टीका, जमरासँगै मनाइयो विजयादशमी (फोटो फिचर)
बडादसैंको मुख्य दिन शुक्रबार विजयादशमीका अवसरमा बिहानको साइतमा घर–घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाबाट आशीर्वाद लिनेहरूको देशभर चलपहल रह्यो ।काठमाडौं, असोज २९ : बडादसैंको मुख्य दिन शुक्रबार विजयादशमीका अवसरमा बिहानको साइतमा घर–घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाबाट आशीर्वाद लिनेहरूको देशभर चलपहल रह्यो ।
घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।
शुक्रबारदेखि कोजाग्रत पूर्णिमा अर्थात् २ कात्तिकसम्म टाढा–टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ । कोजाग्रत पूर्णिमामा सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।