काठमाडौंका डाँडाकाँडामा मनोरम गुम्बा : अग्ला स्थानमै किन बन्छन् धार्मिक स्थल ?
कोलाहलबाट टाढा, शान्त, सौम्य रहने यस्ता गुम्बाहरू प्रायः उचाइ र चुचुरामा निर्माण भएका छन्। ती गुम्बासम्म पुग्न घण्टौँको पैदल यात्रा रोज्छन्, उपत्यकावासीले।काठमाडौं, कात्तिक ९ : शिवपुरी राष्ट्रिय निकुञ्जमा बूढानीलकण्ठतर्फबाट जाँदा करिब तीन घण्टाको उकालोपछिको डाँडामा भेटिन्छ, नागी गुम्बा । दुईतले गुम्बामा कलाकृति पनि निकै भिन्न छ । जरायो, मयुर, कमलको फूल साथै बौद्ध धर्मका अन्य कलाकृति गुम्बाभित्र र बाहिर देख्न पाइन्छ ।
यस्तै, भक्तपुरबाट करिब आठ किलोमिटरमाथि जीतपुरस्थित थाराङ्गु शिखर रिट्रिट सेन्टर काठमाडौं उपत्यकाका बासिन्दाका लागि अर्को आकर्षणको केन्द्र हो । सुरिलो अग्लो उक्त गुम्बा साविकका अन्य गुम्बाभन्दा केही भिन्न छ । त्यही भए होला, नगरकोट जाने नयाँ र छोटो दूरीको उक्त सडक किनारामा बनेको गुम्बालाई एकछिन ननियाली जाँदैनन्, पर्यटकहरू ।
भक्तपुर र काभ्रेको सिमानामा अवस्थित दाङ्गो स्यादरुब लिङ (नाला गुम्बा) चर्चामा रहेको अर्को गुम्बा हो । उचाइमै रहेको यो गुम्बा धेरैका लागि सप्ताहन्तको गन्तव्य बनेको छ ।
ह्वाइट गुम्बाको नामबाट चिनिने अमिताभ गुम्बा पनि उपत्यकावासीको छुट्टि गन्तव्य हो, जुन बौद्धमार्गीका लागि मात्र नभई गैरबौद्धमार्गीका लागि पनि आस्था र घुमघामको रोजाइ बन्दै आएको छ ।
कोलाहलबाट टाढा, शान्त, सौम्य रहने यस्ता गुम्बाहरू प्रायः उचाइ र चुचुरामा निर्माण भएका छन् । ती गुम्बासम्म पुग्न घण्टौँको पैदल यात्रा रोज्छन्, उपत्यकावासीले । तथापि, तीमध्ये अधिकांश गुम्बा जोड्न पक्की सडक तयार भइसकेका छन् ।
के हो गुम्बा ?
‘गुम्बा बौद्ध शिक्षालय हो । बौद्ध धर्मको शिक्षाको प्रसार गर्ने संगठित संस्था पनि हो,’ गुम्बा व्यवस्थापन समितिका पूर्वसदस्य–सचिव ताम्ला उक्याब भन्छन्, ‘गुम्बा ध्यान साधना गर्ने केन्द्र पनि हो ।’ यसरी हेर्दा गुम्बाको बहु प्रयोजन देखिन्छ ।
यस्तै, लामा, भिक्षु–भिक्षुणीलाई साधनामा पारंगत बनाउने स्थान पनि गुम्बा नै हो । उनीहरूमार्फत बौद्ध शिक्षाको प्रसार, पूजापाठ, कर्मकाण्डलगायत धार्मिक–सांस्कृतिक गतिविधि हुने गर्छ ।
गुम्बा होइन, गोम्पा
गोम्पा शब्दबाट अपभ्रंश भई गुम्बा शब्द प्रचलनमा आएको हो । ‘गोम्’ शब्दको अर्थ ‘ध्यान’ हुन्छ । उक्त शब्द नासिकीकरण हुँदा गोनपा भयो । सोही गोम्पा र गोनपाबाट गुम्बा शब्द बन्न गयो, जहाँ मुख्यतः ध्यान बसिन्छ । अर्थात्, गुम्बा ध्यान बस्ने थलो हो । पहिले यस्ता ध्यान बस्ने स्थान गुफा, एकान्त जंगलका पानीका चेपहरू हुन्थे । मानव विकास क्रमसँगै मानिसहरूले घर, भवनको आकार दिन थालेको बौद्ध धर्ममा विद्यावारिधि गरेका डा. अजितमान तामाङ बताउँछन् ।
‘वैदिक परम्परामा मन्दिर कसरी आयो मलाई थाहा छैन, बौद्ध परम्परामा भने ध्यान र ज्ञानको केन्द्र मानिन्छन् गुम्बाहरू,’ तामाङ भन्छन्।
गुम्बा शब्द नेपालको उत्तरी भेगको जनजीवनसँग सम्बन्धित रहेको उक्याब बताउँछन् । चीन, भुटान मात्र होइन, भारतका कश्मीर, लद्दाख, उत्तराञ्चल, हिमाचल, सिक्किम, दार्जिलिङलगायत स्थानमा पनि गुम्बा शब्द नै प्रचलनमा छ।
किन उचाइमा बन्न छन् गुम्बाहरू ?
गुम्बा पुग्दाको आनन्दानुभूति थोरैले मात्र अनुभव नगरेका होलान् । ज्ञान, ध्यान र साधनाको प्रतीक गुम्बा आफैँमा शान्ति र सौम्यको प्रतीक पनि हो । सोहीकारण हुन सक्छ, कोलाहलबाट टाढा आनन्द र ध्यानका लागि गुम्बा मानव बस्तीबाट केही पर डाँडा र उच्च स्थानमा निर्माण गरिएको पाइन्छ ।
गुम्बाहरू ठ्याक्कै यति नै उचाइमा बन्नुपर्छ भन्ने कुनै मानक छैन । र, मानव बस्तीमा बन्न नहुने भन्ने पनि कतै कुनै पनि शास्त्रमा नलेखिएको आचार्य कर्मा साङ्बो बताउँछन् । गुम्बाहरू अग्लादेखि होचा ठाउँ जता पनि हुनसक्ने तर बाहिरी पर्यावरणले गुम्बाभित्रको वातावरणलाई दखल पुर्याउन नहुने उनको भनाइ छ । यद्यपि, डाँडा र बस्तीबाट टाढा हुने कारण त्यस्ता स्थान पवित्र हुने मान्यता विद्यमान रहेको उनको जिकिर छ ।
डा. तामाङ पनि उनको भनाइमा सहमत छन् । भन्छन्, ‘हाम्रो रीतमा मान्छेको मृत्युपछि शवलाई डाँडामै लगेर गाड्ने या जलाउने गरिन्छ । जसरी मानिसको शिरलाई पवित्र मानेर पूजा, टीका र आशिर्वाद ग्रहणका लागि उपयुक्त मानिन्छ, त्यसरी नै उच्च स्थानहरूलाई पनि पवित्र मानिने कारण अग्ला स्थानमा गुम्बा राखिएको हुन सक्छ ।’ पानी पर्दा पनि माथिल्लो भागबाटै सफा हुने कारण अग्ला स्थान हरेक प्रकारले शुद्ध रहने उनको बुझाइ छ ।
‘भौतिकवादी सिद्धान्तअनुसार भने गुम्बाहरूको अवस्थिति मानव बस्ती नजिक र टाढाभन्दा पनि वस्तु र परिस्थितिअनुसार हुन्छ,’ तामाङ भन्छन्, ‘अर्थात्, स्थान र परिस्थितिको अनुकुलता र आवश्यकताअनुसार गुम्बाहरूको निर्माण गरिन्छ ।’
बौद्ध टुसाल क्षेत्रमा कतिपय गुम्बा मानव बस्तीबीचमै छन् । बौद्धधर्ममा बस्तीबाट अलि पर बनाउने चलन थियो । तर, जनसंख्या वृद्धि भएसँगै स्थान अभावमा परिवर्तन आएको छ ।
उक्याबका अनुसार गुम्बा सबैले आदर गर्ने ठाउँ हुन् । त्यसैले सबैको नजर पर्ने ठाउँमा गुम्बा निर्माण हुनुपर्ने उनको तर्क छ । बिहान उठ्दा भरसक सबैले देख्ने स्थानमा गुम्बा निर्माण गर्दा आस्था कायम हुने उनको मत छ । सोही कारण भरसक अग्लो र पवित्र ठाउँमा हुनुपर्नेमा उनको जोड छ ।
यस्तै, बस्तीबाट टाढा हुँदा सफासुग्घर र सरफाइका हिसाबले पनि उचित हुने धारणा उनको छ । उनका अनुसार सकेसम्म गाउँ–सहरबाट केही टाढा र एकान्तमा आधादेखि एक घण्टाको दूरीमा गुम्बा निर्माण हुनुपर्ने जनविश्वास रहिआएको छ ।
गुम्बा विशेषगरी चार प्रकारको हुने उक्याब बताउँछन् । पूजापाठ, ध्यान र कर्मकाण्डको ज्ञानका लागि गुम्बा स्थापना गरिन्छ । नेवार समुदायमा प्रचलित बही र बहालको व्यवस्था पनि बौद्ध धर्मसँग सम्बन्धित छ । नेवार समुदायका बज्राचार्यहरू बौद्धमार्गी मानिन्छन् । उक्त समुदायमा बौद्ध धर्म र संस्कारअनुसार कर्मकाण्ड चलाइन्छ ।
यस्तै, स्कुले उमेरका बालबालिकाका लागि समाजका बाहिरी ज्ञानका साथै बौद्धधर्मसम्बन्धी पढाइका लागि गुम्बा बनेका हुन्छन् । ‘सेढ’ अर्थात बौद्ध धर्ममै उच्च प्राज्ञिक शिक्षाको लागि गुम्बा खोलिन्छ । नितान्त ध्यान र साधनाका लागि गुम्बा स्थापना गरिएको हुन्छ । त्यसको उदाहरण भक्तपुरस्थित जीतपुरमा रहेको थाराङ्गु शिखर रिट्रिट सेन्टर पनि हो ।
भव्य कलाकृति
भव्य कलाकृतिले सुसज्जित हुन्छन्, गुम्बाहरू । बौद्धधर्मअन्तर्गत चार प्रकारका ‘स्कुल अफ बौद्ध आर्ट’ छन्– गान्धार स्कुल अफ बौद्ध आर्ट, मथुरा स्कुल अफ बौद्ध आर्ट, पाल–सेन स्कुल अफ बौद्ध आर्ट र थाङ्का स्कुल अफ बौद्ध आर्ट ।
गुम्बाहरूमा देखिने विभिन्न कलाकृति यी चार कलोमध्य पर्ने डा. तामाङ बताउँछन् । गान्धार स्कुल अफ बौद्ध आर्टअन्तर्गत् ढुंगामा कुँदिने यसमै पर्छन् । मथुरा स्कुल अफ बौद्ध आर्टमा बुद्धका साधारण पातला वस्त्र लगाएका कला देख्न सकिन्छ । पाल–सेन आर्टसम्म आउँदा भने बुद्धका मूर्ति निकै आलंकारिक र गहनाले सुुसज्जित हुन्छन् । बुद्धकै कलाकृति नेपालबाट तिब्बतसम्म प्रख्यात भएको भने थाङ्का स्कुल अफ बौद्ध आर्ट हो, जसलाई कपडा तथा क्यान्भासमा कोरिने गर्छ । यस्ता कला बुद्ध मात्र नभई बुद्धसँग सम्बन्धित रहेका गुम्बा र स्तुपामा पनि कुँदिएको हुन्छ ।
राजा कनिस्टको पालादेखि बुद्धका मूर्ति तथा कलाकृति
जानकारहरूको भनाइमा बुद्धकालमा मूर्ति हुँदैनथे । राजा कनिस्टका पालादेखि बुद्धका मूर्तिहरू बनाउन र पुज्न थालिएको उनीहरूको भनाइ छ । सम्राट अशोकपछि तेस्रो शताब्दीका राजा निस्कटले प्राकृतिक भाषामा रहेका बौद्ध भनाइ, उक्ति, कला सबैलाई संस्कृतिमा रूपान्तरण गरे । यस कारण पनि राजा कनिस्टअघिको समयका कुनै पनि बुद्धसम्बन्धी मूर्ति र कलाकृति नभएको डा. तामाङ बताउँछन्।
त्यसअघिसम्म प्राकृतिक भाषाकै प्रयोग हुन्थ्यो । विद्यालयको संकेतका लागि मृग र धर्मचक्रको आकार कोरिएको हुन्थ्यो भने गुम्बाको संकेतका रूपमा दुईवटा मृगको बीचमा धर्मचक्र हुन्थे । खड्ग र पुस्तक राख्दा मञ्जुश्रीलाई मानिन्थ्यो । त्यस समयको भाषामा कुनै आकृति थिएन । भगवान् बुद्धकै प्रतीकका रूपमा पनि कलमको फूलको संकेत प्रयोगमा रहेको डा. तामाङ बताउँछन् ।
उनका अनुसार केही उँचो भागमा रहने गुम्बा शिखर र प्यागोडा शैलीको मिश्रित बनोटमा बन्ने गरेको पाइन्छ । तथापि, होचो स्थानमा बनेका गुम्बामा पनि सोही शैली अपनाइएको पाइन्छ । डा. तामाङ भन्छन्, ‘पशुपतिस्थित ब्रह्मनालमा तिलोपा र नरोपा गुरु भनिने दुईवटा गुफा छन् । तीमध्य तिलोपा भारतको कुश भन्ने सबैभन्दा होचो ठाउँमा रहेको गुम्बा हो ।’