Kathmandu Press

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

वालिङ, कात्तिक ९ : स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ। विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन...
लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

वालिङ, कात्तिक ९ : स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ। विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि नगरपालिकाले तीन समूहलाई पञ्चेबाजाका सेट वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए।

नगरपालिकाको बजेटअन्तर्गत प्रत्येक समूहलाई दमाहा, सहनाई र नरसिंहा दुई–दुई थान तथा ढोलक, टयाम्को, कर्नल र झुर्मा एक–एक थान वितरण गरिएको उनले जानकारी दिए ।

Hardik ivf

‘लोपोन्मुख अवस्थामा पुगेको संस्कृति संरक्षणका लागि ध्यान दिँदै पञ्चेबाजाका सेट उपलब्ध गराएका हौं,’ शर्माले भने, ‘गाउँघरमा हुने विभिन्न मेला, पर्व, धार्मिक उत्सव तथा औपचारिक कार्यक्रममा यिनै बाजा प्रयोग गर्नका लागि जोड दिनसकेमा संस्कृति संरक्षणमा टेवा पुग्ने देखिन्छ ।’

परियार समुदायका व्यक्तिले बाजा बजाएरै जीवन निर्वाह गर्दै आएपनि पछिल्लो समय युवापुस्तामा सीप हस्तान्तरण नहुनु र अन्य पेशा अँगाल्ने कारणले पनि पञ्चेबाजा लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि नगरपालिकाले पञ्चेबाजासहित पोशाक उपलब्ध गराएको शर्माको भनाइ छ ।

लामो समयदेखि बाजा बजाएरै जीवन निर्वाह गर्दै आएका तीन पञ्चेबाजा समूहलाई बाजा उपलब्ध गराइएको वडा सदस्य धनमाया विश्वकर्माले बताइन् । ‘विशेष गरी विवाह, व्रतबन्धलगायत शुभकार्यमा बाजा बजाएरै दैनिक जीविकोपार्जन गर्दै आएका बाजा समूहलाई प्रोत्साहन गर्नका लागि प्रस्ताव तयार गरी नगरपालिकामा बुझायौं,’ उनले भनिन्, ‘नगरपालिकाले  हाम्रो प्रस्ताव सम्बोधन गरेकाले परम्परागत संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास लिएकी छु ।’

नगरपालिकाले पेलाकोट पञ्चेबाजा, कपुर्दी पञ्चेबाजा र अल्केढुङ्गे जनजाति पञ्चेबाजा समूहलाई पञ्चेबाजा उपलब्ध गराएको  सदस्य विश्वकर्माले बताइन् । अल्केढुङ्गे जनजाति पञ्चेबाजा समूहलाई बाहेक अन्य दुई समूहका १५र१५ जनालाई पोशाकसमेत उपलब्ध गराइएको छ ।

नगरपालिकाले  उपलब्ध गराएको बाजा र पोशाकको सही सदुपयोग गर्ने पेलाकोट बाजा समूहका अध्यक्ष जीतमान परियारले बताए । ‘लोपोन्मुख अवस्थामा रहेको हाम्रो पेशाको संरक्षण र जगेर्नाका लागि नगरपालिकाले जुन सहयोग गरेको छ यसप्रति हाम्रो समूह निक्कै खुशी र आभारी छ,’ उनले भने, ‘आशा छ, आगामी दिनमा अझै अन्य सहयोग  पनि प्राप्त हुने र यसबाट संस्कृति संरक्षणसँगै हाम्रो जीविकोपार्जनको रूपमा रहेको यो कामलाई मुख्य पेशाका रुपमा अगाडि बढाउन सकियोस् ।’

आफ्नो समूहमा दुई जना मात्रै करिब ६० वर्ष उमेर समूहका व्यक्ति रहेकामा थप नौ युवाले  पनि  बाजा संरक्षणसँगै सीप सिक्दै गएका परियारले बताए । ‘विशेष गरेर लगनका बेला विवाह, व्रतबन्धलगायत शुभकार्यमा पञ्चेबाजाको माग हुने गरेको छ,’ उनले भने, ‘लगनका समयमा भ्याइनभ्याइ हुन्छ, नजिक जानुपरेमा दैनिक २० देखि २५ हजार र टाढा जानुपर्ने भएमा वा समय धेरै लाग्ने भएमा ४० देखि ४२ हजार रुपैयाँसम्म लिने गरेका छौं ।’ रासस

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्