अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन
डोटी, कात्तिक १० : बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ। बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत एक सातादेखि बन्द थियो।...
डोटी, कात्तिक १० : बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ। बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत एक सातादेखि बन्द थियो।
सडक डिभिजन कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले उक्त राजमार्ग सञ्चालन गरिएपछि सहज भएको हो। राजमार्ग सञ्चालनसँगै यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा यातायातका साधन सञ्चालन भइरहेका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।
अविरल वर्षाका कारण पहिरो जाँदा उक्त राजमार्गको रडुवामा कम्तीमा पनि एक सय मिटर सडक अवरुद्ध थियो। अवरुद्ध सडक मर्मत गरिएपछि राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेले जनाएको छ।
सडक सञ्चालन गरिएपछि साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारी साधनलाई पहिलो प्राथमिक्ता दिएर यात्रा गर्न दिइएको छ। राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण तथा यात्रु पैदल कष्टकर यात्रा गर्न बाध्य भएका थिए।












