Kathmandu Press

‘साइकोटिक एनओएस’ के हो ?

कोही मानिसमा अचानक असामान्य हर्कत वा पागलपन देखिन्छ, तर के कारणले वा किन मुड परिवर्तन भएको थाहा हुँदैन भने त्यस्तो अवस्थालाई पनि साइकोटिक एनओएस भन्न सकिन्छ ।
‘साइकोटिक एनओएस’ के हो ?

काठमाडाैं, कात्तिक १० : साइकोटिक एनओएस एउटा यस्तो मानसिक रोग हो, जसमा निश्चित लक्षण देखिँदैन । अरु मानसिक रोगमा भ्रम हुने, स्वभावमा धेरै परिवर्तन आउने लगायत लक्षण देखिन्छन् । तर यसमा निश्चित लक्षण नदेखिने भएकै कारण यसलाई ‘नट अदरवाइज स्पेसिफाइड’ अर्थात् विशिष्ट लक्षण नभएको भनिएको हो ।

अन्य मानसिक रोगमा एकै प्रकारका लक्षण लगातार देखिन्छ, तर साइकोटिक एनओएसमा यस्तो हुँदैन । यसको मुख्य लक्षण भनेको मुड स्विङ (मन बदलिने) हुनु हो । साइकोसिस एनओएसमा अन्य मानसिक रोगमा जस्तो बोली वा व्यवहारमा धेरै परिवर्तन आउने हुँदैन, त्यसैले यो पहिचान गर्न गाह्रो हुने मानसिक रोगमा पर्छ ।

कतिपय अवस्थामा चिकित्सकले कुन प्रकारको मानसिक रोग हो भन्ने पत्ता लगाउन नसक्दा पनि रिपोर्टमा ‘साइकोटिक एनओएस’ लेख्ने गरेका छन् । किनभने कुनै व्यक्तिमा दुई–तीन प्रकारका मानसिक रोगका लक्षण देखिएको छ, तर ठ्याक्कै कुन रोग हो भन्ने पत्ता लागेको छैन भने उक्त व्यक्तिलाई ‘साइकोटिक एनओएस’ भएको मान्न सकिन्छ ।

Hardik ivf

‘मुड स्विङ’ हुनुका साथै कुनै चिजमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने, मन उदास हुने, निद्रा नपुग्ने, धेरै चिन्ता हुने, शंकास्पद व्यवहार हाबी हुने, एक्लै बस्न रुचाउने, भ्रम हुने लगायत लक्षणबाट पनि ‘साइकोटिक एनओएस’को पहिचान हुन सक्छ । साथै यी लक्षण नदेखिने सम्भावना पनि रहन्छ, जसकारण यसलाई साइकोटिक एनओएस भनिएको हो । यसमा ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’मा जस्तै पूर्ण रूपमा ‘मुड स्विङ’ नहुने भएकाले पनि अन्य मानसिक रोगको तुलनामा यसको पहिचान गर्न गाह्रो हुन्छ ।

सामान्य मानिस वा बिरामी स्वयंलाई यसको पत्ता लगाउन गाह्रो हुन्छ । त्यसकारण प्रारम्भिक वा भनौं कुनै प्रकारको शंका लाग्नेबित्तिकै सम्बन्धित चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ । स्पेसिफाई (निर्दिष्ट) लक्षण नभए पनि कुनै व्यक्तिमा छोटो समयमै असामान्य व्यवहार देखिन थालेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

कुनै पनि मानसिक रोग बिरामी आफैँलाई महसुस हुन गाह्रो हुन्छ । तर, उसलाई केही न केही भान भने अवश्य हुन्छ । यसो भन्दै गर्दा मुड (मनको अवस्था) वा मानिसको व्यवहारमा केही कारणले क्षणिक परिवर्तन आउनुलाई साइकोटिक एनओएस भन्न सकिँदैन । कसैले कुनै प्रकारको एन्टिबाइटिक औषधि खाएको छ वा पारिवारिक समस्याका कारण क्षणिकका लागि रिसाउने, कराउने जस्ता व्यवहार देखाएको छ भने उसलाई साइकोटिक एनओएस भएको भन्न मिल्दैन । कुनै व्यक्तिलाई अत्यधिक ज्वरो आउँदा बर्बराउने, काम्ने लगायत समस्या आउँछ, यसलाई पनि साइकोटिक एनओएस भन्न मिल्दैन ।

कुनै महिला गर्भवती छन् भने उनको मुडमा परिवर्तन आउँछ, यसलाई पनि साइकोटिक एनओएस भनिँदैन । तर, कुनै महिलाले आफ्नो बच्चालाई वास्ता नगर्ने, जानीजानी आफू र बच्चालाई हानि हुने काम गर्ने, एक किसिमको पागलपन देखाउने गर्छिन् भने त्यसलाई साइकोटिक एनओएस भनिन्छ । कतिपय महिलामा गर्भावस्थामा हर्मोनल परिवर्तन आएका कारण व्यवहारमा परिवर्तन आउने र जो पछिसम्म हाबी भएका केस पनि छन् ।

कोही मानिसमा अचानक असामान्य हर्कत वा पागलपन देखिन्छ, तर के कारणले वा किन मुड परिवर्तन भएको थाहा हुँदैन भने त्यस्तो अवस्थालाई पनि साइकोटिक एनओएस भन्न सकिन्छ । तर, व्यवहारमा आएको यस्तो परिवर्तन कम्तीमा एक महिनासम्म निरन्तर हुनुपर्छ ।

वंशाणुगत, वातावरणीय प्रभाव, आर्थिक अवस्था, पारिवारिक अवस्था, कुनै घटना लगायत कारणले यो रोग लाग्न सक्छ । यो रोगका बिरामीमा छोटो समयमा मुडमा परिवर्तन आउने र त्यो समयमा आफूले के गरिरहेको छु भन्ने होस् नहुने भएका कारण निश्चित समयमा सो व्यक्तिले आफू लगायत वरिपरिका मानिसलाई हानि पु¥याउने सम्भावना हुन्छ । जस्तो : आत्महत्या गर्ने, अरुलाई हानि गर्ने, चोट पु¥याउने लगायत क्रियाकलाप गर्न सक्ने सम्भावना रहन्छ ।

उपचार

साइकोटिक एनओएसको मुख्यतः दुई तरिकाबाट उपचार हुन्छ– १) औषधि । २) साइको थेरापी ।

यी दुईमध्ये पनि साइकोटिक एनओएसको उपचारमा औषधि नै लिन सुझाइन्छ । साइकोटिक एनओएस सबै उमेर समूहलाई हुन सक्छ । तर, धेरैजसो १९ वर्षभन्दा माथि उमेर समूहका मानिसमा यो रोग देखिन्छ । यो रोग निको हुन कति समय लाग्छ भन्ने बिरामीको अवस्थामा भर पर्छ ।

कुनै औषधि खाएका कारण यस्ता लक्षण देखिएको हो भने पूर्ण रूपमा निको हुने सम्भावना बढी हुन्छ । तर, कुनै घटना वा वातावरणका कारण यो रोग देखिएको हो भने लामो समयसम्म उपचार गर्नुपर्ने हुन सक्छ । समयमै उपचार नगरेमा यसले घर–परिवारमा झैझगडा पार्ने, सम्बन्धविच्छेद हुने, परिवार तथा छरछिमेकमा कलहको वातावरण सिर्जना हुने लगायत समस्या उत्पन्न हुन सक्छ । त्यसैले यस रोग सम्बन्धमा माथि उल्लिखित कुनै किसिमको शंका लाग्नेबित्तिकै रोगको पहिचान गर्नुपर्छ ।

(मनोविद् कुँवरसँग सोनी शाहीले गरेकाे कुराकानीमा आधारित ।)

 

प्रकाशित मिति: १०:०४ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्