Kathmandu Press

सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ स् सांसद पराजुली

‘हामीले बलियो धरातल निर्माण गर्नुपर्छ । त्यो धरातल भनेको सुशासनयुक्त समाज हो, सुशासनको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो । त्यसलाई अन्त्य गर्न प्रणाली सुधारमा केन्द्रित भएर काम गर्न आवश्यक छ।’
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ स् सांसद पराजुली

काठमाडौं, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने बताएका छन्। 

नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलीले संसद्का विभिन्न समितिमार्फत नीतिगत सुधारका लागि काम भइरहेको उल्लेख गरे। उनले पछिल्लो पुस्ताले राजनीति मार्फत राष्ट्रलाई सही दिशामा अगाडि बढाउने जिम्मेवारी लिएको भन्दै त्यसका लागि नागरिकको विश्वासलाई बलियो आधारका रूपमा लिनुपर्ने बताए।

उनले संसद्को प्रभावकारी अभ्यासबाट नीति निर्माण र सुधारका केही उदाहरण स्थापित गर्न सफल भएको उल्लेख गर्दै राजनीतिले दिएको अवसर र जनताले गरेको विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्ने धारणा राखे। पराजुलीले समृद्ध नेपालको परिकल्पनाको आधार सुशासनयुक्त समाज भएको बताए। 

Hardik ivf

‘हामीले बलियो धरातल निर्माण गर्नुपर्छ । त्यो धरातल भनेको सुशासनयुक्त समाज हो,’ पराजुलिले भने, ‘सुशासनको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो । त्यसलाई अन्त्य गर्न प्रणाली सुधारमा केन्द्रित भएर काम गर्न आवश्यक छ।’

उनले नेपालको प्रशासनिक तथा शासकीय प्रणाली विगतदेखि नै विभिन्न विकृति र विसंगतिबाट प्रभावित रहेको उल्लेख गर्दै त्यसको असर निजी क्षेत्रसम्म पुगेको बताए। निजी क्षेत्र सञ्चालन गरिरहेका व्यवसायीहरूसँग पनि राज्य संयन्त्रसँग सम्बन्धित अनेक अनुभव रहेको उनको भनाइ थियो।

‘व्यवसाय सञ्चालनका क्रममा बाध्यता वा व्यक्तिगत स्वार्थका कारण विकसित भएका विकृतिहरू समयसँगै संस्थागत समस्याका रूपमा देखा परे,’ उनले भने, ‘ती समस्यालाई समाधान गर्न विभिन्न कालखण्डमा नेताहरूले प्रतिबद्धता जनाए, प्रयास पनि गरे। तर समस्या यति गहिरो भइसकेको थियो कि त्यसको प्रभावकारी समाधान सहज थिएन।’

उनले विगतका शासक तथा नेतृत्व तहका व्यक्तिहरूले आफन्त र निकट वर्तीहरूमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार र विकृति नियन्त्रण हुन नसकेको टिप्पणी गरे। त्यस्ता कमजोरीका कारण राज्य प्रणालीमा सुधार अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ। 

सांसद पराजुलीले अहिले भने त्यस्तो अवस्थाबाट मुक्ति पाउने समयको सुरुवात भएको दाबी गरे । उनले वर्तमान सरकारले कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने बताए।

‘सरकारले नियमनको प्रक्रियालाई कडाइका साथ लागू गर्दै सुशासन कायम गर्नुपर्छ, कानुन साना व्यक्तिलाई मात्र होइन, शक्तिशाली र प्रभावशाली व्यक्तिलाई पनि समान रूपमा लागू हुन्छ भन्ने विश्वास स्थापित गर्न सके मात्रै भ्रष्टाचारको जरा हल्लाउन सकिन्छ,’ उनले भने।

उनले शक्तिशाली व्यक्तिहरूलाई कानुनी दायराभन्दा बाहिर राखेर सुशासनको लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारे। जनताले देखेको समृद्ध र व्यवस्थित नेपालको सपना पूरा गर्न कानुनको निष्पक्ष कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, जेठ ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्