Kathmandu Press

किसानका दुःख : नगरकोट क्षेत्रमा पञ्जीकरण नभएको धानमा लागेन बाला, लागेका बाला पनि पाकेनन्

भक्तपुर तेलकोट गैरीगाउँका किसानको खेतमा लगाइएको धान अझै हरियै छ । काटेर थन्क्याइसक्नुपर्ने बेलामा बाला लागेकै छैन, लागेका बाला पनि पाकेकै छैनन् ।
किसानका दुःख : नगरकोट क्षेत्रमा पञ्जीकरण नभएको धानमा लागेन बाला, लागेका बाला पनि पाकेनन्

काठमाडौं, कात्तिक १० : नगरकोट तेलकोट गैरीगाउँकी सम्झना तामाङको करिब दुई रोपनीमा रोपिएको धान अझै हरियै छ । धान काटेर थन्क्याइसक्नुपर्ने बेलामा बाला पाकेकै छैनन् । लागेका कुनै कुनै बाला पनि निकै साना छन् । गत वर्ष पनि उनले एकै जातको धान रोपेकी थिइन् । तर, बेलैमा पाकेर भित्र्याउन पाएकी थिइन् । र, धान पनि राम्रै फलेको थियो ।

४० वर्षीया सम्झनाका अनुसार उनले डीवाई–२८ (हाइब्रिड) जातको धान लगाएकी थिइन् । उनीसहित गैरीगाउँका अधिकांश किसानले करिब दुई सय रोपनीमा सोही जातको धान लगाएका छन् । गत वर्षसम्म आफ्नो दुई रोपनी खेतमा करिब ६ मुरी धान भित्र्याउने गरेकी तामाङ यस वर्ष बिलखबन्दमा छिन् । भन्छिन्, ‘मेरो त खासै धेरै खेतीपाती पनि छैन । ६ महिनाका लागि लागि खान पुग्ने धान यस वर्ष नआउँदा कसरी खर्च टार्ने चिन्ता लाग्न थालेको छ ।’

Hardik ivf

पाँच सदस्यीय उनको परिवारले सोही धानबाट वर्षभरि गुजारा चलाउँथ्यो । उनी भने क्लब हिमालयमा हाउस किपिङको काम गर्छिन् । आम्दानी घर व्यवहारमा खर्च हुँदा खेतीपातीबाट आउने धानले चामल खरिद गर्नुपर्दैनथ्यो । ‘यो वर्ष थप आर्थिक भार पर्ने भो,’ उनले चिन्ता व्यक्त गरिन् ।

उक्त जातको धान सरकारी निकायमा पञ्जीकरण भएको छैन । सोही कारण सरकारबाट क्षतिपूर्ति या राहतको सम्भावना पनि निकै कम छ ।

के भन्छन् धान विज्ञ ?

धान विज्ञ टीका कार्कीका अनुसार उक्त जातको धानको समस्या यस वर्ष जताततै देखिएको छ । नगरकोटमा जस्तै चाँगुनारायणलगायत स्थानमा पनि उक्त जातको धानमा बाला नलाग्ने र नपाक्ने समस्या छ ।

पहाडको पर्यायवरणका लागि सिफारिस गरिएको उक्त जातको धानको हालसम्म पनि पञ्जीकरण नभएको उनले जानकारी दिए । कुनै वर्ष राम्रो उत्पादन दिँदा कुनै वर्ष यस प्रकारका धानको नजिता शून्य पनि हुन सक्छ,’ कार्कीले भने, ‘यसकारण पनि हाइब्रिड धान भन्दैमा किसानहरूले नबुझी रोप्नु हुँदैन ।’

धानका कुन जात पञ्जीकरण भएका छन् र कुन भएका छैनन् भन्नेमा किसानले जानकारी लिनुपर्ने उनको सुझाव छ । यस्तै, हाइब्रिड धानकै लागि पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको उन्नत जातको खुमलटार १०, ११ र १२ धान उपयुक्त हुने उनी सिफारिस गर्छन् । ‘बजारमा पाइने जुनसुकै हाइब्रिड भन्दैमा लगाइहाल्न हुँदैन,’ उनले भने ।

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्