Kathmandu Press

‘बहादुर भवन हत्याएको जुद्धशम्शेर लाजै नमानी पाल्पा पनि पुगेछ’

इतिहासकार पुरुषोत्तमशम्शेर राणाले आफ्ना मातापितालाई आठ वर्षको उमेरमा मात्र चिन्‍न पाए। किनकि, दरबारमा बच्चाहरूलाई मातापिताभन्दा सुसारेहरूले स्याहार गर्थे। एक बच्चाका लागि ७-८ जना महिला सुसारे हुन्थे।
‘बहादुर भवन हत्याएको जुद्धशम्शेर लाजै नमानी पाल्पा पनि पुगेछ’

काठमाडौं, कात्तिक ८ : पुस्तकको एक तस्बिर देखाउँदै उनले भने, ‘यो मैले आफैँले मारेको बाघ हो।’ मरेको बाघमाथि उनी बसेका थिए, तस्बिरमा। शिकार गरेको सम्झना ब्युताउँदै उनी भन्छन्, ‘दुईतर्फबाट लठ्ठालाई घेरेर पल्टन जाने गर्छ। बाघले पनि हेर्छ। तर, बाघले न लठ्ठा च्यात्‍ने प्रयास गर्थ्यो, न त नाघ्‍ने नै। वरपर सैनीको पल्टन नै हुन्थ्यो। बाघलाई कतैबाट उम्कन नमिल्ने भएपछि अलमल लिएको अवस्थामा निशाना ताकेर गोली ठोक्ने गरिन्थ्यो। हामी भने मचानमा बस्थ्यौँ। मचान अर्थात् ‘रुखका हाँगामा बनाइने कोठाहरू। लगातार तीन-चारपटक गोली फायर गरेपछि बाघ मर्थ्यो।’

९६ वर्षमा हिँडिरहेका इतिहासकार पुरुषोत्तमशम्शेर राणाको धुमिल हुँदै गएको सम्झना हो यो। युवा अवस्थामा उनी शिकार सौखिन थिए, जतिबेला वन्यजन्तुको शिकार वर्जित थिएन। हात्ती चढेर दिनभर शिकार गर्दा पनि धित मर्दैनथ्यो उनको।

‘सम्झँदा पनि त्यस्तो पनि जीवन थियो हौ जस्तो लाग्छ, अहिले खाटबाट उठ्न पनि नसक्ने भएको छु। कैदीजस्तो लाग्छ जीवन पनि,’ उनी भन्छन्।

Hardik ivf

त्यतिबेलाका घना जंगलमा वन्यजन्तु प्रशस्त पाइन्थे। हात्तीमा चढेर शिकारमा निस्किन्थे उनीहरू। लठ्ठाको प्रयोग गरी सिकार गर्ने उपाय उनका  जिजुबुवा रुद्रशम्शेरको थियो। लठ्ठा प्रयोग गर्दा हात्ती पनि धेरै नचाहिने र सजिलो हुने उनको अनुभव छ। भालु, गैंडा, बाघ, चितुवा, चित्तल, जरायो, कालिज आदि जनावर उनको निशानाबाट चुकेनन् कहिल्यै।

‘जनावर त कति मारियो मारियो,’ उनी सम्झिन्छन्, ‘दिनमा तीन वटासम्म चितुवा मारेको छु।’

विसं १९९९ तिर १८ वर्षको अल्लारे जोवनमा उनलाई दिनभर शिकार खेलेरै बिताऊँजस्तो लाग्थ्यो रे। जंगलमै जीवन बितोस्झैँ जस्तो लाग्थ्यो रे। उमेर नै त्यस्तै थियो, जोखिम मोल्न नहिचकिचाउने, सम्भ्रान्त राणा परिवारका सन्तान हुनुको फाइदा पनि उस्तै।

आफ्नो पुस्तक ‘मेरा स्मृतिका पानाहरू’मा उनले लेखेका छन्, ‘मंसिर, पुस, माघ, फागुन चार महिना युरोप, अमेरिका जा भने पनि जाने थिएनौँ। त्यस प्रकारको रौनकदार शिकार खेल्न कहाँ पाउने कुरो थियो र ! अहिले सम्झँदा आफैँलाई त्यसप्रकार शिकार खेलेका थियौँ भन्‍ने सम्झना गर्दा के त्यो सम्भव थियो होला भन्‍ने लाग्छ।’

‘आठ वर्षमा मात्र बुवा-आमा चिनेँ’

इतिहासकार राणाको अर्को रोचक किस्सा भने उनका मातापितासँग जोडिएको छ। उनलाई आफ्नो आमा-बुवा को हुन् भन्‍ने पनि आठ वर्षको उमेरमा मात्र थाहा भयो।

‘म सानो थिएँ। दरबारमा बच्चाहरूलाई मातापिताभन्दा पनि सुसारेहरूले बढी स्याहार गर्थे,’ राणाले विस्तार लगाए, ‘म एकजना बच्चाको लागि ७-८ जना महिला सुसारे हुन्थे। अनि कसरी बुवा-आमा चिन्‍नु !’

आठ वर्षको उमेरमा उनलाई टन्सिल भयो। उनका बुवा ईश्‍वरशम्शेर जबराले ‘टन्सिल अप्रेसन’का लागि उनलाई कोलकाता लैजाने निर्णय गरे। कर्णेल पदवीमा रहेका उनका पिताले तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरबाट अनुमति लिनुपर्ने थियो। ईश्‍वरशम्शेरले उनलाई पनि सँगै लगेका थिए। त्यतिबेला उनलाई बुवा ईश्‍वरशम्शेरले भनेको वाक्य अझै याद छ, ‘मैले जसलाई जसलाई ढोग्छु, उनीहरूलाई मात्र ढोग्‍नु, अरूलाई पर्दैन।’

सिंहासनमा जुद्धशम्शेरलाई अजंगको प्राणीजस्तो देखे उनले। जुद्धशम्शेरलाई उनका पिताले ढोगेपछि पुरुषोत्तमशम्शेरले पनि ढोगे। सोधखोजका क्रममा उनका पिताले टन्सिलको उपचारका लागि छोरालाई कोलकाता लैजान लागेको बताए। र, प्रधानमन्त्री जुद्धशम्शेरले ईश्‍वरशम्शेरलाई पाँच हजार दिए र पुरुषोत्तमशम्शेरका लागि दुई हजार रुपैयाँ भ्रमण खर्च छुट्याइ दिन आदेश दिए।

दुई महिना कोलकाता बसाइपछि मात्र उनलाई ईश्‍वरशम्शेर आफ्ना बुवा र द्रोणकुमारी देवी आमा भनेर थाहा भयो। ‘कोलकातामा यहाँजस्तो दरबार थिएन। घर थियो। दरबारजस्तो भव्य नहुँदा सानो घरमा करिब डेढ महिना बस्‍ने क्रममा आमाबुवाको पत्तो लाग्यो मलाई,’ उनले हाँस्दै भने।

सम्झना बुबुहरूको

इतिहासकार राणाको जीवनकालमा बिर्सन नसकिएको स्मृति हो, बुबुहरूको। उनले आफ्नो पुस्तकमा पनि बाल्यावस्थामा बुवा-आमाभन्दा ज्यादा मोह-माया बुबुहरूको लाग्‍ने उल्लेख गरेका छन्। खुवाउने, पिलाउने, स्याहारसुसार र हेरविचार गर्ने नजिकको सम्पर्कले हो वा किन हो उनीहरूकै माया लाग्थ्यो उनलाई। जिजुबुवा, बुवा, मुमाहरूलाई दिनमा एक वा दुईपटक ढोग गराउन लैजानेबाहेक अन्य समय बुबुहरूसँगै बित्थ्यो, उनको।

यतिसम्म कि कोलकातामा जाने समयमा पनि उनका माता-पिताका साथमा बुबु, दिदी र अन्य दुई सुसारे कमला र मालतीलाई पनि साथैमा लगिएको उनलाई याद छ।

‘एउटा बालकका लागि ६-७ जना सुसारे हुन्थे,’ उनी भन्छन्, ‘आची दिदी, बुबु, दिदी (बुबुहरूको सहायक), धामा (धाई) गरी सुसारे थिए।’ आची दिदीले दिशा गरेका कपडा धुने, बुबुले स्तनपान गराउने, बच्चालाई सफासुग्घर गर्ने काम तय गरिएको हुन्थ्यो। यस्तै, नुवाइधुवाइ, कौसीमा तेल लगाइदिने, शृंगारपटार गरिदिने आदि काम हुन्थे। बुबुको सहायकका रूपमा तैनाथ हुन्थे, दिदीहरू। दिदीको काम भने बुबुसँगै जोडिने गर्थ्यो। बुबुको अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी उनकै हुने थियो। उनको बुबु भने भादगाउँ नजिक बोडे गाउँकी भोटु बुबु थिइन्।

बुबुजस्तै स्याहारसुसारमा नभए पनि उनलाई सम्झनामा भएको दरबारकी अर्की कामदार थिइन्, अडेल्नी बज्यै। अडेल्नी बज्यैको काम भने जिजुबुवा तथा परिवारलाई बन्‍ने पाकवान पहिले आफूले चाखेर मात्र ‘ज्युनार’का लागि दिने हुन्थ्यो। ‘जिजुबुवाले खाना खान ज्युनार गरुन्जेलसम्म अडेल्नी बज्यै छेउमै बस्‍नुपर्थ्यो। सानो गल्ती भयो भने पनि गोली ठोकिदिने डर हुन्थ्यो,’ उनी भन्छन्।

गोली नै ठोकिदिने ? प्रश्‍नको जवाफमा उनले प्रष्‍ट्याए, ‘गोली ठोक्नु के ठूलो कुरो थियो र, मेरो जिजुबुवालाई।’

राणाहरूसँगको सम्झना

‘मेरो पास्‍नीमा तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर आएर मलाई असर्फीको सिक्काले खाना खुवाएका थिए रे। सिक्का त्यहीँ फालेर गएका थिए रे,’ पुराना सम्झनाको तरेलीमा लहराए उनी, ‘उहाँलाई देखेँ होला तर मलाई याद छैन।’

राणा प्रधानमन्त्री भीमशम्शेरदेखिको सम्झना भने उनलाई छ। त्यसयताका सबैजनालाई देखेको र उनीहरूको अनुहार पनि याद रहेको उनी बताउँछन्।

कोलकातामा उपचारमा जानुअघि जुद्धशम्शेरलाई भेट्न गएको सम्झना उनले यसरी गरे, ‘दायाँबायाँ हतियारधारी सैनिक हजुरियाहरू साथमा राखी सिंहासनमा बसेका उनी अजंग देखिएका थिए। मोटो जीउडाल, सेता दारी अनि हेर्दै रफ एन्ड टफ लुक्स उनको थियो।’

यस्तै, भीमशम्शेरसँगको पनि भेटघाट उनलाई थोरबहुत याद छ। उनी आफ्नै दरबार बहादुर भवनमा सुसारे महिलाहरूसँग रमाइलो गर्दै बसिरहेका थिए। हात्तीमा चढेर कोयाको टोपी लगाएका भीमशम्शेर बडो शानका साथ बैठक कोठामा आइपुगे।

‘देख्दैमा डरलाग्दो हुनुहुन्थ्यो उहाँ। मलाई भने उहाँलाई हेर्न पनि मन नलाग्‍ने, उनलाई हेरे डर लाग्‍ने,’ मुजा परेका अनुहारमा थोरै हाँसो फैलाउँदै उनले भने, ‘महिलाहरूको बुई पछाडिबाट लुकीलुकी हेर्थेँ। उनी गएपछि कस्तो आनन्द लाग्यो। भीमशम्शेरले पनि मलाई फर्कीफर्की हेर्दै थिए। चिने कि चिनेनन् होला है !’

बहादुर भवनबाट लखेटिएको समय

घटना करिब विसं १९९० तिरको हो। उनी नौ वर्ष पुग्दै थिए। उनीहरू बसिरहेको बहादुर भवन (हालको निर्वाचन आयोग) जुद्धशम्शेरले हत्याएर उनका जेठा छोरा बहादुरशम्शेरलाई दिए। केही आक्रोशित भावमा उनी भन्दै थिए, ‘त्यो जुद्ध शमशेरले हामीसँग खोसेर लिएको हो, हाम्रो दरबार।’ त्यसपछि नै उक्त दरबारको नाम बहादुर भवन भएको रहेछ।

‘त्यसपछि हामी पाल्पास्थित दरबारमा सर्‍यौँ। त्यस्तो ठूलो भव्य दरबारमा बसेका हामी सानो घरजस्तो दरबारमा बस्‍न सुरुमा त गाह्रै भयो। दरबारका सामानहरू पनि राख्‍ने ठाउँ थिएन। लाजै नमानी त्यो जुद्धशम्शेर फेरि त्यहाँ पनि आयो,’ यसो भन्दै गर्दा उनको अनुहारमा आक्रोशको भाव प्रष्‍टै झल्किन्थ्यो। सामान अस्तव्यस्त देख्दा जुद्धशम्शेरले सोधे, ‘सामान किन यस्तो भद्रगोल गरेको ?’ तब उत्तरमा पुरुषोत्तम शम्शेरका जिजुबुवाले उत्तर दिए, ‘ठाउँ भए पो, दरबार हत्याइहाल्यौ।’

इतिहासकार राणाका अनुसार उनका जिजुबुवा र जुद्धशमशेर घनिष्‍ट मित्र थिए। तर, राजकाजमा षडयन्त्र सामान्य र स्वाभाविक मानिन्थ्यो, त्यतिबेला।

आफू जन्मे-हुर्केको दरबार, भव्य कोठा, ठूला बरन्डा अनि बुबु, सुसारे दिदीहरू सबैको साथ उनीबाट छुट्यो। त्यसपछि भने उनको समय जिजुबुवासँगै तराईका जंगलहरूमा शिकारमा बित्‍न थाल्यो।

त्यतिबेलाको तुलनामा अहिले भएको युगान्तकारी परिवर्तन उनी गाउँ-गाउँ जोड्ने गरी सडक निर्माण हुनुलाई मान्छन्। किनकि, त्यतिबेला सहर-बजारमा बग्गी हिँड्ने साँघुरा बाटा मात्र हुन्थे। टाढाको यात्रामा निस्किनुपर्दा तामदानको सवारी हुन्थ्यो। इतिहासका साक्षी राणा भन्छन्, ‘बाटोघाटो केही थिएन। बनेका साना बाटाहरूमा बग्गीमा जान्थ्यौँ। टाढा जानुपर्दा उकालो ओरालोमा तामदान नै साधन हुन्थ्यो।’

सानो तामदान चारजनाले बोक्थे भने ठूलो आठजनाले। पाल्पा बसाइँ सर्दा त्यसरी नै तामदानबाट यात्रा गरेको स्मरण गर्छन् उनी।

उनलाई अहिले जावलाखेलस्थित सदर चिडियाखानाका जनावरको चिन्ता लाग्छ रे। लामो समयदेखि उनी घरबाहिर निस्कन सकेका छैनन्। उनलाई आफ्नो पुर्खाको धरोहर भएको कारण पनि होला ‘चिडियाखाना कस्तो भयो होला, जनावरहरूले खाना पनि पाएका छन् कि छैनन्’ भन्‍ने चिन्ता लाग्छ रे।

इतिहासकार राणा अहिले पूर्ण रेस्टमा छन्। खुट्टामा देखिएको समस्याका कारण उनी घरबाहिर निस्केका छैनन्। कोरोना महामारीअघि अस्ट्रेलियाबाट फर्किएसँगै उनी पूर्ण रेस्टमा छन्। ‘म त घुमक्कड मान्छे। नेपाल धेरै बस्‍ने नै होइन। घुमेको घुम्यै गर्थेँ,’ अहिलेको जीवनशैलीप्रति दुःखी छन् उनी, ‘अहिले कैदीजस्तो लाग्छ आफैँलाई।’

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्