‘हाइक फर नेपाल’सँग हाइकिङ
१२ वैशाख ०७२ को भूकम्पपछि सुरु भएको ‘हाइक फर नेपाल’ बिदामा घुम्न निस्किन चाहने तर साथी नपाएर इच्छा मनभित्रै दबाएर राख्न बाध्य व्यक्तिहरूका लागि उपयोगी बनेको छ।
काठमाडौं, असोज १६ : काठमाडौं नक्सालकी योगिता अग्रवाल (२३ वर्ष) बिजनेस मार्केटिङकी विद्यार्थी हुन्। अध्ययन र कामबाट थोरै समय मिल्नासाथ उनलाई घुम्न मनपर्छ। प्रकृतिप्रेमी उनी प्रायः डाँडाकाँडा घुम्न जान रुचाउँछिन्। तर, पढाइ र अफिसको काममा नै व्यस्त हुने बाध्यताबाट थोरै समय पाउँदा पनि सँगै घुम्न जाने साथीहरू नभएकाले घुम्न जान नपाएको उनी बताउँछिन्।
‘साथीको समय मिल्दा आफ्नो समय नमिल्ने आफ्नो मिलेको बेला साथीको यसरी कति लामो समयसम्म घुम्न जान पाएकी थिइनँ,’ उनले भनिन्। भारतको बैङ्लोर अध्ययन गरेकी उनी त्यहाँ रहँदा घुम्न जाने भए पनि नेपाल आएर घुम्न जान पाएकी थिइनन्।
एक्लै घुम्नका लागि घरमा अनुमति थिएन, बिदाको समय उनी मोबाइल चलाएरै बिताउन बाध्य थिइन्। मोबाइल चलाउँदै गर्दा एकदिन उनले सामाजिक सञ्जालमा ‘हाइक फर नेपाल’को फेसबुक पेज देखिन्। सोही पेजमा म्यासेज पठाएर घुम्न जाने योजना बनाइन्। लामो लकडाउनपछि उनलाई बाहिर हिँड्न मन थियो तर मनमा एकप्रकारको संकोच थियो। ‘सामाजिक सञ्जालबाट जोडिएर जाने कि नजाने भन्ने मनमा द्विविधा भएको थियो,’ उनले भनिन्।
‘हाइक फर नेपाल’को टोलीसँग हाइकिङमा जाने पक्का भएपछि उनले परिवारलाई भनिन्। घरबाट बाहिर एक्लै घुम्न जान्छु भन्दा परिवारबाट कोसँग, कहाँ, किन र कसरी जाने भन्ने प्रश्न आयो। ‘हाइक फर नेपाल’सँग लेले जाने भनेपछि परिवार विश्वस्त बनेको उनले बताइन्।
‘एक्लै घुम्न जाने होइन, हाइक गर्नेहरूको समूह हुन्छ, समूहमै जाने हो भनेपछि हाइक जाने अनुमति पाएँ,’ उनले भनिन्। हाइकका लागि परिवार राजी भए पनि योगिताको मनमा भने एकप्रकारको डर थियो। उनले भनिन्, ‘पहिलोपटक नचिनेको मान्छेको समूहमा लेले हाइकमा जाने मेरो गलत निर्णय त होइन भन्ने प्रश्न पनि मनमा उठेको थियो। तर, यथार्थ निकै फरक पाएँ।’
हाइक फर नेपालको टोलीसँग हाइकिङ जाँदा एक्लोपन महसुस नहुने उनले बताइन्। हाइकमा गएका सबैजना एक अर्काको हेरचाह गर्ने, बोल्ने, हाँस्ने र घुम्न प्रेरित गर्ने वातावरणले आफूलाई पदयात्राका लागि आकर्षित गरेको उनले बताइन्। योगिता ‘हाइक फर नेपाल’ को टोलीसँग सात पटकसम्म पदयात्राका लागि विभिन्न ठाउँ पुगिसकेकी छन्। र निकट भविष्यको पदयात्रामा पनि सहभागी हुने योजनामा छिन्।
यस्तै, देवका तुलाधार (३६ वर्ष)ले हाइक फर नेपालको बारेमा आफ्नो साथीमार्फत जानकारी पाएकी थिइन्। बुटिक व्यवसायी उनी घरबाट घुम्न निस्किने कुरा औंशीपूर्णेजस्तै हुन्थ्यो। जब उनले हाइक फर नेपालको बारेमा जानकारी पाइन्, घरमा कुरा राखिन्। दुई सन्तानकी आमा देवकालाई उनको परिवारले पदयात्राको लागि कहाँ जाने भन्ने प्रश्न गर्नु स्वाभाविकै थियो। उनले समूहमा जाने कुरा बताएपछि एक दिनका लागि बिदा मिल्यो। ‘पहिलोपटक पदयात्रामा जाँदा के कस्तो हुने हो भन्ने पिर लागेको थियो,’ उनले भनिन्, ‘तर, पदयात्रामा गएपछि स्वर्ग कहाँ छ भन्ने थाहा पाएँ।’
काठमाडौंकी बासिन्दा देवका परिवारबिना एक्लै घुम्न गएको पहिलोपटक थियो। ‘कहिले परिवारसँग पोखरा जान्थेँ तर यसरी पदयात्रामा जाने मौका पाएकी थिइनँ,’ उनले भनिन्। घुम्न जान्छु भने पनि पारिवारिक उल्झनमा रहने भएकाले उनी र उनका श्रीमान् पालैपालो पदयात्रामा जाने गरेका छन्। सात पटकसम्म पदयात्रामा निस्केकी उनले जीवनको सुन्दर पक्ष पदयात्रा रहेको बताइन्।
‘मिल्थ्यो भने म हरेक साता पदयात्रामा जान्थेँ होला तर के गर्नु महिनामा एकपटक जान्छु,’ उनले भनिन्। एक्लै घरबाट निस्किने वातावरण बनाएकामा उनी निकै खुशी छिन्। कहिलेकाहीँ समय मिल्यो भने महिनामा दुई पटकसम्म जाने गरेकी छिन्। चाडबाड नजिकिएकाले अहिले कतै जान नपाए पनि दशैँ-तिहारपछि भने पदयात्रामा निस्किने योजनामा छिन् उनी।
‘हाइक फर नेपाल’को सुरुवात
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्र सुस्तायो। त्यही समयमा पर्यटन प्रबद्र्धनका लागि केही युवा मिलेर ‘हाइक फर नेपाल’ अभियान सुरु गरे। पर्यटन क्षेत्रमा कार्यरत गणेश शर्मा, बिजेस पौडेल र उनीहरूका केही साथीले भूकम्पपछि पर्यटन क्षेत्रमा केही गर्ने योजना बनाए। त्यही सोचको परिणाम हो, ‘हाइक फर नेपाल’।
विश्वभर लोकप्रिय पर्यटकीय गन्तव्य हो, नेपाल। भूकम्पपछि नेपाली पर्यटन क्षेत्रले ठूलो क्षति बेहोनुपर्यो। त्यसलाई पुनः लयमा फर्काउन नेपाल घुम्ने अभियान सुरु गरेको सञ्चालक गणेश शर्माले बताए। नेपालमा घुम्ने ठाउँ धेरै छन् भन्ने सन्देश दिन ‘हाइक फर नेपाल’ सुरु गरिएको उनले बताए। ‘भूकम्पको समयमा विदेशमा नेपाल ध्वस्त भएको भन्ने गलत सन्देश गएपछि नेपालमा घुम्न मिल्ने धेरै ठाउँ छन् भन्ने उद्देश्यले सञ्चालन गरिएको हो,’ उनले भने।
आन्तरिक पर्यटनको सुरुवातका निम्ति सघाउ पुर्याउने र आफ्नो देशमा घुमौँ भन्ने उद्देश्यले अघि बढेको यो अभियान अहिले निकै मौलाएको उनले बताए। आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नागार्जुनबाट पदयात्राको सुरुवात गरेको ‘हाइक फर नेपाल’ले हालसम्म एक सय ४४ औँ पदयात्रा तय गरिसकेको छ।
दशैँ र तिहारको समयमा सगरमाथा र अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्रामा समूह लैजाने गरेको उनले बताए। सरकारले सन् २०२० का लागि घोषणा गरेको ‘भिजिट नेपाल’प्रति ‘हाइक फर नेपाल’को उत्सुकता थियो। तर, सन् २०२० सुरु हुँदा नहुँदै विश्व नै कोरोना भाइरसको महामारीको चपेटामा पर्यो।
११ चैत ०७६ मा सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो। फेरि एकपटक पदयात्रा बन्द भयो। अहिले भने स्वास्थ्य सुरक्षाका मापदण्डसहित फेरि हाइकिङ सुरु भएको शर्माले जानकारी दिए। लामो लकडाउनमा मानिसमा देखापरेको मानसिक स्वास्थ्य समस्या कम गर्न पनि यसबाट केही राहत मिलेको उनको भनाइ छ।
बालबालिकाका लागि खुला शिक्षा पदयात्रा
ललितपुर ग्वार्कोका रमेश घले (४८ वर्ष) एक्लै पदयात्रामा निस्किँदैनन्, १० वर्षकी छोरी आसुना पनि सँगै जान्छिन्। रमेशले यसरी छोरीलाई पदयात्राका लागि लिएर हिँडेको आठपटक भइसक्यो। आफूसँगै छोरीलाई पदयात्रामा लिएर जाँदा धेरै फाइदा हुने उनको भनाइ छ। ‘म आफू पनि प्रकृतिप्रेमी हुँ, मलाई घुम्न निकै मन पर्छ, म समय मिलेको बेला घुम्न हिँडिरहन्छु,’ उनले भने, ‘अहिलेका बच्चाहरू इलेक्ट्रोनिक सामानमा चौबीसै घण्टा बाँधिएर बसेका छन्। त्यसरी बन्द कोठामा बस्नुभन्दा बाहिर डुलाउँदा बालबालिकाले नयाँ कुरा धेरै सिक्ने मौका पाउँछन्। जंगल, डाँडाकाँडा, बोटबिरुवा, किरा फट्यांग्रा, चराचुरुंगीको बारेमा जानकारी पाउँछन्।’
रमेशकी छोरी पनि पदयात्रामा निकै उत्साही छिन्। काठमाडौंमा खेल्नका लागि आँगन, चौर प्रशस्त नभएकाले पदयात्रामा लिएर जानु उपयुक्त हुने उनले बताए। बालबालिकाले सक्ने खालको पदयात्राका लागि लिएर जाँदा उनीहरू सिर्जनात्मक हुने उनको अनुभव छ।
सामान्यतया पदयात्राका लागि आफ्ना साथीहरूसँग जाने चलन भए पनि पछिल्लो समय परिवारसँग पदयात्रा गर्ने ट्रेन्ड बढ्दो रहेको सञ्चालक शर्माले बताए। कामको व्यस्तताका कारण परिवारलाई समय दिन नपाएका अधिकांश मानिस परिवार लिएर आउने भएकाले बालबालिकालाई पनि अनुकुल हुने पदयात्राका लागि अनुरोध गर्ने गरेको उनको भनाइ छ।
अवकाश जीवनको सारथि ‘पदयात्रा’
भक्तपुर गठ्ठाघरका सनतकुमार रेग्मी (६५ वर्ष) सरकारी सेवामा थिए। ०३५ सालमा काठमाडौं आएका हुन् उनी। अहिले अवकाश जीवन बिताइरहेका उनी हिँडडुल गर्न निकै रुचाउँछन्। ०५० सालदेखि आजको दिनसम्म दैनिक आठ किलोमिटर नित्य हिँड्छन्। परिवारसँग विभिन्न ठाउँ घुमेका उनी वृन्दावनमा ८४ कोर्सको धार्मिक यात्रामा २१ दिनसम्म हिँडिसकेका छन्। ‘पहिल्यैदेखि मलाई हिँडडुल गर्न खुबै मनपर्छ, उमेर ढल्केसँगै हिँडडुल गर्न पाएको थिइनँ,’ उनले भने। दुई महिनाअघि फेसबुक चलाउँदै गर्दा उनले एउटा पेज देखे, ‘हाइक फर नेपाल’। के रहेछ भनी बुझन खोजेपछि घुमाउने काम गर्ने रहेछ भन्ने पत्तो पाए।
‘हाइक फर नेपाल’सँग सम्पर्क गरेर उनी पहिलोपटक बल्थलीको पदयात्रामा निस्किए। हिँड्न मन भए पनि साथी नपाएर कतै जान नपाएका बेला उनलाई समूहमा हिँड्ने अवसर मिल्यो। ‘म शुद्ध शाकाहारी, रक्सी, चुरोट केही नखाने। त्यसमाथि उमेर ढल्कँदै गर्दा हिडँडुल गर्ने साथी कम हुने रहेछन्,’ उनले भने।
आफ्नो उमेरका मानिस हिँड्न नचाहने, तन्नेरी साथीहरू बनाउन नसकिने भएकाले घरमै खुम्चिएर बस्नुपरेको बाध्यता थियो उनलाई। बाहिर घुम्न, हिँड्न जान नपाएर एक्लो महसुस गर्ने उनले बुढेसकालमा साथी पाएका छन्। ‘महिनामा एकपटक जान्छु भन्छु तर आफूलाई रोक्नै सक्दिनँ, दुई पटकसम्म पदयात्रामा निस्किन्छु,’ उनले भने।
खोजी नयाँ गन्तव्यको
अहिले ‘हाइक फर नेपाल’को टोली नयाँ पदमार्गको खोजीमा जुटेको छ। सञ्चालक शर्माले भने, ‘४०-५० जनाको समूहलाई त्यत्तिकै लिएर हिँड्ने कुरा पनि भएन। नयाँ पदमार्गसँगै अन्य विविध समस्याका लागि तयार हुनुपर्छ।’
सुरुका दिनमा मानिस नआए पनि ‘हाइक फर नेपाल’को बारेमा थाहा पाएपछि धेरै मानिस सम्पर्कमा आउन थालेको उनले बताए। अहिले ६० जनासम्मको समूहलाई पदयात्रामा लिएर गएको उनले बताए। ‘एकपटकको पदयात्रामा हामीले दुई सय ५० जनाको समूह लिएर बल्थली पदयात्रामा गएका थियौँ,’ उनले भने।
अनुभवी गाइडसँगै पदमार्गमा ‘हाइक फर नेपाल’को टोली पनि जाने गरेको छ। पछिल्लो समय आन्तरिक पर्यटनका लागि नेपालीहरू आकर्षित भएको उनको भनाइ छ। ‘सातामा एक दिन नयाँ ठाउँ पदयात्राका लागि जाने, घुम्ने, हिँड्ने त पछिल्लो समय ट्रेन्ड नै भइसक्यो,’ उनले भने।
हाइक फर किड्स
हाइक फर नेपालले काठमाडौं वरिपरिका विभिन्न मार्गमा पदयात्रा गराएसँगै नयाँ कार्यक्रम थालनी तयारी थालेको छ। काठमाडौंमा खुम्चिन बाध्य बालबालिकाका लागि हिँड्ने, खेल्ने, उफ्रिने ठाउँहरू नभएकाले उनीहरूलाई लक्षित गरेर ‘हाइक फर किड्स’ सुरु गर्ने योजनामा छ, यो टिम। ‘दशैँ नजिकिँदै छ, दशैँ-तिहार सकिएलगत्तै हामी हाइक फर किड्सको कार्यक्रम पनि सञ्चालन गर्छौँ,’ उनले भने।
काठमाडौंमा कोठा र सानो बार्दलीमा सीमित बनेका बालबालिकाका लागि यो कार्यक्रम उपयोगी र लाभदायक हुने उनको बुझाइ छ। शारीरिक रूपमा स्वस्थ रहे पनि बालबालिकाको स्टामिना र प्रकृतिसँगको सामिप्य छुट्दै गएकाले यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले बताए। साता, १५ दिनमा दुई-तीन घण्टा हिँडाउने र हिँड्न बानी पार्ने योजना रहेको उनले बताए।
