छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं, कात्तिक १० : महोत्तरी, मकवानपुर, धनुषा, कास्की र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित सडकमा ज।१२...
काठमाडौं, कात्तिक १० : महोत्तरी, मकवानपुर, धनुषा, कास्की र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित सडकमा ज।१२ प ४९७७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सिन्धुली मरिनखोला नगरपालिका–१ बस्ने ३८ वर्षीय हरि बहादुर भुजेलको मंगलबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मनकामना चोकमा ना३त ३६६८ नम्बरको ट्याक्टरले ना२ह ५८६५ नम्बरको अटोलाई मंगलबार राति ठक्कर दिँदा अटोमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय पदम बहादुर बिकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१० गोपालपुरस्थित सडकमा ज१त ६६०३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँस्थित मामाघर बस्ने महोत्तरी पिपरा गाउँपालिका–३ रतौल घर भएका शम्भु मोचीको छोरा १० वर्षीय आकाश महराको मंगलबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा सागर एकेडेमी बोर्डिङ स्कुल हेम्जाको ना१क २३७३ नम्बरको स्कुल बसबाट खसेर सोही स्कुलमा यूकेजीमा अध्ययनरत ८ वर्षीय रोमन तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ।
बसबाट खसेर गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा को१ख ७७८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया ठण्डेश्वरी भगतको मंगलबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












