Kathmandu Press

एल क्लासिकोमा बार्सिलोनाविरुद्ध रियलको जित

काठमाडौं, कात्तिक ८ : सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ।आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियलले बार्सिलोनामाथि २–१ को जित...
एल क्लासिकोमा बार्सिलोनाविरुद्ध रियलको जित

काठमाडौं, कात्तिक ८ : सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ।

आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियलले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो। बार्सिलोनाविरुद्ध रियललाई जित दिलाउन डेभिड अलाबा र लुका भास्क्वेसले गोल गरे भने बार्सिलोनाका लागि सर्जियो अगुएरोले गोल गरे।

खेलको ३२औं मिनेटमा डेभिड अलाबाको गोलमा रियलले अग्रता लिएको थियो। एल क्लासिकोमा डेभ्यू गरिरहेका अलाबाले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरेका थिए।

दोस्रो हाफको इन्जुरी समयमा भास्क्वेसले गोल गर्दै क्याम्प नाउमा रियललाई २–० को अग्रता दिलाए। मार्को असेन्सियोको प्रहारलाई बार्सिलोनाका किपर मार्क आन्द्रे टेरस्टेगनले रोकेपछि आएको रिबाउन्डमा उनले गोल गरेका थिए।

इन्जुरी समयको सातौं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। उनले सर्जिनो डेस्टको क्रसमा गोल गरेका थिए।

एल क्लासिकोमा रियलको लगातार तेस्रो जित हो। अघिल्लो सिजनको दुवै एल क्लासिकोमा रियल विजयी भएको थियो।

यो जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियलको ९ खेलमा २० अकं छ। रियलले ९ खेलमै २० अंक नै जोडेका सेभिया र रियल सोसिडाडलाई पनि पछि पारेको छ।

सोभिया दोस्रो र सोसिडाड तेस्रो स्थानमा छ। १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ।

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्