बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा
सोलुखुम्बु, कात्तिक ७ : जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ। मेरापिक...
सोलुखुम्बु, कात्तिक ७ : जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ। मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता भएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो।
सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका थिए। यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता भएका थिए। उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ।
एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन्। उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए। लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन्। खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए।
बेपत्ता भएका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ। उनका साथमा एकजना भाइ रहेका छन्। भाइको समेत गत वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ। छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ। गाइडका साथमा गएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ।












