वडाध्यक्षसहित दुई पुर्पक्षका लागि कारागार
पर्सा, कात्तिक ९ : प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान...
पर्सा, कात्तिक ९ : प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ।
पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
सोही मुद्दामै पक्राउ परेका वडासदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेश पछि वडाध्यक्ष अमेरिका र रामआदेशलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता खनालले बताए। गत साउन ३ गते ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलबाट ब्राउनसुगरसहित वडाध्यक्ष सहनी, वडासदस्य बलिष्टर सहनी र रामआदेश सहनीलाई प्रहरीले पक्राउ गरेको थियो।
गत साउन ३ गत राति १०ः३० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। चेकजाँचको क्रममा प्रहरीले वडाध्यक्ष सहनीले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो। यसैगरी उनको पछाडि ना६२प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडासदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।












