टि–२० विश्वकप : वेस्टइन्डिजमाथि दक्षिण अफ्रिका ८ विकेटले विजयी
काठमाडौं, कात्तिक ९ : युएई र ओमानमा जारी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ। मंगलबार दुबईमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई...
काठमाडौं, कात्तिक ९ : युएई र ओमानमा जारी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ। मंगलबार दुबईमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ८ विकेटले हरायो ।
प्रतियोगितामा वेस्ट इन्डिजको लागतार दोस्रो हार हो । सुपर १२ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज इंग्ल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।
दुबईमा वेस्टइन्डिजले दिएको १४५ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेटको गुमाउँदै भेट्टायो । दक्षिण अफ्रिकालाई सहज जित दिलाउने क्रममा एइडेन माक्र्रमले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५१ रन बनाए ।
यस्तै, रस्सी भान डेर डुसानले ५१ बलमा ४३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले ३० बलमा ३० रन बनाए । हेन्ड्रिक्स र भान डेर डुसानले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि भान डेर डुसान र माक्र्रमले ८३ रनको साझेदारी गरे । वेस्टइन्डिजका अकेल हुसैनले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले राम्रो सुरुआत गरेपछि राम्रो योगफल बनाउन सकेन । उसले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । इभान लेविस र लिन्डेल सिमोन्सले पहिलो विकटका लागि ७३ रनको साझेदारी गर्दै वेस्टइन्डिजलाई राम्रो सुरुआत दिलाएका थिए ।
लेविसले ३५ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५६ रन बनाउँदा कप्तान किरेन पोलार्डले २६ तथा लिन्डेल सिमोन्सले १६ रनको योगदान दिए । वेस्टइन्डिजलाई सस्तैमा रोक्ने क्रममा ड्वायन प्याट्रियसले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने केशव महाराजले २ विकेट लिए।











