खोकनाको समावेशी जात्रा सिकाली
ललितपुर खोकनामा दसैं मनाइँदैन, सिकाली जात्रामा मस्त रहन्छन् खोकनावासी। महिला, पुरुष मात्र होइन, कुनै पनि जातजातिबीच विभेद गरिँदैन यो जात्रामा। त्यसैले यसलाई समावेशी जात्रा मानिन्छ।
काठमाडौं, असोज २७ : ललितपुर खोकनास्थित सिकाली मन्दिर परिसरको फराकिलो हरियो चौर, सेतो पहिरनमा सबैभन्दा ज्येष्ठ दक्ष प्रजापति यज्ञ गरिरहेका छन् । उनको यज्ञ विध्वंश भएको छ । चारैतिर देवदेवीका भेषमा रहेका गुठियारहरूको संहार भएको छ । महांकाल–वीरभद्र यज्ञ विध्वंश गर्न उद्यत छन् । सोही समय वीरभद्रले दक्ष प्रजापतिको भण्डारबाट सबै अन्न निकालेर छरिदिन्छन् ।
स्वस्थानीका वीरभद्रको भेष धारण गरेका तः गुठीका महाभुद्य (वीरभद्र) ले गुठीबाट व्यवस्था गरेको अक्षता जात्रा हेर्न आएका सबैमा बाँड्छन् । उक्त परिदृश्य हेर्न स्थानीय बासिन्दा मात्र नभई टाढा-टाढाका मानिस सप्तमीका दिन सिकाली मन्दिर परिसर पुगेका हुन्छन् । उक्त अक्षता ग्रहण गर्नाले पेटको रोग व्याध, भूतप्रेत लागेको भए पनि निको हुने जनविश्वास छ ।
सिकाली जात्राको रौनक यस्तो हुन्छ कि देशभर दसैंको रौनकले पनि खोकनावासीलाई कुनै फरक पार्दैन । उनीहरू जात्रामै मग्न हुन्छन् । उनीहरूको निधारमा दसैंको टीका अहिलेसम्म नपरेको स्थानीय बासिन्दाको भनाइ छ ।
सिकाली जात्रा भन्नेबित्तिकै स्थानीयवासी तथा गुठियार किरण महर्जन मस्तिष्कमा रुद्रायणी नाच अझ विशेष अक्षता बाँडेको सोही झलक आउने गर्छ । ‘सिकाली जात्राको प्रमुख आकर्षण यही हो,’ गुठियार सदस्य किरण भन्छन्, ‘रुद्रायणी जात्राको उक्त प्रसंग पनि स्वस्थानी कथामा उद्धृत दक्ष प्रजापतिको यज्ञ विध्वंशसँग सम्बन्धित हो ।’
दसैंको सट्टा जात्रामा मग्न खोकनावासी
घटस्थापनाको दिनबाट सिकाली जात्राको विधिवत् सुरुवात हुन्छ । त्यसका लागि अघिल्लो दिन नै ‘पुजारी मचा’ अर्थात् बाल पुजारीहरू गुठी घरमा बास बस्नुपर्छ । नेपाल भाषामा बच्चा वा बालकलाई ‘मचा’ भनिन्छ । पुजारी मचा तः गुठी र सनां गुठीबाट ४-४ जना गरी ८ जना हुन्छन् । घटस्थापनाको दिनबाट उनीहरूले प्रत्येक घरबाट मन्दिरका लागि पूजा ग्रहण गर्ने गर्छन्, जसलाई पूजा सादमी संकलन भनिन्छ । उक्त प्रक्रिया आश्विन शुल्क तृतीयासम्म चल्छ ।
तृतीयाको दिन राँगो काटिन्छन्, जुन ‘छोयला भू’ (छोयला भोज) को लागि आवश्यक पर्छ । यस विधिको सबैभन्दा अगुवा हुन्छन्, कसाईका थकाली । कसाईका थकाली यस विधिको लागि व्रत बस्नुपर्छ । यस्तै, देथकाली आजु (खोकनामा सबैभन्दा ज्येष्ठ व्यक्ति)को घरबाट पूजा सादमी ल्याएपछि कसाईका थकालीले राँगो काट्छन् । वध गरिएको राँगोको रगत र पूजा सादमी सिद्धीकाली देवीलाई पुजारी मचाहरूले पुर्याउँछन् । त्यसपछि काटिएको राँगोको टाउकोलाई नंकि (महिला ज्येष्ठ थकाली) ले विधिवत् पूजा गरी मासु भित्र्याउने चलन छ ।
काटिएको उक्त मासु अर्को दिन अर्थात् आश्विन शुक्ल चौथीका दिन ‘छोयला भू’ अर्थात् ‘छोयला भोज’ गरिन्छ । उक्त दिन घर-घरमा पनि छोयला भू हुन्छ । वध गरिएको मुख्य राँगोको भोज रातको समयमा गुठियारहरूले गर्छन् । गुठीबाहेकका अन्यले उक्त भोज हेर्न नहुने महर्जन बताउँछन् ।
पञ्चमीका दिन मुल जात्रा हुन्छ । जात्राको लागि दिनभर तयारीमा जुट्छन्, गुठियार । राति खोकनामा रहेकी रुद्रायणीलाई सिकाली मन्दिरमा पुर्याइन्छ । सोही रात गाउँबाट देथकालीसहित उनीबाहेक अन्य तल्ला (तः गुठीका ५ थकाली) न्याम्ह थकालीहरू पनि सँगै सिकाली चौर पुग्छन् । यसलाई अहोरात्रि पनि भनिन्छ ।
मिर्मिरे बिहान अर्थात् षष्ठीका दिन बिहान स्वस्थानीमा जसरी नै देथकाली तथा अन्य पाँचले होम गर्छन् जसलाई स्वस्थानीमा दक्ष प्रजापतिले गरेको यज्ञसरह मानिन्छ । उक्त यज्ञका लागि बुङमतिका गुभाजुलाई आमन्त्रण गरिन्छ ।
यज्ञपश्चात खोकनाबाट सिकाली चौरमा रुद्रायणी देवी तथा पँय्ता (श्रेष्ठ) खलकको नृत्यका लागि आउँछन् । सोही खलकको सतीदेवी (मू द्यः) ले यज्ञमा देह त्याग गरेको प्रहसनपछि यहाँ वीरभद्र महांकालले सबै देवी देवताका गणलाई लखेट्छन् ।
‘मांहाभूद्यः’ अर्थात वीरभद्र महांकालले यज्ञ ध्वंश गरी अक्षता बाँड्ने गर्छन् । सोही मञ्चन नै सिकाली जात्राको सबैभन्दा आकर्षक दृश्य मानिन्छ, जसलाई हेर्न टाढा–टाढाका मानिस आउँछन् । यो प्रहसन वा नृत्य सिकाली जात्राको सबैभन्दा महत्त्वपूर्ण हो । यस जात्रालाई जीवनमा एकपटक भए पनि हेर्नुपर्ने जनविश्वास रहिआएको छ । नाचपछि गुठियारसहित देश परिक्रमा हुन्छ ।
सप्तमी अर्थात् फूलपातीका दिन सिकाली प्याखँ कोय्लाछी डबलीमा देखाइन्छ । जहाँ महिषासुर वध, गणेश कुमारको बुद्धि परीक्षणलगायत प्रहसन गणहरूले गर्छन् । ‘स्वस्थानीमा जति पढे वा वर्ष दिनमा सोही नाच हेर्दै आएका पनि नाचको रोमाञ्चकता भने कहिल्यै पनि नहराउने स्थानीय बासिन्दा बताउँछन् ।
सप्तमीकै रात ‘सीका भू’ अर्थात् महिलाहरूको छुट्टै भोज हुन्छ । सामान्यता गुठीका भोजहरूमा महिलाहरूलाई संलग्नता नगरिए पनि उक्त गुठी भोज भने महिलाकै नेतृत्वमा हुने गर्छ । त्यो पनि राति ।
महिलाहरूलाई यस दिन स्वतन्त्रता हुन्छ । रातभर सबै बसेर भोज खाने रमाउने गर्छन् । उनीहरूलाई कुनै बन्देज हुँदैन ।
महिला भोजपछि ‘चांल’ अर्थ गुठियारहरूले पुनः देश परिक्रमा गर्छन् । परिक्रमा कुटु पुख छो, कुंफ टोल, चोयलाछीलगायत खोकनामा विभिन्न स्थानमा राखिएका हाथु द्यः (भैरव) को मुखबाट प्रसादको रूपमा जाँड र समयबजी खुवाउने चलन पनि छ ।
अन्तमा थकाली नकिं (महिना ज्येष्ठ थकाली) बाट विधि पूजा गराएर रुद्रायणी देवीलाई पुनः मन्दिरमा विराजमान गराइन्छ । देवीलाई विराजमान गरिसकेपछि पुनः ठूलो समयबजी हुन्छ, जसलाई ‘सिखा भू’ भनिन्छ ।
यथार्थमा सिकाली जात्रा नभई सिखाः भू रहेको महर्जन बताउँछन् । सिखाः भन्नाले ठूलो वध र भू को अर्थ भोज हो । जात्रा गरिएको राँगोको वध र त्यसपछिको भोजलाई नै ‘सिखा भू’ भनिन्छ । सिखा: भू को अपभ्रंश हुँदै हाल सिकाली जात्रा भनिएको उनले प्रस्ट्याए ।
यसरी सप्तमीको दिनबाट जात्राको औपचारिक विर्सजन भएसँगै अष्टमी र नवमीका दिनबाट घर-घरमा भोज हुन्छ । पाहुना लाग्ने क्रम पनि त्यससँगै सुरु हुन्छ ।
समावेशी जात्रा
झट्ट हेर्दा सांस्कृतिक र परम्पराको निरन्तरता देखिए पनि यो जात्रा निकै समावेशी छ । नेवार समुदायभित्र पनि जातीय रूपमा यस जात्रालाई समावेशीकृत गरिएको छ । यस जात्रामा ज्यापु समुदायका महर्जन, डंगोलहरूले गुठी तथा सिकाली नृत्य सञ्चालन गर्छन् । यज्ञका लागि गुभाजुस्तरका नेवार पुरोहितको संलग्नता रहन्छ भने श्रेष्ठहरू रुद्रायणीमा प्रहसन गर्ने नाचका जिम्मेवार हुन् ।
तृतीयाको दिन राँगो काट्दा पनि कसाई समुदायका थकाली मुख्य हुन्छन् । उनीबिना उक्त दिन पूजा नै सम्भव हुँदैन । यस्तै, चित्रकारको भूमिका मुकुट तथा अन्य मूर्ति बनाउनेमा हुन्छ । जुंगी (कसुले) समुदायले रुद्रायणी देवीका बाजा (नगरा) बनाउँछन् । महर्जनका अनुसार जुंगी समुदायले बजाउने बाजाको तरंग निकै तान्त्रिक हुने गर्छ । जसको अनुभूति नृत्य गणलाई मात्र हुन्छ ।
यस्तै, जात्रा अवधिभर महिला थकाली (नंकि) को पनि मुख्य भूमिका रहन्छ । काटिएका मासु गुठी घरमा भित्र्याउनेदेखि देवीलाई पुनः मन्दिर विसर्जनमा पनि महिला नंकिको आवश्यकता पर्छ ।
यस्तै, जात्रा अवधिभर बौद्ध परम्पराअनुसार ‘निब्या’ अर्थात् बिना मासु र ऐलाको समयबजी खाइन्छ । तथापि, चौथीको दिनमा हुने छोयला भोज भने यसमा अपवाद मानिन्छ । यो जात्रामा बौद्ध र हिन्दू धर्मको छाप परेको देखिन्छ । बौद्ध धर्मअनुसार ऐला र छोयला जात्रामा चल्दैन । जात्राको अन्तिम भोजमा मात्र मासु प्रयोग गरिन्छ । यसरी जात्रामा महिला पुरुष कथित जातीय भेद छाडेर धार्मिक आस्थाको समावेशी जात्राको रूपमा मनाइने गरिन्छ ।
ऐतिहासिक पाटो
‘नेपालमण्डलया ख्वाः पाः प्याखं : नेपालमण्डलका मुुकुन्डो नाच’ पुस्तकमा उल्लेख भएअनुसार रुद्रायणी (सिद्धिकाली माजु) जात्राको प्रहसन वर्षमा चारपटक हुन्छ । पहिलो भाद्र कृष्ण पक्ष परेवा (गंलुगा पारु) को दिन, दोस्रो आश्विन शुक्ल परेवाको दिनदेखि अष्टमी (दसैं अवधि), तेस्रो कात्तिक पूर्णिमाको दिन र चौथो चैत्र शुक्ल राम नवमीका दिन । पुस्तकका अनुसार राजा अमर मल्लको पाला नेपाल संवत् ६३३ श्री रुद्रायणी नाच (सिकाली प्याखं) सुरु भएको थियो ।
सामाजिक पाटो
जात्रामा त्रिशुल आकारमा बनाएको चित्रले भने बुवा, आमा र गुरुको संकेत गर्ने महर्जन बताउँछन् । उक्त संकेतले आमा, बुवा र गुरुलाई भगवानसरहको सम्मान र आदर गर्नुपर्ने अर्थ दिन्छ । सामाजिक, ऐतिहासिक तथा समावेशी यस जात्राको छुट्टै रौनक छ ।
‘दसैंको टीका लगाउन मन लाग्दैन,’ काठमाडौं प्रेसको जिज्ञासामा महर्जन भन्छन्, ‘हामीलाई दसैं आए गएको पत्तै हुँदैन । हामी जात्रामै मस्त हुन्छौं ।’