‘किताबमा लेखेको प्रसंगलाई लिएर मुमा बडामहारानीलाई उजुरी गरेछन्’
त्रिभुवन जन्मिनुअघि साहेब ज्यू रेतेन्द्रबिक्रम शाहलाई राजा बनाउने चन्द्रशम्शेरको योजनाबारे पुस्तकमा लेखेको भनेर हरिशम्शेरका दाइले मुमा बडामहारानी रत्नसँग मलाई कारवाही गर्नुपर्ने भन्दै उजुरी गरेछन्। मुमा बडामहारानी त्यस विषयमा मौन बसिदिएपछि मैले पाण्डुलिपी फाइनल गरेँ।काठमाडौं, असोज १५ : इतिहासकार पुरुषोत्तमशम्शेर राणा इतिहासकै पुस्तक पढ्न रुचाउँछन् । उनी आफैँले इतिहाससम्बन्धी सातवटा पुस्तक लेखेका छन् । उनका पुस्तक अध्येताहरूका लागि महत्त्वपूर्ण दस्तावेज बनेका छन् । ती पुस्तकवापत उनले अझै पनि वार्षिक करिब एक लाख रुपैयाँ रोयल्टी बुझ्छन् । कोभिड–१९ महामारी सुरु भएयता भने पुस्तक पढ्न खासै रुचि नभएको उनी बताउँछन् । त्यसको मुख्य कारण उनको स्वास्थ्य अवस्था नै हो । ९६ वर्षका उनमा अझै पनि तन्नेरी जोश देखिन्छ । इतिहासकार राणासँग गरिएको पठन संवाद :
अहिले कुनै पुस्तक पढ्दै हुनुहुन्छ ? तपाईंले पढ्नुभएको पछिल्लो पुस्तक कुन हो ?
आजकाल खासै पढ्दिनँ । केही नयाँ आउँदै छ भन्ने हेर्न मन लाग्छ । तर, कोरानाकालयता मैले खासै पुस्तक पढ्न पाएको छैन । कोरोनायता पुस्तक पनि कमै मात्र लेखिएका छन् कि जस्तो पनि लाग्छ । कोरोनाकालतिरै मेरो पनि खुट्टाको समस्याका कारण कतै जान पाएको छैन । अनि कसरी पाउने नयाँ पुस्तक ! पुराना पुस्तक कति दोहोर्याएर पढ्नु ?
कस्ता पुस्तक पढ्न रुचि लाग्छ ?
इतिहाससम्बन्धी पुस्तक नै बढी मन पर्छ । आफ्नो पनि झुकाव इतिहासमै भएको कारण होला अन्य पुस्तकमा खासै मन जाँदैन । फिक्सन, ननफिक्सन कल्पना र विषयवस्तुगत हुन्छन् । मलाई भने विगतका यथार्थपरक घटना र इतिहासका बारे जान्न मन लाग्छ । सोही कारण ऐतिहासिक विषयका पुस्तक रुचाउँछु । थोरबहुत ऋग्वेद, साम वेद, यजुर्वेद र अथर्ववेद पनि पढ्छु ।
जीवनमा सबैभन्दा मन परेको कुनै पुस्तक छ कि ?
सबैभन्दा मन पर्ने पुस्तक कसरी भनुँ, पढेका सबै पुस्तक मन पर्छन् । त्यस्तो मन पर्ने वा नपर्ने भन्ने छैन । अब झन् बुढ्यौली लाग्यो, खासै सम्झना पनि छैन । बरु, आफैँले लेखेका पुस्तकमध्य ‘मेरा जीवनका स्मृतिहरू’ निकै मन परेको पुस्तक हो । तर, प्रकाशनले चित्तबुझ्दो तरिकाले फाइन बनाइदिएन । त्यसमा चित्त दुखाइ छ ।
त्यसको कारण के हो ?
किताबको प्रुफमा सन्दर्भ परिवर्तन हुँदा न कुनै संकेतको चिन्ह छ, न त राम्रो टुंग्याई छ । लेखेअनुसारले विषयगत सन्दर्भ टुंग्याउनुपर्ने कतिपय स्थान त्यत्तिकै छोडिएका छन् ।
तपाईंले लेख्नुभएका पुस्तक कुन कुन हुन् ?
हालसम्म मेरा सातवटा किताब प्रकाशित भएका छन् । ‘श्री ३ हरूको तथ्य वृत्तान्त भाग १ र २’ (२०४७), ‘जंगबहादुर राणा( द स्टोरी अफ हिज राइज एन्ड ग्लोरी’ (२०५४), ‘सम्झेका र सुनेका कुराहरू’ (२०६३), ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ (२०६४), ‘लुके छिपेका प्रतिभाहरू’ (२०६८) र ‘मेरा जीवनका स्मृतिहरू’ (२०७०) ।
घरमा कति पुस्तक संग्रह गर्नुभएको छ ?
खोइ थाहा नै छैन । गन्न पनि सक्दिनँ अब त । कतिपय किताब भेटघाटमा आउँदा लिएर पनि जान्छन् । अन्दाजी एक हजारभन्दा बढी होलान् घरभरि ।
पुस्तक लेखनको यात्रा कसरी सुरु भयो ?
पुस्तक लेख्छु भनेर लेखेको नै होइन मैले । माथि भनेजस्तै इतिहासमा झुकाव भएका कारण अध्ययन बढी गर्थेँ । आफूले पढेका कुरालाई लेखको रूप दिन थालेँ । हाम्रो इतिहासका तस्बिर र डकुमेन्ट कति त आफैँसँग थिए, कतिपय भने अरूबाट पनि पाएँ । यसरी संग्रह गर्दै लेख्दै जाँदा किताबको आकार लिन थालेछन् । मलाई पनि पत्तै भएन ।
पुस्तकसँग जोडिएको कुनै रोचक किस्सा ?
‘श्री ३ हरूको तथ्य वृत्तान्त’को पाण्डुलिपी अन्तिम चरणमा थियो । पुस्तक लेखेर प्रेसमा गइसकेको थियो । ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ किताबको एक अंशमा लेखिएको विषयमा मुमा बडामहारानी रत्नराज्यसँग मविरुद्ध कारवाही गर्नुपर्ने माग गरिएको रहेछ ।
राजा पृथ्वीवीरबिक्रम शाहका तीन छोरी जन्मिँदा पनि छोरा भएनन् । तब, चन्द्रशम्शेरले तत्कालीन माहिला साहेब ज्यू नरेन्द्रबिक्रम शाहका जेठा छोरा साहेब ज्यू रेतेन्द्रबिक्रम शाह (जुना शाह) लाई राजसिंहानमा राख्ने मौखिक निर्णय गरे । तर, त्यसको आठ महिनापछि राजगद्दी उत्तराधिकारीको रूपमा त्रिभुवनको जन्म भयो ।
मौखिक रूपमा राजगद्दी पाउने भनिएका रेतेन्द्र राजा हुनबाट चुके । उनले सभामै २०–२५ पटक आफ्नो मुखमा आफैँलाई ‘तँलाई, ला... तँलाई’ भन्दै लोप्पा ख्वाएका थिए । ‘श्री ३ हरूको तथ्य वृत्तान्त’मा मैले त्रिभुवन जन्मिँदा देशभर सम्पूर्ण नेपालीले हर्ष मनाए भने रेतेन्द्रका परिवारले शोक मनाए भनेर लेखेको थिएँ ।
उक्त अंश पढ्न पाएका हरिशम्शेर राणाका दाइले मुमा बडामहारानीलाई मविरुद्ध कारवाही गर्न उजुरी गरेका रहेछन् । त्यस विषयमा मुमा बडामहारानी रत्न चुप रहनुभयो । त्यसको जानकारी पाएपछि बनारसमा पुगेको पाण्डुलिपी फाइनल गरेर प्रेसलाई छाप्न भनेँ ।
तपाईंले खोजेर पनि नपाएको कुनै पुस्तक छ कि ?
त्यस्तो खासै छैन । पहिलेदेखि इतिहासको विषयमा रुचि राख्थेँ । सायद, राणा वंशको शाखा–सन्तान हुनुको फाइदा पनि रह्यो यो । पहुँच राम्रै हुने, जसका कारण इच्छा गरेका पुस्तक जसरी पनि हात पारिहाल्थेँ ।
पुस्तक उपहार दिने गर्नुभएको छ ? किन उपहार दिनु हुन्छ ?
ओ हो, कति हो कति । पहिलो प्रकाशित पुस्तक त ‘फ्री’मै आफन्तलाई बाँडेँ । बैंग्लोरबाट प्रकाशन गरेको त्यो पुस्तक यहाँ आफन्तमाझ बाँडेँ । पछिल्लो समय मैले तपाईंजस्तै पत्रकारितामा लाग्नुभएका एक व्यक्तिलाई किताब दिएको थिएँ । उहाँलाई पनि इतिहासमा विशेष झुकाव रहेछ । सोही कारण दिएँ । ज्ञान एक मात्र यस्तो पवित्र धन हो, जुन बाँड्दा अझ बढ्छ । अनि चोरेर पढ्दासमेत पाप नलाग्ने पवित्र धन हो विद्या ।
पुस्तक अध्ययनमा रुचि राख्ने युवालाई के सल्लाह दिनु हुन्छ ?
कुनै विधा विशेषभन्दा पनि आफ्नो रुचिअनुसारको पुस्तक अध्ययन गर्न सल्लाह दिन्छु । पढेका कुरा व्यावहारिक जीवनमा लागू हुन सके झनै उत्कृष्ट हुन्छ । पढेका कुरा कहिल्यै खेर जाँदैन भन्छन् । तर, त्यसभन्दा पनि पढेका कुराको सदुपयोग कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण होजस्तो लाग्छ मलाई ।