विजयादशमी : टीका, जमरासँगै पारिवारिक पुनर्मिलन
नवरात्र अर्थात् नौवटा तिथिका रातभर देवीको पूजाआराधना गरेर दशमीको दिन देवीको आराधना गरिन्छ। त्यसका लागि ‘प्रातर आवहे देवी प्रातरेव प्रदेशयेत्, प्रातः प्रातश्य सम्पूज्य प्रातरेव विशाचयेत्’ मन्त्रोच्चारण गरिन्छ।हाम्रो धर्म, संस्कृतिअनुसार प्रत्येक दिन साना-ठूला पर्व पर्छन्। त्यसमध्ये वसन्त र शरद ऋतुमा दुईवटा दसैं छन्, जसलाई हामी चैते दसैं र आश्विनको दसैं भन्छौँ।शरद ऋतुमा पर्ने दसैं अझ विशेष मानिन्छ।
बिनाशक्ति कसैले पनि केही गर्न सक्दैन। दसैं भनेको शक्तिको अराधना पनि हो। प्रकृतिका मुख्य पाँचवटा शक्ति पार्वती, लक्ष्मी, राधा, सावित्री, दुर्गालाई आफ्नो कर्म, कोण र स्वभावअनुसार फरक समयमा फरक नामले हामीले पुकार्छौँ।
नवरात्र अर्थात् नौवटा तिथिका रातभर देवीको पूजाआराधना गरेर दशमीको दिन देवीको आराधना गरिन्छ। त्यसका लागि ‘प्रातर आवहे देवी प्रातरेव प्रदेशयेत्, प्रातः प्रातश्य सम्पूज्य प्रातरेव विशाचयेत्’ मन्त्रोच्चारण गरिन्छ।
विधिअनुसार प्रातःकालमा देवीको आह्वान, प्रातःकालमा प्रवेश, प्रातःकालमा पूजा र प्रातःकालमै विसर्जन गर्नु भन्ने शास्त्र र देवीपुराणको वचन छ। यसैको आधारमा दशमीको दिनमा वैदिक मन्त्रोच्चारणका साथ पूजा गरेर देवीको विसर्जन गर्ने गरिन्छ।
दशमीको टीका लगाउँदा विभिन्न आशिर्वचनका साथ मान्यजन वा अग्रजहरूको हातबाट देवीको प्रसाद ग्रहण गरिन्छ। जस्तै- गुरु पुरोहित, हजुरबा, हजुरआमा, बुवा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ। त्यसबाट यश, ऐश्वर्य, कार्यक्षमतावृद्धि र दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिइन्छ।
०००
स्वस्त्यस्त्तुते कुशलमस्तु चिरायु रस्तु
गौभाज्य वृद्धि धनधान्य समृद्धि रस्तु
ऐश्वर्यमस्तु विजयस्तु रिपुक्षयस्तु
सन्तान वृद्धिसहिता हरिभक्ति रस्तु
०००
आयुद्रोण सुते, श्रीयम् दशरथे शत्रुक्षयम् राघवे
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानश्च दुर्योधने
दानम् सूर्यसुते बलम् हलधरे सत्यन्च कुन्तीसुते
विज्ञानम् विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे
विजयादशमी आफैँमा शुभ दिन भएकाले यसदिन टीका लगाउन साइत खोज्नुपर्दैन। यस दिन मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ। हाम्रो समाजमा दशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ।
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास रहिआएको छ।
विगतमा एउटा देशको राजाले अर्को देशमा संग्राम, लडाइँका लागि जानुभन्दा पहिले शक्तिको आराधना र खड्ग पूजा गरेर मात्र निस्कने चलन थियो। उदाहरणका लागि राम र रावणको लडाइँमा पनि यस्ता क्रियाकलापहरू भएको विभिन्न पुराण र ग्रन्थहरूमा उल्लेख छ।
शरद ऋतुको बारेमा पुराणमा पनि उल्लेख छ। र, पुराणमा बताइएका कुराहरूको आचरण गर्नु र त्यसैअुनसार चल्नु नै यसको धार्मिक महत्त्व हो। यसको सांस्कृतिक महत्त्व भनेको त्यसलाई पछ्याएर आफ्नो परम्परामा लैजानु हो।
यस्तै, सामाजिक क्षेत्रमा पनि दशमीको उत्तिकै महत्त्व छ।दसैंको पर्व हरेक समाजमा आ-आफ्नो तरिकाले मनाउने गरिन्छ। घरपरिवारबाट टाढा बसेका व्यक्तिहरू पनि यसै समयमा घर जाने, परिवारलाई भेट्ने गर्छन्। अघिपछि झैझगडा भइरहेको थियो भने पनि दशमीका दिन टीका लगाउने र आशिर्वाद दिने परम्पराले आपसमा बोल्ने मौका पाएका हुन्छन्। यसले बिग्रिएको सद्भाव बलियो बनाउने काम पनि गर्छ।
विगतको तुलनामा अहिले रमाइलोको हिसाबले खानपिन र लवाइमा केही फरक पक्कै पनि आएको छ। कतिपय मानिसले दसैंलाई खर्चिलो पर्व पनि भन्ने गरेका छन्। तर पनि, आफ्नो अवस्थाले भ्याएजति सबैले देवीको पूजाआराधना गरिरहेका छन्।
पहिले पनि दशमीका दिन टीका लगाउने चलन थियो। तर, हुनेलाई दसैं नहुनेका लागि दशाको रूपमा पनि यसलाई लिइन्थ्यो। दसैंमा सबैलाई नयाँ लुगा किन्नुपर्ने, सामान धेरै खरिद गर्नुपर्ने, दानदक्षिणालगायत खर्च धान्नका लागि ऋण लिनुपर्ने बाध्यतासमेत हुन्थ्यो।
अहिले भने आफ्नो आर्थिक स्थितिअनुसार खर्च गर्ने चेत मानिसमा विकास भएको छ। विगतको तुलनामा मानिसको जीवन केही सरल भएको देखिन्छ। र, यसलाई मनाउने तौरतरिकाहरू पनि केही सरल हुँदै गएका छन्।
संसारमा शक्तिबिना कुनै वस्तुको अस्तित्व रहँदैन। शिवजीकी शक्ति पार्वती, विष्णुकी शक्ति लक्ष्मी, कृष्णकी शक्ति रुक्मिणी भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। त्यसैले बिनाशक्ति कसैले केही गर्न सक्दैन। र, प्रकृतिले दिएका जति पनि वस्तु वा प्राणीहरू छन्, तिनीहरूको अस्तित्व भनेकै आफूमा गाँसिएका शक्ति हुन्।
त्यसैले सबै अनिष्ट हटून्, दुःख कष्ट नआओस्, सबैमा खुशी प्राप्त होस् भनेर आशिष र वरदान माग्ने चलन सुरु भएको हो। र, दशमीका दिन तिनै आशिषका साथ टीका, जमरासहित देवीको प्रसाद ग्रहण गरिन्छ। समग्रमा सामाजिक सद्भाव र शक्तिको आराधना गर्न दसैं पर्व महान सिद्ध भएको छ। त्यसैले हामी यस चाडलाई महान पर्व दसैं पनि भन्ने गर्छौँ।
(नेपाल पञ्चांग निर्णायक समितिका कार्यकारी निर्देशक तथा सदस्य-सचिव ढुंगेलसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)