अवैध लागूऔषधसहित ४ जना पक्राउ
काठमाडौं, कात्तिक ९ : अवैध लागूऔषधसहित बाँके, सर्लाही र सिरहाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब १५ ग्राम अवैध...
काठमाडौं, कात्तिक ९ : अवैध लागूऔषधसहित बाँके, सर्लाही र सिरहाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित काभ्रेपलाञ्चोक महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भारतबाट आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट नियन्त्रित लागूऔषध ६ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–५ बस्ने ३० वर्षीय गोबिन्द थापा र सोही ठाउँ बस्ने २६ वर्षीय संजय थापा रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९४ प ४२३५ नम्बरको स्कुटरलाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको भाइजर, इन्जिन र फुटरेस्टमा राखी ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक गोविन्द र मोटरसाइकलमा सवार संजयलाई पक्राउ गरेको हो।
यसैगरी, सिरहा नगरपालिका–१८ इटारी टोलबाट नियन्त्रित लागूऔषध १ सय पिस फेनारगन, १ सय पिस डाइजेपाम र १ सय पिस नुर्फिन सहित अर्नामा गाउँपालिका–३ बस्ने २३ वर्षीय पप्पु दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरीले स.४ प ७६०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक दासलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












