‘दलित मानवअधिकार पुस्तक-२०७७’ सार्वजनिक
काठमाडौं, कात्तिक ८ : समता फाउन्डेसनले जातका आधारमा भएका हिंसाका घटना र प्रतिरोधका कथा समेटेर ‘दलित मानवअधिकार पुस्तक-२०७७’ सार्वजनिक गरेको छ।नेपालमा दलित र सीमान्तकृत...
काठमाडौं, कात्तिक ८ : समता फाउन्डेसनले जातका आधारमा भएका हिंसाका घटना र प्रतिरोधका कथा समेटेर ‘दलित मानवअधिकार पुस्तक-२०७७’ सार्वजनिक गरेको छ।
नेपालमा दलित र सीमान्तकृत विभिन्न खोज्नमूलक विभिन्न कृतिहरू प्रकाशन गर्दै आएको छ। दलित समुदायविरुद्ध जारी भेदभावको पछिल्लो अवस्थालाई तथ्यांकसहित पुस्तकमा समावेश गरिएको छ।
पछिल्लो एक वर्षमा नेपालमा ११७ वटा दलित मानवअधिकार हननका घटना भएको उल्लेख छ। २०७७ मा दलित समुदायमाथि गरिएको अमानवीय व्यवहार र जातीय कारणले ज्यान गएको घटनाहरूसहित उल्लेख गरिएको छ।
दलित समुुदायमाथि भएका हिंसात्मक घटनाको तथ्याकंको आवश्यकता बोध भएकाले पुस्तकको रूप दिनुपरेको बताइएको छ। समता फाउन्डेसनले प्रकाशन गरेको उक्त पुस्तकमा खण्ड १ र खण्ड २ गरी छुट्याइएको छ।
पुस्तकमा दलित मानवअधिकारको अवस्थाको परिचय, दलित मानवअधिकारको सवाल, मानवअधिकार हननका घटनाहरू, नेपालमा भएका दलित मानवअधिकार हनन्को विश्लेषण र निष्कर्ष सहितको सुझाव प्रस्तुुत गरिएको छ।
त्यस्तै खण्ड २ मा दलितको मानवअधिकार हनन र प्रतिरोधको कथा समावेश छ। रुकुम नरसंहार र अन्तरजातीय प्रेमसंघर्ष, अंगिराकी आमाको चित्कार सुन, कसरी सम्झौं सम्झनालाई, जातले मारेको माया, प्रेमबाट वर्जित जातलगायत अध्याय दुई, तीन गरी पछिल्लो वर्षको हिंसात्मक घटनाहरूलाई प्रतिरोधका कथाका रूपमा समावेश गरिएको छ।
राजेन्द्र महर्जन र अर्जुन विश्वकर्माद्वारा सम्पादित दलित मानवअधिकार पुस्तक ०७७ मा गौरी नेपाली, प्रकाश धौलाकोटी, सुनिता परियार, शैलेन्द्र अम्बेडकर, पर्वत पोर्तेललगायतका फिचर समावेश गरिएको छ।
जातका आधारमा भएका हिंसाका घटना र प्रतिरोधका कथा पुस्तक समता फाउन्डेसनको कार्यालयबाट लिन सकिन्छ भने उक्त पुस्तकको मूूल्य ४ सय ५० रुपैयाँ रहेको छ।
समता फाउन्डेसनको आयोजनामा आइतबार सुरु सम्मेलनमा संघ, प्रदेश र स्थानीय तहका दलित प्रतिनिधिहरूको सहभागीमा पुस्तक विमोचन गरिएको हो। उक्त सम्मेलनमा राज्यको नीति निर्माण तहमा दलित जनप्रतिनिधिको अधिकार र भूमिकाका विषयमा छलफल गरिएको कार्यक्रम (सोमबार) आज सम्पन्न गरिनेछ।













