फरक समूहको रगत चढाउदा पाँच वर्षीया आकृतिको मृत्यु भएको पुष्टि
काठमाडौं, साउन २६ : सर्लाहीको गोरेता नगरपालिका–१० की पाँच वर्षीया आकृति साहको फरक समूहको रगत चढाउदा मृत्यु भएको पुष्टि भएको छ।
आकृतिको....
काठमाडौं, साउन २६ : सर्लाहीको गोरेता नगरपालिका–१० की पाँच वर्षीया आकृति साहको फरक समूहको रगत चढाउदा मृत्यु भएको पुष्टि भएको छ।
आकृतिको वैशाख १८ गते बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो। चिकित्सकको लापरवाहिका कारण उनको मृत्यु भएको परिवारजनको आरोप थियो।
त्यस्तै, अस्पतालले डा.भगवान कोइरालाको संयोजकत्वमा छानबिन सिमिति गठन गरेको थियो। समितिले चिकित्सकको लापरवाही कारण मृत्यु भएको देखिएको प्रतिवेदन दिएको छ। प्रतिवेदनमा चिकित्सकको लापरवाहीले नै बालिकालाई ‘ओ’ पोजेटिभ रगतको सट्टा ‘ए’ पोजेटिभ रगत दिएको उल्लेख छ।
समितिले नेपाल मेडिकल काउन्सिललाई छानविन प्रतिवेदन बुझाएको छ। प्रतिवेदन पाएपछि काउन्सिलले उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरण सोधेको छ। काउन्सिलको इथिकल कमिटीका संयोजक डा.ढुण्डीराज पौडेलले उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरण सोधेको बताए। ‘सात दिनभित्र जवाफ दिन चिकित्सकलाई पत्र काटेका छौं,’ डा.पौडेलले भने।
छानविन समितिको प्रतिवेदनअनुसार, गलत रगत दिइने बितिक्कै बालिकाको पिसाबबाट रगत बगेर ज्यान गएको थियो। तर, कसले रगत चढाएको भन्ने पत्ता लागेको छैन। चिकित्सक, प्रशाशन, र ल्याबसमेत यसमा दोषी देखिएकाले अझै यसको अनुसन्धान जारी रहेको काउन्सिलले जनाएको छ।
यसमा संलग्नलाई कारवाही गरिने समितिका संयोजक डा.पौडेलले बताए। ‘चिकित्सकको सानो लापरवाहीले मान्छेको ज्यानै जान्छ। यसमा चिकित्सकहरू पनि सम्वेदनशिल बन्नुपर्छ। यस्तो लापरवाही गर्नेलाई कार्वाही हुनैपर्छ,’ उनले भने।
यस्तो थियो घटना
आकृतिलाई वैशाख १३ गते बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो। उनको मुटुभित्र प्वाल र फोक्सोमा जाने रगतका नलीहरू साघुँरो भएकाले ‘ओपन हर्ट’ सर्जरी गर्नुपर्ने चिकित्सकले बताएका थिए।
उनको वैशाख १७ गते शल्यक्रिया गर्ने तय गरिएको थियो। यो। उनका बवा रामप्रवेश साहलाई शल्यक्रियाका लागि ‘ए’ पोजेटिभ रगत जुटाउन लगाइएको थियो। उनले त्यही अनुसार, रगत संकलन गरेका थिए।
शल्यक्रिया भएको केही घन्टामै आकृतिको मृत्यु भयो। रिपोर्ट हेर्दा ‘ओ’ पोजेटिभको सट्टा ‘ए’ पोजेटिभ रगत चढाएको पाइयो। तर, त्यसपछि अस्पतालले रोगसम्बन्धी तीन वटा रिपोर्टमा टिपेक्स लगाएर ‘ओ’ पोजेटिभको ठाउँमा केरमेट गरेर ‘ए’ पोजेटिभ लेखेको थियो।