लोपोन्मुख संस्कृतिको खोजी गरेर त्यसको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौं, कात्तिक ९ : उपराष्ट्रपति नन्दबहादूर पुनले लोपोन्मुख संस्कृति खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताएका छन्। लोकवार्ता परिषद् नेपालको १०औँ सम्मेलनको सन्दर्भमा नेपाल प्रज्ञा...
काठमाडौं, कात्तिक ९ : उपराष्ट्रपति नन्दबहादूर पुनले लोपोन्मुख संस्कृति खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताएका छन्।
लोकवार्ता परिषद् नेपालको १०औँ सम्मेलनको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्ले आज आयोजना गरेको ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’ मा उपराष्ट्रपति पुनले सबै पक्ष मिलेर लोक संस्कृतिको अध्ययन र अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिए। नेपालमा विभिन्न जाती, भाषा र संस्कृति रहेको भन्दै उनले विविधताको खोजी गर्नुपर्ने औँल्याए।
सबैको अस्तित्व जोगाउँदा नै नेपालको अस्तित्व रहने भन्दै उपराष्ट्रपति पुनले भने, ‘सबै मिलेर संस्कृतिको खोज र अनुसन्धानमा लाग्नुपर्छ।’ परिषद्ले वर्षेनी संस्कृतिसम्बन्धी पुस्तक प्रकाशन गर्नु महत्वपूर्ण काम भएको उनको भनाइ थियो। पुस्तक प्रकाशनले निरन्तरता पाउनुपर्ने तथा त्यसका लागि परिषद्लाई सहयोग गर्नु सरकारको जिम्मेवारी भएको उपराष्ट्रपति पुनले उल्लेख गरे।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका विभिन्न विभागमध्ये लोकवार्ता र बाल साहित्य विभागले जातजाति, भाषाभाषी र धर्मावलम्बीको संस्कृतिको क्षेत्रमा काम गरिरहको उल्लेख गरे। प्रतिष्ठान र परिषद् बाहिर हेर्दा फरकफरक देखिए पनि कामका हिसाबले एउटै भएको उनले बताए।
सम्मानित व्यक्ति बमकुमारी बुढाले रोल्पा मगर सभ्यता र रितिरिवाजको भण्डार भएको बताइन। प्रतिष्ठान र परिषद्को सहयोगमा यसबारे अध्ययन अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ थियो। सो अवसरमा उपराष्ट्रपति पुनले लोक संस्कृतिसम्बन्धी ६ पुस्तक लोकार्पण गरेका थिए। कार्यक्रममा परिषद्ले बुढासँगै राज्यश्री श्रेष्ठलाई सम्मान गरेको थियो।












