Kathmandu Press

दुई दिन छोटियो अन्नपूर्ण आधार शिविरको यात्रा अवधि

म्याग्दी, कात्तिक ९ : म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै...
दुई दिन छोटियो अन्नपूर्ण आधार शिविरको यात्रा अवधि

म्याग्दी, कात्तिक ९ : म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो। नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई दिनमा छोटिएको जानकारी दिए।

Hardik ivf

नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा दुई घण्टामा पार गर्न सकिने भएको उनले बताए। सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ। विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको पहिचान गरेका थिए।

पर्यटन विभागले दुई करोड ५० लाखभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ। यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।

निलगिरीखोला हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्गले पर्यटकसँगै स्थानीयवासीलाई समेत सुविधा पुगेको छ।

यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। आयोजनाका इञ्जीनियर केशव वाग्लेले अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण भएको बताए। (रासस)

प्रकाशित मिति: ०८:५३ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्