Kathmandu Press

कोरोना प्रसारमा गत वर्षकै नियति : दसैंलगत्तै बढे संक्रमित, तर जटिलता कम

गत वर्ष दसैंमा कोरोनाविरुद्ध खोप आएको थिएन र बिरामी संख्या अत्यधिक रहँदा अक्सिजन र बेड अभाव चर्को थियो। यसपालि खोप लगाउने संख्या बढ्दा जटिलता कम देखिएको छ।
कोरोना प्रसारमा गत वर्षकै नियति : दसैंलगत्तै बढे संक्रमित, तर जटिलता कम

काठमाडौं, कात्तिक ५ ः गत वर्ष विज्ञहरूले दसैंमा सहर बजारबाट गाउँतिर मानिसको बहाव बाक्लिँदा कोरोना प्रसार बढ्ने चेतावनी विज्ञहरूले दिएका थिए । भयो पनि त्यस्तै, दसैंलगत्तै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो । यस वर्ष पनि सोही नियति दोहोरियो, दसैंमा डेढ सय हाराहारीमा झरेको संक्रमित संख्या त्यसलगत्तै एक हजार नाघ्यो ।

दसैं सकिएको दुई दिनमै एक सय ४७ बाट एक हजार ९६ जना संक्रमित थपिए । दसैंपछि कोरोना संक्रमित संख्यामा बढ्नु अपेक्षित नै रहेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘दसैंपछि धेरै मानिस गाउँघर जाने र फर्किने भएकाले संक्रमितको संख्यामा वृद्धि हुनु अपेक्षित नै थियो,’ उनी भन्छन्, ‘तथापि, गत वर्षजस्तो भयावह अवस्था यसपालि छैन । तर, जोखिम पक्कै बढेको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा बिरामीको संख्या ह्वात्तै नबढेको तर केही निजी अस्पतालमा दसैंअघिको तुलनामा बिरामी संख्यामा केही वृद्धि देखिएको डा. पुन बताउँछन् ।

Hardik ivf

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष दसैंमा फूलपातीमा एकै दिन चार हजार ४९९ जना कोभिड–१९ पजिटिभ पुष्टि भएको थियो । यो संख्या क्रमशः घटेर विजया दशमी अर्थात् १० कात्तिक ०७७ मा पाँच सय ७० मा सीमित भएको थियो । दसैं सकिएलगत्तै मानिसको आउजाउ बाक्लिएपछि पुनः दैनिक तीन हजारको हाराहारीमा संक्रमित थपिएका थिए ।

गत वर्षभन्दा यसपालि संक्रमण बढ्दा जोखिम कम छ । किनकि, गत वर्ष संक्रमितको उपचारका लागि अक्सिजन र बेड अभाव भएको थियो । अनि, कोभिड–१९ विरुद्ध खोप नै आएको थिएन । यस वर्ष बढेको संक्रमित संख्या नै कम भएकाले अक्सिजन र बेड अभाव छैन । अनि, कोरोनाविरुद्ध खोप लगाउनेको संख्या पनि उच्च छ ।

गत असार मसान्तयता हालसम्म एक करोड ५० लाख ४८ हजार २८८ डोज खोप लक्षित समूहहरूलाई प्रदान गरिसकिएको मन्त्रालयको तथ्यांक छ । त्यो भनेको लक्षित जनसंख्याको २९.७ प्रतिशत हो ।

अहिले कोरोनाका नयाँ भेरियन्टको प्रभाव कमजोर देखिएको छ । र, नेपालमा डेल्टा भेरियन्टबाट संक्रमित हुनेहरू बढी रहेको र एक हिसाबले ‘हर्ड इम्युनिटी’ सिर्जना भइसकेकाले पनि यसपालि जोखिम कम देखिएको विज्ञहरू बताउँछन् ।

‘तथापि, खोप लगाउनु भनेको संक्रमित नै नहुनु भन्ने होइन तर जटिल अवस्था आएर मृत्यु हुने सम्भावना कम हुने अनुसन्धानले देखाएको छ,’ डा. पुन भन्छन्, ‘दोस्रो लहरको जस्तो भयावह अवस्था नआए पनि संक्रमितको संख्या तलमाथि भइरहनसक्छ ।’ विगतको तुलनामा अहिले भाइरस आफैँमा केही हदसम्म कडा नदेखिएको उनी बताउँछन् । उनका अनुसार कतिपय मानिस खोप नलगाएका र पहिला पनि संक्रमित नभएका हुनसक्छन् । त्यस्ता मानिसलाई जोखिम उच्च हुने उनी बताउँछन् ।

‘संक्रमितको संख्या बढेको वा घटेकोभन्दा पनि अब संक्रमित जटिल अवस्थामा पुगेर अस्पतालमा बेड नपाउने अवस्था सिर्जना हुनु भएन । र, मृत्यु हुनेको संख्यामा वृद्धि हुन नदिनेतर्फ सरकारको ध्यान जान जरुरी छ,’ उनी भन्छन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला पनि गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमण दर सामान्य अवस्थामा रहेको बताउँछन् । ‘पोहोर कोरोनाविरुद्धको खोप थिएन । यसपालि कुल जनसंख्यामध्ये करिब २१.४ प्रतिशतले खोप पाइसकेका छन्,’ उनी भन्छन्, ‘सोही कारण जोखिम कम छ । तर, पूर्ण रूपमा ढुक्क हुने अवस्था छैन । अझै पनि बालबालिकाहरूलाई खोप उपलब्ध गराइएको छैन । त्यसमाथि खोपले पनि शतप्रतिशत सुरक्षा दिँदैन ।’

उनका अनुसार खोप लगाइसकेकाहरूमध्ये पनि एक तिहाइलाई कोरोना संक्रमण हुने सम्भावना रहन्छ । तर, नेपालमा धेरैलाई डेल्टा भाइरसको संक्रमण भइसकेको र खोप पनि लगाइसकेको हुँदा दसैंपछि कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि हुने सम्भावना कम रहेको डा. कोइराला बताउँछन् ।

‘दसैंमा सहर–बजार र गाउँघर आउजाउ बढ्ने हुँदा दसैंअघिको तुलनामा दोब्बर अर्थात् १५ सयदेखि दुई हजारसम्म संक्रमित बढ्लान् । तर, त्यसभन्दा धेरै हुने सम्भावना कम छ,’ उनी भन्छन्, ‘तर, सतर्कता अपनाउन जरुरी छ । किनकि, बालबालिकाका साथै कतिपय गाउँमा बसिरहेका मानिसले खोप पाएका छैनन् । मास्कको प्रयोग नै नगर्नेहरू पनि बढेका छन् । उनीहरूका कारण खोप लगाइसकेकाहरूलाई पनि केही मात्रामा जोखिम हुने सम्भावना कायमै छ ।’

यस्तै, जनरल फिजिसियन डा. केदार सेन्चुरी अहिले मानिसले जनस्वास्थ्यका मापदण्ड अपनाउनमा हेलचेक्र्याइँ गर्न थालेका कारण पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको बताउँछन् । ‘कोरोनाको जोखिम पूर्ण नियन्त्रणमा आइसकेको छैन । तर, मानिसहरू आफूखुशी मास्क नलगाई, भौतिक दूरी कायम नगरी हिँड्न थालिसकेका छन्,’ उनी भन्छन्, ‘जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना नगरेपछि कोरोना संक्रमितको संख्या वृद्धि हुनु स्वाभाविकै हो ।’

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्