Kathmandu Press

तनहुँका दुई पालिकामा कोरोना दर शून्य

दमौली, कात्तिक ८ : तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको...
तनहुँका दुई पालिकामा कोरोना दर शून्य

दमौली, कात्तिक ८ : तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो। तनहुँमा हाल २८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

व्यासनगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा आठ, भिमाद नगरपालिकमा तीन, भानु नगरपालिकमा तीन, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ र बन्दीपुरमा एक÷एकजना कोरोना सङ्क्रमित रहेका छन्। आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

तनहुँमा ८५ हजार ८०० लाई पहिलो खोप र ६४ हजार ९८० ले दोस्रो खोप लगाएका छन्। वैशाखदेखि हालसम्म १२४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। कोरोना सङ्क्रमण घट्दै गए पनि सुरक्षामापदण्ड अपनाएर मात्रै पेशा व्यवसाय र हिँड्डुल गर्न स्वास्थ्य कार्यालयले सर्वसाधारणमा आग्रह गरेको छ।

Hardik ivf

६७ हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि

त्यसैगरी स्वास्थ्य कार्यालय तनहुँले जिल्लाभर ६७ हजार दुई बालबालिकालाई  ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइने लक्ष्य रहेको जनाएको छ। त्यस्तै ६ महिना माथिका पाँच वर्ष मुनिका ३६ हजार २०० जनालाई भिटामिन ए खुवाइनेछ। त्यसैगरी एक वर्षमाथि पाँच वर्ष मुनिका ३१ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए।

कात्तिक ७ गते टोल–टोलमा खोप केन्द्र राखेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइए पनि छुट भएकालाई कात्तिक ८ गते घरघरमा गएर खुवाइने उनले बताए। जिल्लामा चार सय ६६ जना महिला स्वास्थ्य स्वयसेविका रहेका छन् ।
    
दमौली अस्पताललाई बाह्ररोपनी जग्गा दिलाउन पहल

व्यासनगरपालिकाले दमौली अस्पताललाई नपुग करिब बाह्र रोपनी जग्गा उपलव्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ। व्यास नगरपालिकाको नियमित बैठक नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो।

अस्पताललाई नपुग जग्गा कृषि विकास कार्यालय र पशु विकास कार्यालय, तनहुँबाट उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।

पचास श्यया क्षमताको अस्पताल बनाउनको लागि उक्त बाह्र रोपनी अपुग देखिएपछि पहलकदमी थालिएको उनले बताए। दमौली अस्पतालमा १५ श्ययाको लागि स्वीकृति भए पनि ४२ श्यया चलाउदै आएको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए। पचास श्यया (सेकेन्डरी लेभल)को अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यक पर्ने भएपनि अस्पतालको लालपुर्जा चार रोपनी र चर्चिदै आएको सार्वजनिक जग्गा समेत गरी १५ रोपनी १४ आना रहेको उनले बताए।

त्यसैगरी उक्त बैठकले गत असोज २२ गते भएको कार्यपालिका बैठकका निर्णयको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी रहेका विषयमा सम्बन्धित शाखालाई कार्यान्वयन प्रकिया अघि बढाउन निर्देशन दिइएको छ। नगरपालिकाको मूलभवनमा तला थप, व्यास नगर कोभिड अस्पताल लगायतका योजनाको बोलपत्र प्रक्रियाको प्रतिवेदन एवं अन्य काम सम्पन्न नभएका स्वीकृत योजना र अब बोलपत्र गर्नुपर्ने कार्यको समीक्षा गरेको छ।

साथै बैठकले योजनाकार्यलाई छिटो सम्पन्न गर्न पूर्वाधार विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ। ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर २०७८ कात्तिक ११, १२ र १३ गते दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। दमौली वरपर पराशर आश्रम क्षेत्र, अनशन चौतारी– सेन्ट्रल पार्क, बिपी वन वाटीका खेलमैदानमा सहरी हरियाली परियोजना प्रस्तावको लागि सङ्घीय वन तथा वातावरण मन्त्रालय सिंहदरबारमा पेश गर्ने निर्णय भएको छ।

 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्