Kathmandu Press

निलगिरि खोलाको बाँध सडक सञ्जालमा जोडियो

म्याग्दी, कात्तिक ८ : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निल गिरिखोला पहिलो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल सडक सञ्जालमा जोडिएको छ।निल गिरीखोला हाइड्रोपावर प्रालि...
निलगिरि खोलाको बाँध सडक सञ्जालमा जोडियो

म्याग्दी, कात्तिक ८ : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निल गिरिखोला पहिलो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल सडक सञ्जालमा जोडिएको छ।

निल गिरीखोला हाइड्रोपावर प्रालि प्रवर्धक रहेको ३८ मेगावाट क्षमताको आयोजनाको बाँध निर्माण हुन लागेको हुमखोलामा सडक पुगेको हो। यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ।

Hardik ivf

निलगिरि क्यासकेडको विद्युत्गृह निर्माणस्थल दोभानदेखि छोटेपा हुँदै हुमखोला जोड्ने १३ किलोमिटर सडकको पहुँचमार्ग निर्माण सकिएको आयोजनाका इञ्जिनीयर केशव वाग्लेले जानकारी दिए।

‘पहुँचमार्गले जोडिएपछि बाँध निर्माणको काम पनि अघि बढेको छ’, उनले भने, ‘यसअघि दुई वटा अडिटको चार ठाउँबाट खनिरहेको सुरुङ बाँधतर्फबाट पनि खन्न थालिएको छ।’ अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण गरिएको छ। समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको निलगिरि पहिलोको दुई हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ।

निलगिरि क्यासकेडको बाँध र पहिलोको विद्युतगृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाइएको इञ्जिनीयर वाग्लेले बताए। हुमखोलासम्म सडक पुगेपछि नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जाने बाटो छोटिएको छ। नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले यसअघि चार दिनको यात्रा अब दुई दिनमा छोटिएको बताए।

‘नारच्याङदेखि छोटेपा र छोटेपादेखि हुमखोला दुई दिनको यात्रा गाडीमा दुई घण्टामा गर्न सकिन्छ’, उनले भने, ‘सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ।’

अन्नपूर्ण हिमालको आधारशिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवत् नेपालको पहिलो आधारशिविर भएको पुर्जाले बताए। बस्तीदेखि टाढा रहेको निलगिरीखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ। पहुँचमार्गको साथै बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम पनि धमाधम भइरहेको छ। रासस

प्रकाशित मिति: १५:३० बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्