै पनि बहानामा हत्या गर्न कानूनले छुट दिएको छैन। दलित समुदायका नागरिकमाथि ३५ सय वर्षदेखि हुँदै आएको थिचोमिचो, दमन र अत्याचारको पछिल्लो कडी हो, भीमबहादुरको हत्या।

Hardik ivf

दलितका लागि मन्दिर कि मसानघाट ?

दसैंको महानवमीमा देश नै पर्वको माहोलमा थियो। भीमबहादुरको परिवार पनि दसैंको रौनकमा थियो। महानवमीकै दिन स्थानीय दुर्गा मन्दिरमा धार्मिक परम्पराअनुसार पूजा चल्दै थियो। दलित समुदायलाई भने मन्दिरमा पूजापाठ गर्न वर्जित गरिँदै आएको छ।

दलित समुदायले उक्त दुर्गा मन्दिरमा विगतमा दसैंका जमरा र अक्षता लगेर पूजा गर्थे। उनीहरूले चढाएका अक्षता र जमरा पुजारीले फिर्ता दिन्थे, भेटीस्वरूप चढाएको पैसा भने पुजारीले नै राख्थे। त्यसैमा भीमबहादुरको मनमा प्रश्‍न थियो। र, त्यही प्रश्‍न महानवमीको दिन मन्दिर अगाडि गएर दलित समुदायमाथि विभेद भएको भन्दै उनले आक्रोश पोखे।

दलित समुदायलाई पूजा गर्न प्रतिबन्ध गरिएको मन्दिरमा पस्‍न पाउनुपर्छ भन्दै भीमबहादुरले पोखेको आक्रोश कथित उच्च जातिका युवालाई सह्य भएन। र, दलित भएर कथित संस्कार भाँड्न लागेको बताउँदै दुई युवाले भीमबहादुरलाई संस्कार सिकाउन थाले। र, स्थानीय दिलिप श्रेष्‍ठ र श्रीराम बस्‍नेतले उनीमाथि पाइप, इँटा र मुक्काले प्रहार गर्न थाले। निरन्तरको प्रहारपछि बीच सडकमै भीमबहादुरको हत्या भएको उनका कान्छा ज्वाइँ विकास विश्‍वकर्माले बताए।

अस्पताल नपुर्‍याउँदै मृत्यु

विकास विश्‍वकर्मा र उनकी श्रीमती नजिकैको कपडा सिलाउने पसलमा कपडा लिएर फर्कंदै थिए। सोही क्रममा मन्दिरनजिकै मानिसको भीड देखे। भीडनजिकै पुग्दा थाहा पाए, त्यहाँ उनका ससुरा भीमबहादुर रगताम्य ढलेका थिए।

के भयो, कसरी भयो भन्दाभन्दै उनले ससुराको टाउको पछाडिपट्टिबाट रगत बगिरहेको देखे। उनकी श्रीमती (भीमबहादुरकी छोरी) बुवाको त्यो अवस्था देखेर त्यहीँ अर्धचेत भइन्, रुन कराउन थालिन्। ‘एक्कासी बुबाको त्यस्तो अवस्था देख्दा म अत्तालिएँ, बुवालाई कहाँ के भएको छ भनेर नियाल्नभन्दा पनि छिटो अस्पताल पुर्‍याउन पाए हुन्थ्यो भनेर गाडीमा हाले,’ उनले भने। बुवाको बीभत्स अवस्था देखेर श्रीमती सम्हालिन नसकेपछि श्रीमतीलाई घर पुर्‍याएर तुरुन्तै पैसा लिएर अस्पताल पुगे, विकास। हतारोमा अस्पताल पुग्दा थाहा भयो, भीमबहादुरको मृत्यु भइसकेको रहेछ।

देवीलाई खुशी पार्न बोका पूजा गर्ने योजनामा थिए भीमबहादुर

दसैंको समयमा सबै परिवारलाई सामान्य किनमेल गरी दसैंको पूजा गर्ने योजनामा थियो, भीमबहादुरको परिवार। बुटवलबाट जेठी छोरी र नाति आएका थिए, दसैं मनाउन। नातिलाई लिएर सामान लिन गएका थिए, भीमबहादुर।

मन्दिरमा बोकाको पूजा गरे सबै परिवारलाई राम्रो हुन्छ भन्‍ने सोचेर पूजा गर्ने योजनामा रहेको विकास बताउँछन्। सोही विषयमा पूजा गर्न पाइन्छ कि पाइँदैन भनी सोध्न गएका उनी कहिल्यै घर फर्केनन्।

को थिए भीमबहादुर ?

भरतपुर-४ का भीमबहादुरको जीवनशैली सामान्य थियो। तीन छोरी र एक छोराका बाबु थिए उनी। श्रीमतीसहित पाँचजनाको परिवार हो उनको। तीन छोरीको विवाह भएपछि घरमा तीन सदस्य मात्र बस्थे।

गाउँमा दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका भीमबहादुरलाई गाउँमा मिस्त्रीको कामले चिनिन्थ्यो। पछिलो समय टोल सुधार समितिद्वारा घरको सरसफाइ देखेर प्रोत्साहनस्वरूप पुरस्कृत पनि गरिएको थियो। आफ्नो दैनिक काम गर्दै खाने उनलाई अरूको भर पर्नुपर्ने अवस्था पनि थिए।

मुद्दा फितलो बनाउन अफवाह फैलाउने प्रयास

भीमबहादुरको हत्यापछि उनीविरुद्ध अफवाह फैलाइएको परिवारको भनाइ छ। दलित हुन्, केही गर्न सक्दैनन् भनी हेपेर उनको हत्या गरिएको उनीहरूको आरोप छ।

उनी बिहान घरबाट निस्केका थिए। मदिरा पिएर उनी मातेको भन्‍ने आरोप परिवारले स्वीकारेको छैन। तर, सञ्चार माध्यममार्फत रक्सी खाएर उनको आफैँ मृत्यु भएको भ्रम फैलाइएको ज्वाइँ विकाले बताए। ‘यदि बुवाले होहल्ला नै गर्नुभएको भए, नचाहिदो शब्द बोल्नु भएको भए पनि परिवारलाई खबर गरेर घर लैजान भन्थे होलान्,’ उनी भन्छन्, ‘अथवा प्रहरीलाई जिम्मा लगाइदिए पनि हुन्थ्यो तर यसरी कुकुर बिरालोलाई मारेजसरी मार्नुपर्थ्यो ?’

दलित समुदायका भीमबहादुरको ठाउँमा अन्य गैरदलित समुदायका व्यक्ति भएको भए हत्या नै गर्ने हिम्मत कसैले नगर्ने उनी बताउँछन्। ‘धेरै बोल्नुपर्दैन दसैंको बेला छ घर जानु भनेर पठाउनु साटो हत्या नै गर्नुपर्ने कारण के थियो ?’ उनी प्रश्‍न गर्छन्। अन्य समुदायको भए यस्तो अवस्था नहुने उनी बताउँछन्। ‘आफ्नै कारणले बित्नुभएको हो भने पनि त्यसरी कसैलाई जानकारी नदिई अस्पतालसम्म लैजाने तयारी कसरी गरियो ? म त्यो ठाउँमा पुगेर पो थाहा पाएँ, नत्र आफै दिलिप श्रेष्‍ठले परिवारलाई जानकारी नगराई गाडीमा लिएर जानुपर्ने कारण के हो ?’ उनी प्रश्‍न गर्छन्, ‘बुढो मान्छेलाई टाउकोमा हानेर मारेको स्थानीय बासिन्दाले देखेको कुरा कसरी झुटो हुन्छ ?’

भीमबहादुरको शव अहिलेसम्म भरतपुर मेडिकल कलेजमै छ। स्थानीय युवाले जातीय दम्भ नियन्त्रण नगर्दा भएको घटनालाई भवितव्य बनाउन खोजिएको पीडित परिवारको भनाइ छ। यो घटनामा जात व्यवस्थाप्रति युवाको सोच र चेतनास्तर देख्दा शरीर र उमेरले युवा भएर मात्र देशमा समानता लागू नहुने प्रष्‍ट हुन्छ। उच्च जातीय अहंकार बोकेका यस्ता युवाले समाजमा जातीय विभेद रहिरहोस् भनेर मलजल गरिरहेका छन्। तिनै युवाका प्रतिनिधि पात्र हुन्, दिलिप श्रेष्‍ठ र सीताराम बस्‍नेत।

दुर्गा मन्दिरको स्थापना

भनिन्छ, भगवानको आँगन हरेकका लागि खुला रहन्छ र भगवानमा विश्‍वास राख्ने हरेक मानिसमा भगवानको बास हुन्छ। तर, दलित समुदायका लागि कुनै मन्दिरको आँगन खुला छैन, कुनै देवताको दर्शन सहज छैन। मन्दिरभित्र गएर पूजा गर्नु त टाढाको कुरा, मन्दिर छोएकै कारण दलितको हत्या भएका प्रशस्त उदाहरण छन्। भीमबहादुरको हत्या त्यसको पछिल्लो कडी हो।

युवा अभियन्ता महावीर विश्‍वकर्माका अनुसार दुर्गा मन्दिर स्थापना गरिनुअघि त्यो ठाउँमा चौतारो थियो। र, मन्दिर सानो आकारको थियो। उनी भन्छन्, ‘त्यतिबेला पनि दलितहरूले लगेको फूल अक्षता मन्दिरमा चढाउन पाउँदैनथे।’ पछि चौतारो मासेर मन्दिर भवन गरिएको उनी बताउँछन्। त्यो पनि भवनको एकतला माथि मन्दिरको रूप दिइएको थियो।

माथिल्लो तलामा मन्दिर बनाइनुको पनि विशेष कारण रहेको उनी बताउँछन्। माथिल्लो तलामा भएको मन्दिरमा दलित समुदाय सहज तरिकाले प्रवेश गर्न नपाउन् भनी तयार पारिएको जानकारी स्थलगत अनुसान्धानका क्रममा पाएको उनी बताउँछन्। माथिल्लो तलामा दुर्गाको मन्दिर र तल्लो तलमा सहकारीको कार्यालय छ।

‘अझ खोजी गरिनुपर्ने अर्काे जटिल विषय के भने स्थानीय बासिन्दाका अनुसार अहिले सहकारीको अफिस भएको यो तल्लो तलामा पहिले स्वास्थ्य चौकी थियो,’ उनी भन्छन्। स्वास्थ्य चौकीमा जो पनि आउने भए त्यसैले खासगरी दलित समुदाय उपचारका लागि जाँदा मन्दिर छोइने भएकाले स्वास्थ्य चौकीलाई करिब तीन किलोमिटर पर सारिएको उनी बताउँछन्।

जातीय भेदभाव र छुवाछुतका आधारमा मारिएकाहरू

यसरी मन्दिर, धारा छोइएको नाममा होस् या दलित समुदायमाथि गाली र अपमान गरेर, विविध कारणले दलित समुदाय दिनप्रतिदिन मारिने तथ्यांक बढ्दो छ। समता फाउन्डेसनले प्रकाशित गरेको पुस्तक ‘दलित मानव अधिकार पुस्तक २०७७’ अनुसार उक्त वर्ष दलित समुदायमाथि जातीय आधारमै हिंसा र विभेदजन्य एक सय १७ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन्। तीमध्ये जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ३१ वटा घटना छन् भने दलित भएकै कारण हत्या गरिएका १३ वटा घटना छन्।

प्रहरी हिरासतमा तीनजनाको मृत्यु भएको छ भने बलपूर्वक गर्भपतन गराइएको एउटा घटना छ। यस्तै, शंकास्पद मृत्यु एक, बेपत्ता एक, जबर्जस्ती करणीसम्बन्धी १७ र जबर्जस्ती करणी प्रयासका घटना चारवटा भएका छन्। अन्तरजातीय प्रेम र विवाहमा गरेकै कारण ११ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ। दलित भनी कुटपिटसम्बन्धी २४ वटा घटना भएका छन्। यस्तै, आत्महत्या दुरुत्साहनसम्बन्धी नौ र बोक्सीको आरोपका दुई घटना भएको तथ्यांकमा उल्लेख छ।

छुवाछुतमुक्त घोषणा भएपछि पनि नेपालमा जातीय भेदभाव तथा छुवाछुतको तथ्यांकको ग्राफ बढ्दो छ। जातकै आधारमा हुने विभेदजन्य घटनाको विवरण सतही ढंगले मात्र सार्वजनिक भएका छन्। दलित महिलामाथि जबर्जस्ती करणी, बलात्कारपछि हत्या, क्वारेन्टिन, किरियाघरदेखि हरेक ठाउँमा, हरेका क्षेत्रमा दलित समुदायहरू जातकै आधारमा अपहेलित मात्र हुँदैनन्, ज्यानै गुमाउनु परेको विषय सार्वजनिक चासोमा कहिले पर्छ ?

अमेरिकामा अश्‍वेत युवक जर्ज फ्लोयडलाई गोरा जातिका प्रहरीले सडकमै घाँटी थिचेर गरेको हत्याको विश्‍वभर विरोध भयो। संसारभरका युवा र बौद्धिक जमातले ‘ब्ल्याक लाइभस् म्याटर्स्’ अभियानमा साथ दिए। नेपालको दृश्य फरक छ। भीमबहादुर विश्‍वकर्माहरूले दलित भएकै कारण दिनदहाडै निर्घात पिटाइबाट विभत्स मृत्युवरण गर्नुपरेको घटनामा ‘दलित लाइभ्स म्याटर्स्’ अभियान किन चल्दैन ? किन मौन हुन्छन् यस्ता परिस्थितिमा अभियन्ताहरू ? लेखक आहुतिले भनेजस्तै जातीय विभेदविरुद्ध हरेकको मौनता नै समर्थन हुने गर्छ। त्यसो भए सामाजिक विकृतिविरुद्ध मौन समर्थन कहिलेसम्म ?

भीमबहादुर विश्‍वकर्मा नेपाली समाजमा जकडिएर रहेको उच्च जातीय अहंकारवादी सोच र चेतनास्तरको शिकार बने। तर, यो घटना अपराध हो र गलत हो भनेर कानूनी कारवाहीका लागि बौद्धिक भनिएको जमात चुप छ, मौन विल्कुल मौन। सोही कारण दलित समुदायका मानिस खुलेआम मारिँदा, बलात्कृत हुँदा कसैको चासो देखिँदैन। बरु, विभिन्‍न कुतर्क गरिन्छ यत्रतत्र। मिलेर बसेको समाज भाँडिएको आरोप लगाइन्छ। एउटा दलित, जसले अरू मानिससरह मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा उसको टाउको पाइप प्रहार गरेर फुटाइन्छ, मुक्का प्रहार गरिन्छ, मनोमानी तरिकाले हत्या गरिन्छ अनि रक्सीको नसामा आफैँ लडेर मरेको भनी अनावश्यक भ्रम छरिन्छ।

परिवारको माग

भीमबहादुरको हत्या आरोपित दिलिप र श्रीरामको परिवारले मिल्न दबाब दिइरहेको विकास बताउँछन्। घटनालगत्तै त्यसलाई धेरै नबढाउन बरु आवश्यक माग पूरा गरिदिने भन्दै थुम्थुम्याउने प्रयास भएको उनी बताउँछन्।

‘मेरो साला किसान बिकले इन्कार गरे, जति पैसा दिए पनि मेरो बुवा फर्किएर आउनुहुन्‍न भने। त्यसपछि के गर्दो रहेछस् हेरौँला भनी धम्की दिइयो,’ विकास भन्छन्, ‘यस घटनामाथि निष्‍पक्ष छानविन होस्, राहत क्षतिपूर्तिको कुरा होइन। अपराधीलाई हदैसम्मको कारवाही होस्।’

के भन्छ प्रहरी ?

भीमबहादुरको हत्याबारे जाहेरी आएको जिल्ला प्रहरी चिवतनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए। ‘आरोपित दुईजना थुनामा छन्, यस मुद्दाउपर अनुसन्धान भइरहेको छ,’ उनले भने। घटनाउपर अनुसन्धान भइरहेको हुँदा अहिले नै घटनाको कारण पत्ता लाग्‍न नसकेको उनले बताए।

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्