बाजुरामा भोलिदेखि भेरोसेल खोप लगाइँदै

बाजुरा, कात्तिक १० : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप भोलि (बिहीबार) बाट लगाइँदैछ।
कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। उनका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइनेछ।
खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वासथ्य अधिकृत पन्तको भनाइ छ।
बिहीबारबाट सुरु हुने कोरोना विरुद्धको खोप जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमार्फत लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिए।
सबै पालिकामा दोस्रो चरणको कोरोना विरुद्धको खोप भेरोसेल पुगिसकेकाले बिहीबारबाट सञ्चालन हुने उनले जानकारी दिए। जिल्लका नौ पालिकाका १३ हजार ८९४ महिला र ९ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई दोस्रो चरणको कोरोना विरुद्धको भेरोसेल खोप लगाइने खोप सुपरभाइजर चन्दले बताए।












